एक महिनामै चामलको प्रतिबोरा करिब दुई सय रुपैयाँसम्मले मूल्यवृद्धि भएको छ । नियमित बजार अनुगमन नहुँदा पनि यहाँका व्यापारीले मनलाग्दी ढंगले आफूखुसी मूल्यवृद्धि गरेका छन् ।
नेपालगन्ज ।
बर्दियाकी पार्वती थारु दैनिक ज्यालादारी काम गर्न नेपालगन्ज पुगिन् । यहाँ आउनुको प्रमुख उद्देश्य थियो, ‘नेपालगन्जमा महँगी कम छ र नियमित काम पाइँदा परिवार पाल्न सहज हुन्छ ।’ उनी नेपालगन्ज आउँदाका केही महिना त उनले सोचे जस्तै भयो । महँगी धेरै नहुँदा ज्यालादारीको कमाइबाट जेनतेन महँगी धकेलिएकै थियो । तर, करिब एक महिना यता चामलमा आकासिएको मूल्यले उनलाई अहिले परिवारै पाल्न हम्मेहम्मे छ ।
भारतले चामलमा लगाएको प्रतिबन्धका कारण नेपालगन्जलगायतका क्षेत्रमा चामलको मूल्य आकासिएको छ । एक महिनामै चामलको प्रतिबोरा करिब दुई सय रुपैयाँसम्मले मूल्यवृद्धि भएको छ । नियमित बजार अनुगमन नहुँदा पनि यहाँका व्यापारीले मनलाग्दी ढंगले आफूखुसी मूल्यवृद्धि गरेका छन् । व्यापारीले चामललगायतका सामानमा मूल्यवृद्धि गर्दा त्यसको मार सोझै उपभोक्तासम्म परेको छ । थेग्नै नसक्ने महँगीको मारबाट पिल्सिएकामध्ये एक हुन्, ‘नेपालगन्ज–१२, कोरियनपुरकी पार्वती थारुको परिवार ।’
ज्याला मदजुरीका लागि उनीहरु बर्दियाबाट चारजनाको परिवार नेपालगन्ज आएका छन् । अहिलेको महँगीले उनीहरुलाई छाक टार्नै समस्या भएको छ । ‘नियमित काम पाइँदैन,’ पार्वती भन्छिन्, ‘महिनामा १०/१२ दिन मात्र काम पाइन्छ । अहिलेको महँगीलाई त्यो कामको कमाइले धान्न मुस्किल भएको छ ।’ एक महिना अघिसम्म ७० रुपैयाँ प्रतिकिलोमा चामल किन्ने उनले अहिले ८० देखि ९० रुपैयाँसम्ममा किन्न बाध्यउ छिन् । ‘७० रुपैयाँ प्रतिकेजी हुँदा नै चामल किन्न नै धौधौ पथ्र्यो,’ उनले भनिन्, ‘अहिले त झन मुस्किल छ ।’ उनले खर्च बढेको बढ्यै भए पनि आम्दानी नबढेकाले नेपालगन्ज छाडेर जानुपर्ने अवस्था आएको बताइन् ।
गत असारको स्टार चामलको मूल्य प्रतिबोरा एक हजार नौ सय थियो तर अहिले दुई हजारदेखि दुई हजार एक सयसम्ममा बिक्री भइरहेको बिक्रेताहरु बताउँछन् । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपालमा चामलको मूल्य आंकासिएको छ । क्यारिङबाट तस्करी भएर आएको चामल पनि नेपालगन्जमा महँगो मूल्यमा बिक्री भइरहेको पाइएको छ ।
बिक्रेताहरुका अनुसार, स्टारपछि सबैभन्दा धेरै बिक्री हुने सनमुन चामलको मूल्य प्रतिबोरा दुई हजारदेखि दुई हजार दुई सयसम्म पुगेको छ । त्यस्तै लोकल जिरा चामल एक हजार सात सय ५० बढेर एक हजार नौ सय पुगेको छ भने मोटा चामल प्रतिबोरा एक हजार चार सय बढेर एक हजार ६ सय पुगेको छ । खुद्रा व्यापार संघमा बढेको चामलको मूल्य भने बजारमा सामानरुपमा लागु हुँदैन । व्यापारीहरुले फरकफरक मूल्य राखेर बिक्री गर्छन । तोकेको भन्दा तेब्बर मूल्य बढाएर व्यापारीहरुले बिक्री गर्ने उपभोक्ताको गुनासो छ ।
नेपालगन्ज किराना व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष श्यामसुन्दर अधिकारीले फरकफरक ब्राण्डका चामल बजारमा उपलब्ध हुने भएकाले ब्राण्डअनुसार व्यापारीहरूले फरक मूल्यमा बिक्री गर्ने गरेको बताउँछन् । ‘व्यापारीहरुले बजारमा फरकफरक ब्राण्डका वस्तु बिक्री गर्छन् । ती वस्तु उत्पादनदेखि प्याकेजिङसम्म फरकफरक हुने भएकाले लागत पनि त्यहीअनुसारको हुन्छ । त्यस कारण ब्राण्डअनुसार फरक मूल्य पर्न जान्छ,’ उनले भने ।
तर उपभोक्ता अधिकारकर्मीहरू एउटै वस्तुमा विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्नु अपराध भएको बताउँछन् । सरकारले मूल्य नीति नल्याउँदा व्यापारी र विचौलियाले आफूखुसी मूल्य राखेर उपभोक्ता ठगिरहेको उनीहरुको आरोप छ । मूल्यवृद्धि रोक्न सरकार मातहतका कुनै निकायले पनि अनुगमन र नियमन गर्दैनन् । उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नुको साटो उल्टै व्यापारी र विचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका सचिव प्रभातसिंह ठकुरीले महँगो खाद्यान्न सामग्रीले निम्न र मध्यम वर्गको ढाड सेक्ने काम गरेको बताउँछन् । यस्तो समयमा नियतवस् कालोबजारी हुन सक्ने भएकाले प्रहरी, प्रशासन सजग बन्नुपर्ने ठकुरीले जनाए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले कालोबजारी रोक्न निरन्तर बजार अनुगमन भइरहेको र महँगीको आडमा कालोबजारी गरेको सुक्ष्म तरिकाले निगरानी भइरहेको बताए ।