कमल डाँगी । नेपालगन्ज ।
बाँकेमा गाईभैंसीमा देखिएको लम्पी स्किन रोगको महामारी तीव्ररुपमा फैलिँदो क्रममा छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले निकालेको प्रारम्भिक तथ्यांकअनुसार बाँकेमा ३५ हजार बढी यो रोगबाट संक्रमित छन् भने झन्डै एक ५० गाईभैंसीको मृत्यु भइसकेको छ ।
विज्ञ केन्द्रकी प्रमुख कमला अधिकारीले पालिकास्तरबाट तथ्यांक माग गरिएको र सबै ठाउँबाट तथ्यांक आएपछि वास्तविक संख्या खुल्ने बताइन् । ‘तर प्रारम्भिक चरणको निष्कर्षमा यहाँ ३५ हजार गाईभैंसी प्रभावित भएको र करिब डेढ सयको हाराहारीमा पशुचौपायको मृत्यु भएको भन्ने छ । सबै ठाउँबाट तथ्यांक आएपछि संख्या एकिन हुन्छ,’ उनले भनिन् ।
बाँकेमा चैतबाट उक्त रोगको संक्रमण सुरु भएको हो । तर पालिकास्तरका पशु शाखादेखि कुनै तहका सरोकारवाला निकायले नियन्त्रणमा चासो देखाएका छैनन् । जसका कारण जिल्लामा महामारी समयमै नियन्त्रण आउनुको सट्टा झनझन विकराल बन्दै गएको कृषकहरु बताउँछन् ।
उनीहरुका अनुसार सरोकारवाला निकायलाई सुरुमा रोग नियन्त्रणका विषयमा जानकारी गराउँदासमेत चासो नदिएको किसानहरुको गुनासो छ । अहिले सबै गोठहरु रित्तो हुने अवस्था आएपछि स्थानीय तह आत्तिएका छन् । गोठगोठमा गएर तथ्यांक संकलन गर्ने हो भने संक्रमित पशुको संख्या र मृत्यु हुने पशुको संख्या उल्लेखिय बढ्ने देखिएको पशुपालिक कृषकहरुको भनाइ छ ।
संक्रमण सुरु भएको लामो समयदेखि बिहीबारसम्म संक्रमित पशुको उपचार र अन्य पशुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भ्याक्सिन लगाउन सुरु गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख कमल चन्दका अनुसार प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पठाएको ६२ सय भ्याक्सिनमध्ये ६ सय भ्याक्सिन स्टक राखिएको छ भने अरु पालिकामा पठाइएको छ ।
बाँकेमा नेपालगन्ज, नरैनापुर र डुडुवा लम्फी स्किनबाट कम प्रभावित भएको पाइएको छ भने अन्य पालिका अत्यधिक प्रभावित भएका छन् । धेरै प्रभावित पालिकामा सात सयको दरले र कम प्रभावितलाई पाँच सयका दरले भ्याक्सिन वितरण गरिएको छ ।
‘अब हाम्रो काम संक्रमित पशुको उपचार र अरुलाई रोग लाग्न नदिन भ्याक्सिन लगाउने काम सुरु भएको छ,’ केन्द्रकी प्रमुख कमला अधिकारीले भनिन् । बिहीबार सबै पालिकाका पशु शाखाका प्रमुखलाई बोलाएर प्रदेश कृषि मन्त्रालयका सचिव यामनारायण सापकोटाको उपस्थितिमा तयारी बैठक बसेको छ । बैठकमा पशु शाखाका प्रमुखहरुले बाँकेमा रोग संक्रमण बढेको निष्कर्ष सुनाँउदै थप भ्याक्सिनको माग गरेका छन् ।
सरकारी निकायका जानकारहरुका अनुसार लम्पी स्किन रोगले अहिले पारेको असरलाई कम ठान्न नहुने भन्दै सचेत गराए । लम्पी स्किन रोगबाट हुने गाईभैंसीको मृत्युदर बढाउने मात्र नभइ त्यसले दूध उत्पादनमा पार्ने असर झन चिन्ताजनक भएको अवस्था सिर्जना भएको छ । अहिले पशुचौपाय मृत्युबाट लगानी प्रभावित भएका किसानहरुले त्यस रोगबाट प्रभावित भएका चौपायले पछि दूध घटाउने भन्ने चिन्ताले पिरोलिएका छन् ।