बाँके ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर देखिएको छ । पछिल्लो दुई सातामा निकुञ्जका चारवटा बँदेल मरेपछि अफ्रिकन स्वाइन फिभरको परीक्षण गरिएको थियो । परीक्षण गरिएका बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो । बँदेलको पोष्टमार्टमपछि प्राप्त नमुनाको केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।
निकुञ्जमा मृत फेला परेको बँदेलको पोष्टमार्टम गरी रोग यकिन गर्न नमुनाहरू संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिए । निकुञ्जभित्र जंगली बँदेल मृत अवस्थामा फेला परेपछि निकुञ्ज प्रशासनले पोष्टमार्टम गरी रोग यकिन गर्न परीक्षणका लागि पशुपंछी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पठाएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले निकुञ्जभित्र सुरूमा आठ/दश दिनअघि दुई बँदेल मृत फेला परेको र दोस्रोपटक चार दिनअघि मात्रै थप दुई बँदेलसमेत गरी हालसम्म चारवटा बँदेल मृत फेला परेको जानकारी दिए ।
‘चार महिनाअघि पहिलोपटक निकुञ्ज बाहिरको बस्तीमा बंगुरमा यो रोग देखा परेको थियो,’ उनले भने, ‘ संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने अवस्था देखियो ।’ उनका अनुसार जंगलमा रहेका बँदेललाई आइसोलेसनमा राख्न सकिने अवस्था नभएकोले नजिकको बस्तीमा पसेर घरपालुवा बंगुरमा पनि रोगको संक्रमण फैलिने अवस्था देखिएकोले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
पशुपंछी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. जोशीका अनुसार नेपालमा अफ्रिकन स्वाइन फिभर पहिलोपटक २०७९ जेठ २ मा काठमाडौं उपत्यकामा देखिएको थियो । ‘कैलालीको भजनी क्षेत्रमा २०७९ कात्तिकमा यो रोगको संक्रमणबाट एउटै फर्मका चार सय बढी बंगुर मरेका थिए,’ उनले भने, ‘त्यसपछि कैलाली र कञ्चनपुरमा हालसम्म चार/पाँच हजारको संख्यामा बंगुर मरेका छन् ।’
नेपालमा जंगली बँदेलमा पहिलोपटक गत फागुन १९ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मृत फेला परेको बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।