घरायसी उपभोगमै सकिन्छ ६८.८ प्रतिशत कृषकको उत्पादन



७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य हो । तर सबै कृषकलाई खेतीबाट खान पुग्दैन । ४५ प्रतिशत कृषक परिवारले मात्र आफ्नो कृषि कार्यको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् । त्यही कारण २६ प्रतिशत कृषक परिवार अन्य आर्थिक क्रियाकलापमा संलग्न छन् । ६८.८ प्रतिशतले उत्पादन घरायसी उपभोगमा प्रयोग गर्ने गरेका छन् । १.१ प्रतिशतले मात्र सबै उत्पादन बिक्री गर्ने गरेको गणनाले देखाएको छ । घरायसी उपभोग र केही बिक्री गर्ने परिवारको संख्या २४.७ प्रतिशत छ ।

काठमाडौं ।

सातौं राष्ट्रिय कृषि गणनाले मुलुकमा कृषक परिवारको संख्या बढेको देखाए पनि आफ्नो उत्पादन बेच्नेको साटो निर्वाहमुखीको संख्या उच्च रहेको देखाएको छ । मुलुकमा कृषक परिवारको संख्या १० वर्षमा ३ लाखले बढेको गणनाले देखाए पनि कृषि उपज आफूलाई पु¥याएर बजारमा बेच्नेको संख्या निकै कम रहेको तथ्यांक बाहिर ल्याएको छ ।

कृषिगणना २०७८ को बिहीबार सार्वजनिक नतिजाअनुसार देशमा कृषक परिवारको संख्या ४१ लाख ३० हजार ७८९ पुगेको हो । यो संख्या १० वर्षअघि ३८ लाख ३१ हजार ९३ थियो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार प्रतिशतका आधारमा भने कृषिक परिवार घटेको छ । १० वर्षअघि नेपालमा कुल परिवारमध्ये ७१ प्रतिशत कृषक रहेकामा अहिले ६२ प्रतिशतमा झरेको हो ।

परिवारको संख्या नै बढेकाले कृषिमा संलग्न परिवारको प्रतिशत घटेको देखिएको छ । संख्यामा कृषक परिवार बढे पनि खेती भने घटेको छ । १० वर्षअघि २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरिएकामा अहिले खेती गरिएको जग्गा २२ लाख १८ हजार ४१० हेक्टरमा सीमित छ ।

७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य हो । तर सबै कृषकलाई खेतीबाट खान पुग्दैन । ४५ प्रतिशत कृषक परिवारले मात्र आफ्नो कृषि कार्यको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् । त्यही कारण २६ प्रतिशत कृषक परिवार अन्य आर्थिक क्रियाकलापमा संलग्न छन् । ६८.८ प्रतिशतले उत्पादन घरायसी उपभोगमा प्रयोग गर्ने गरेका छन् ।

१.१ प्रतिशतले मात्र सबै उत्पादन बिक्री गर्ने गरेको गणनाले देखाएको छ । घरायसी उपभोग र केही बिक्री गर्ने परिवारको संख्या २४.७ प्रतिशत छ । सबैभन्दा धेरै जग्गामा खाद्यान्न बाली लगाइएको छ । १२ लाख १६ हजार ३८७.७ हेक्टरमा धान, ५ लाख ५९ हजार ९०९.३ हेक्टरमा मकै र ६ लाख ५४ हजार १९४.३ हेक्टरमा गहुँ बाली लगाइएको हो ।

१ लाख ९९ हजार ८४४.८ हेक्टरमा कोसे÷दाल, १ लाख ८० हजार १४१.१ हेक्टरमा तेल, १ लाख ७ हजार ७३३.८ हेक्टरमा तरकारी, १ लाख ४ हजार ७३७.८ हेक्टरमा कन्दमुल, ५६ हजार ८९३.५ हेक्टरमा मसला र ४४ हजार ६०९.३ हेक्टरमा नगदे बाली लगाइएको गणनामा उल्लेख छ ।

फलफूल खेती बढेको गणनाले देखाएको छ । १९ हजार ७८१.७ हेक्टरमा आँप, ७ हजार ८९८.२ हेक्टरमा केरा र ६ हजार ५४५.३ हेक्टरमा सुन्तला खेती लगाइएको छ । ३ हजार ८०.२ हेक्टरमा स्याउ र २ हजार ८०६.९ हेक्टरमा कागती खेती गरिएको छ ।

बाली सघनतादर १.९१ देखिएको छ । यो सूचकले कृषकले बर्षमा सरदर दुई बाली लगाउने गरेको ईंगित गर्छ । १० वर्षअघिको गणनामा बाली सघनतादर १.८५ थियो ।

पशुपालन गर्ने परिवार करिब ५० हजारले बढेको छ । १० वर्षको अवधिमा पशुपालन गर्ने परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख ५ हजार १४ पुगेको हो । ती परिवारसँग करिब २९ लाख राँगाभैंसी, करिब ४६ गाईगोरु, करिब १ करोड ४२ लाख बाख्रा/खसी/बोका/च्याङ्ग्रा र करिब १४ लाख सँगुर/बंगुर/बँदेल छन् । उन्नत गाई र भैंसीको संख्यामा उल्लेख्य रूपमा बढेको तथ्यांक छ ।

४२ हजार ८ परिवार माछापालनमा संलग्न छन् । उनीहरूसँग ४८ हजार ७६३ वटा पोखरी छन् । १० वर्षअघि माछा पाल्ने परिवारको संख्या १७ हजार १९१ थियो ।

१७ हजार ५५४ परिवार च्याउखेती तथा १ लाख ९६ हजार ८५४ परिवार मौरीपालनमा संलग्न छ । उनीहरुसँग ५ लाख १० हजार ४१४ वटा घार छन् । १० वर्षअघि मौरीपालन गर्ने परिवार १ लाख २४ हजार १५० थियो ।

खेतीका लागि ट्याक्टर प्रयोग गर्नेको संख्या झण्डै दोब्बर भएको छ । १० वर्षअघि ८ लाख ४५ हजार कृषक परिवारले ट्याक्टर प्रयोग गर्ने गरेकामा अहिले त्यो संख्या १६ लाख ३९ हजार पुगेको छ । फलामे हलो प्रयोग गर्ने परिवारको संख्या ८ लाख ५६ हजार २८३ बाट ५ लाख ९ हजार ८२५ मा झरेको छ ।

१० लाख ३७५ परिवार पुष्पखेती/नर्सरीखेती मा संलग्न रहेको गणनाले देखाएको छ । उनीहरुले ५ हजार ९७.७ हेक्टर जग्गामा पुष्पखेती/नर्सरीखेती गरेका छन् । कार्यालयले २०७९ वैशाख ६ देखि जेठ १९ सम्म करिब ७ हजार जनशक्ति परिचालन गरेर कृषिगणना गरेको थियो ।

वैज्ञानिक विधिबाट ३ लाख ३० हजार ११२ कृषक परिवार छनोट गरी ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक र ७७ जना कृषिगणना अधिकृत परिचालन गरी प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्बन्धी बिस्तृत विवरण संकलन गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार