नेपालगन्ज ।
नेपाल सरकारले भारतीय सुर्तीजन्य पदार्थ नेपालमा बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ । तर, बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका सहरी तथा बजारी क्षेत्रमा उक्त प्रतिबन्धित सुर्तीजन्य पदार्थको खुलेआम बिक्रीवितरण हुँदै आएको छ ।
नेपाल–भारत सीमा क्षेत्रको मुख्य प्रवेशद्वार जमुनाहबाटै दैनिक भारतीय सुर्तीजन्य पदार्थ नेपाल भित्रिन्छन् तर, भन्सार र सुरक्षाकर्मी देखे पनि नदेखेझै गर्न बाध्य छन् ।
अधिकांश भारतीय सुर्तीजन्य पदार्थ क्यारिङबाट नेपाल भित्रिन्छ भने केही खुला सीमा नाका बाट अवैधरुपमा चोरीपैठारी हुन्छन् । नेपाली बजारमा छ्यापछ्याप्ती विक्रीवितरण भइरहेका ति सुर्तीजन्य पदार्थ सुरक्षाकर्मी, राजस्व र भन्सार कार्यालयले देख्न सकेका छैनन् । जसले गर्दा भारतीय सुर्तीजन्य पदार्थले नेपाली बजारमा ठूलो कारोबार गरेका छन् ।
नेपालगन्जका कतिपय सप्लार्यवाला व्यापारीले ‘होलसेल’ बिक्रीवितरण गर्दै राज्यलाई लाखौंको राजस्व ठगी गरिरहेका छन् । बाँकेका सीमावर्ती नाकाबाट कमलापसन्द, सिस्टम, सुपरपावर, खैनी नामका सुर्तीजन्य पदार्थ नपाइनेसम्म नेपालगन्जमा सम्भवतः कमै ठाउँ होलान । खुलेआम बिक्रि गर्नेहरुबाहेक ठूला व्यापारीले लुकाएर सम्बन्धित व्यक्तिलाई मात्र उपलब्ध गराउने गरेको पाइन्छ ।
नेपाल सरकारले प्रतिबन्ध लगाइएको अवैध सामान गुट्खा सुर्तीजन्य पदार्थ खुलेआम बिक्रीवितरण हुँदा पनि सरोकारवाला निकाय मौन भएको भन्दै स्थानीय सुर्तीजन्य पदार्थको उत्पादन गर्ने व्यवसायीले गुनासो गर्दै आएका छन् । अवैध भित्रिने सामग्रीका लागि स्थानीय प्रशासन, भन्सार कार्यालय, प्रहरी, सशस्त्र प्रहरी छन् । यद्यपि अवैध सामग्री अत्यधिक नेपाल भित्रिने र बिक्रीवितरण हुने गर्दासमेत रोक लगाउन नसक्नु सरकारको कमजोरी सावित देखिने स्थानीय व्यवसायीहरुले बताउँछन् ।
भारतबाट भित्रिने अवैध सामग्रीहरु बारे भन्सारबाट आयातमा कडाइ गरिनु पर्ने व्यवसायीको माग छ । प्रतिबन्धित सामग्रीहरु भित्रिनुमा सरोकारवालाको चरम लापरबाही रहेको स्थानीय व्यसायीहरुको भनाइ छ । भारतीय कम्पनीबाट उत्पादन अवैध सामग्री नेपालगन्ज भन्सार नाका हुँदै भित्रिनु शंकास्पद रहेको व्यवसायी बताउँछन् ।
क्यारिङमार्फत नेपालगन्जमा स्टक गरिएको सुर्तीजन्य पदार्थ कर्णाली प्रदेशको बजारसम्म पुग्छन् । अवैधरुपमा त्यहाँ पुग्ने सुर्तीजन्य पदार्थ बिरलै समातिन्छन् । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी दिलप्रसाद शर्माले अवैध सामग्रीको आयात रोकिएको दाबी गर्छन ।