आर्थिक अवस्था कमजोर भएकै कारण आफू अपाङ्गता लिएर बाँचिरहेका गिरीसँग श्रीमतीको उपचारका लागि सहयोग माग्नुको कुनै विकल्प छैन । श्रीमतीलाई अस्पतालमा एक्लै छाडी उनी सहयोग माग्न हिँड्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले श्रीमतीको उपचारका लागि सहयोग माग्नुपरेको उनले बताए ।
गणेश रावत । कोहलपुर (बाँके) ।
कालो फाटेको टोपी । मुखमा कालो माक्स । कालै झोला । चर्काे घाममा पसिनाले भिजेको शरीर । मलिन अनुहार । हातमा कागजपत्र बोकी कोहलपुर बसपार्कमा आर्थिक सहयोग मागिरहेका थिए, सुर्खेत–१० भेरीगंगाका शिवलाल गिरी । शारीरिक रूपमा अशक्त गिरी आफ्नो उपचारका लागि सहयोग मागिरहेका भने होइनन् । कोहलपुर बसपार्कमा आफ्नी श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न नेपालगन्जदेखि आएका थिए उनी ।
गत जेठमा गाईलाई घाँस हाल्न गोठमा जाँदा चट्ट्याङ लागेर श्रीमती हजारी विष्ट गम्भीर बिरामी परिन् । गाउँमा उनको उपचार भए पनि सम्भव नभए पछि उनी अहिले भेरी अस्पतालमा उपचाररत् छिन् । आफैँ अपाङ्गता लिएर बाँचिरहेका गिरी यतिबेला श्रीमतीलाई बचाउन बसपार्कमा आर्थिक सहयोग संकलन गर्न भौँतारिइरहेका छन् ।
१३ वर्षको उमेरमा गाई चराउन जाँदा भीरबाट लडेका गिरीको बायाँ हात र खुट्टा चल्दैन । स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेपछि उनको ज्यानसम्म बाँच्यो तर अपाङ्गता भने हटेन । ‘श्रीमतीको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै छ !’ केही पैसा सहयोग दिनुस् न हजुर ?’ गिरी बटुवा र पसलेहरूसँग यसरी याचना गरिरहेका भेटिन्छन् । उनकी श्रीमती अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । ‘हजुरहरूको सानो सहयोगले मेरी श्रीमती बाँच्छिन् कि !’ भन्दै पसल र व्यक्तिहरूसँग हारगुहार गरिरहेका थिए गिरी ।
आर्थिक अवस्था कमजोर भएकै कारण आफू अपाङ्गता लिएर बाँचिरहेका गिरीसँग श्रीमतीको उपचारका लागि सहयोग माग्नुको कुनै विकल्प छैन । ‘विवाह गरेको ७ महिना मात्रै भयो । कुन दैवको आँखा लाग्यो,’ उनले गहभरि आँसु पार्दै भने, ‘सानैमा मेरो यो हालत भयो । आज श्रीमती पनि चट्याङले गर्दा मृत्युसँग लडिरहेकी छिन् ।’ श्रीमतीलाई अस्पतालमा एक्लै छाडी उनी सहयोग माग्न हिँड्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले श्रीमतीको उपचारका लागि सहयोग माग्नुपरेको उनले बताए । ‘मसँग आर्थिक अवस्था छैन । शारीरिक रूपमा अशक्त छु । काम गरेर खान हातखुट्टा चल्दैनन् । मसँग अरू कुनै बाटो भएन,’ उनले सहयोग माग्नुको बाध्यता सुनाए । सहयोग माग्दा कतिले नराम्रो दृष्टिले हेर्ने र कसैले गालीसमेत गर्ने गरेको उनले बताए ।
‘के गर्ने जसले जस्तो व्यवहार गरे पनि सहनै परेको छ,’ उनले भने, ‘श्रीमतीको माया लागेर आउँछ । तर आफूले केही गर्नसक्ने अवस्था छैन ।’ स्थानीय सरकारले उनलाई केही सहयोग गरेको थियो । तर त्यो पैसा पनि सकियो । अब उनीसँग नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाले अवस्था हेरी उपचारका लागि सहयोग गरिदिन सिफारिसका साथ अनुरोध गरेको एउटा पत्र छ । त्यही पत्रका आधारमा उनी आर्थिक सहयोग संकलन गर्दै हिँडिरहेका छन् ।
‘धेरै मनकारीहरूले सहयोग पनि गर्नुभएको छ,’ उनले सुनाए, ‘त्यसैले पनि अहिलेसम्म उपचारका लागि केही सहज भएको छ ।’
उनले आफ्नी श्रीमतीको उपचारका लागि सहयोग गर्न चाहनेहरूले लक्ष्मी बैंकको ०८०२०००६९३४ नम्बर खातामा रकम जम्मा गरिदिन पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्