22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

निबन्धः खाडल र खाडलहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ९, २०८०  

विष्णु पादुका ।

खाडल बाटोको होस् या आँगनको होस् खतरापूर्ण हुन्छ । खाडल पुर्न हामी हतार गर्छौं । जमिनमा परेको खाडल पुर्न जति सजिलो हुँदो त समाज सम्म भैसकेको हुने थियो । मानव विकासका चरणहरु हेर्दै जाँदा खाडल पनि उही बाटोमा अघिपछि लागेर आएको देखिन्छ ।

ढुङ्गेयुगदेखी ए आइ को चरणसम्म हेर्दा खाल्डोका प्रकारमा भिन्नता त आएको छ तर आकार र संख्या दिनदिनै बढ्दो छ ।
देशमा समाजवाद भन्ने शब्द सुनिन लागेको धेरै भएको छ । समाजका खाडर पुर्ने कुनै एउटा ठुलै डोजर पो होला भन्ठान्थेँ म । सुनेको कुरालाई आफ्नै हिसावले बुझ्ने अवस्था जो थियो । पढ्ने अवसर को अभावमा थिएँ ।

केही कुराको बिगत आदर्शमय हुन्छ भने केही कुराको भयाबह । खाडलहरुले आफ्नो इतिहासमा सुनौलो र आदर्शमय हुन सक्ने कुरा भएन । धार्मिक कथामा हुने अनेक बर्णनमा पनि खाडलहरु प्रचुर थिए । उसो त समाज नियन्त्रणको एक पर्खाल हुन्थ्यो धर्म र पापको । पर्खाल बाहिर खाडलकै संसार हुन्थ्यो । भित्रका खाडलमै जाकिएर ठुला र बलिया भनिने बंशज मासिएको दृष्टान्त समेत छ जुनसुकै ग्रन्थमा ।

रंगको बलमा , कामको बलमा , सम्पतिको बलमा , पदको बलमा हुने गरेका यावत कुराले खाडल पुर्ने भन्दा झन्झन् गहिरा खाडल खन्ने काम भयो । बरु मान्छेका रगत र मासुलाई माटो बनाएर पुर्न खोजियो । मानव संहारको शृङ्खला यति तिब्र भयो कि रोग ब्याध भन्दा बढी समानताकालागी भएका युद्धमा बढिले ज्यान गुमाए ।

आज सम्म पनि भूगोल र आर्थिक हिसावले बलिया भनिएका देशले साना र गरिब देशलाई दबाउन उहि शैली छोडिएको छैन । घर देखि समाज हुँदै विश्व भरी असमानताका खाडल पाइलै पिच्छे छन् । हरेक ब्यक्ती मान्छेको रूपमा जन्मिए पनि मर्ने बेलासम्म मान्छे होइन अरुथोक भएर मर्छ । शहिदको चिहान माथी उभिएर सहिदकै बीउ रोप्छ मान्छे ।

ढुङ्गेयुग बाट ब्यवस्थित हुन लागेदेखी परिवार प्रणालीको जग बस्यो । घर जग्गा अनि सम्पत्तिको प्रयोग जीवन सुरक्षाको लागि नै स्थापित हुने
हो । त्यसलाई निरन्तरता दिन समाज भित्र हरेक व्यक्तिको दायित्व निर्धारण गरियो । श्रम र सिप र बलको आधारमा कामको बाँडफाँड भयो । परिवार स्थापित हुने बित्तिकै लैङ्गिक खाडल स्पष्ट देखियो ।

चेतनास्तर खुम्च्याउदै लैजाँदा श्रम नारीले गर्नुपर्ने सीप र कामको जस पुरुषहरूको पोल्टामा पारियो । छोराछोरी बाबुका हुने अनि बिहे गरेर छोरीहरू बिहे भएर अर्को घरमा जानुपर्ने विभेदको खाडल संसारका अधिकांस समाजमा ब्याप्त छ ।

स्वजन र आफन्तको बीच नमिठो लाग्दालाग्दै पनि स्थापित मान्यता हो यो ।त्यस पछि भेटिन्छ परिवार भित्र खाडलहरू । कति खाडलमा कति जीवन आहुती भएका छन् आजको एक्काइसौं शताब्दीमा पनि । समाज जहिल्यै अघि बढ्ने प्रयत्नमा हुन्छ । प्रगतिशील विचार स्थापित गर्न कम्युनिस्ट पार्टीको विश्वब्यापी देन छ । तर तिनै कम्युनिस्टको वीचमा देखिने खाडलले नै कम्युनिस्टको पतन पनि भएको छ ।

प्रगतिशील विचार हामी मात्र राख्छौं अन्य सबै कुहेका च्याउ हुन् भनी ठान्ने दोसयुक्त चश्माको फ्रेम फेरिए पनि शिशा उस्तै छ । प्रगतिशील विचार हो जसले पनि ग्रहण गर्न सक्छ भन्ने उदारता भेटिदैन । मानौ कम्युनिस्ट सधैं आक्रामक हुनुपर्छ ,सधै विरोधमा उत्रनु पर्छ । मायालु भएको प्रेमिल भएको सालिन भएको कम्युनिस्टको चरित्र नै होइन भन्ने भाष्य आफैले निर्माण गर्नु कम्युनिस्टको कमजोरी हो त्यसैले साख गिराएको उनिहरुलाई नै थाहा हुँदैन । केहिदिन अघि नेपाली धनाढ्य चौधरीको कवितालाई कान्तिपुरले छाप्यो ।

जसको बारेमा निकै नकारात्मक टिप्पणी हेर्न सुन्न पाइयो ।त्यो पनि लेखनका सम्बन्धमा होइन । कान्तिपुर र लेखकको आर्थिक संलग्नताका बारेमा । आफुलाई प्रगतिशील हौं भन्ने र लेखकिय दवाव सिर्जना गर्नेहरू माझ तटस्थताको लेस देख्न पाइएन । मानौ उनले नै नेपालको अर्थतन्त्र लुटेर खाए जस्तो । चौधरी कविसँग मेरो कुनै सम्बन्ध छैन । भुइँमान्छेकै वर्गमा छु म ।

मैले यसरी लेख्दा मलाई पनि त्यो कित्तामा राखेर हेर्नेछ त्यो जमातले जसले प्रगतिशीलको दौरासुरुवाल लाइराखेका छन् । वर्गसंघर्षको अन्त्य फगत कल्पना हो । एउटा कम्पनी बाट निकालेको सामान होइन मान्छे जो एकै रुपरंग आकार र विशेषणमा रहोस् । मान्छेले आफ्नो अभिव्यक्ति दिन्छ नै । अभिव्यक्ति उसको अन्तरमनको आवाज हो त्यसलाई निशेध गर्दा विष्फोट हुन्छ भन्ने सिद्धान्त किन विसन्छन् मान्छेहरू ।

अभिव्यक्तिमाथी बन्देज गर्नु एक भयानक खाडल हो । यसैका विरुद्ध कत्रो आन्दोलन छेडियो विगतमा । त्यसबाहेक अभिव्यक्तिको जरो खोतल्नु पो बरु । किन कोहि व्यक्ति कस्तो अभिव्यक्ति दिदैछ । प्रायोजित छ वा स्वतस्फूर्त हो ,त्यो पो गहन कुरा हो । समाज बिभाजित छ । यहाँ वर्गहरू छन् । कथित माथिल्लो वर्गले तल्लो वर्गलाई सम्मान गर्न सक्दैन आखिर किन ?

मुल प्रश्न यहि हो जस्तो लाग्छ । सम्मान पाउन सम्मान दिन किन चुक्छ मान्छे ? आखिर तह र वर्गको बोझ बोकेर मान्छेले कति लामो यात्रा तय गर्न सक्ला ? अभिमानको बाटोमा कोहि पछ्याउँदै कोहि आउँदैन । एक्लो यात्राको गन्तव्य निर्जन र भयावह छ भन्ने तथ्यलाई एक पलको सम्मान र क्षणिक अभिमानले किन भुलाउँदो हो ? प्रश्न आफैमा उत्तरदायी छ । सरलता मात्रै हो यसको जवाफ । को भन्दा को ठूलोको संघर्षले दुबै पक्ष धुलिमेट हुने हो ।

अरुलाई हेय र आफुलाई महान मान्ने दृस्ठिकोण केवल लघुतम ब्रह्माण्डको उपज मात्र हो । संवेदनालाई संचारले विस्थापित गरेको युग हो यो । समाचारको आधारमा मान्छेले धारणा बनाउँछ । स्थायी धारणा च्युत भएको यस वर्तमानमा मानवियता खोज्नु अर्को एक मुर्खता हुनसक्छ ।
खाडलहरू दिनानुदिन बढ्दा छन् ।

सरकारलाई रेमिट्यान्स भित्र्याउन होलसेलमा युवा कोचेर जहाज उडाउन पाए पुगेको छ । चेतनाको स्तरलाई बलियो कुर्ची बनाएर एउटा तप्का स्वघोषित ज्ञान सागर बनिरहेको छ । कर्पोरेट कल्चरले गुलाबी बनेका अक्षरको मोल सामान्य मानिसका लागि छोइ नसक्नु भएको छ । फेरि पनि सचेतनाको लेपन लागेकाहरूले चुपचाप भजनमा ताली मात्र बजाउने कुरा पनि भएन ।

केही घाटको परिक्रमामा झुम्नेहरु एक अर्कोलाई तारिफको पर्म लाउँछन् र तर्छन् आत्मरतिको सजिलो पुल । जो घाट देखि पर छन् मानौ उनिहरू यी सब कुरासँग अनभिज्ञ छन् । चेतनाको यस खाडलमा आखिर जाकिने त्यही वर्ग हो जसले चेतनाको ठेक्का लिएर बसे । बजारु साहित्य मौका पर्दा सत्ताको आशिर्वाद लिन मात्र जानेको हुन्छ । प्रतिपक्षको बेन्चमा उभिन सक्दैन ।

 

प्रकाशित मितिः शनिबार, भदौ ९, २०८०     9:05:16 AM  |