नेपालगन्जका विद्यालयमा किताबबिनाको पढाइ



नेपालगन्ज ।

नयाँ शैक्षिकसत्रबाट नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयमा आफ्नै पाठ्यक्रम ‘हाम्रो नेपालगन्ज’ लागु गरेको छ । यहाँका विद्यार्थीलाई आधारभूत ज्ञानसँगै आफू बसोबास गरेको स्थानको जानकारी, त्यहाँको रहनसहन, संस्कृति र इतिहासको विषयमा पूर्णज्ञान दिनका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यक्रम लागु गरिएको हो ।

नेपालगन्जले निर्माण गरेको पाठ्यक्रममा इतिहास, खेलकुद, भूगोल, सम्पदा, कला–संस्कृति, रहनसहन आदि विषय समेटिएको छ । किताब छपाइको काम नसकिए पनि पाठ्यक्रमका आधारमा पढाइ सुरु भएको छ । उपमहानगरपालिकाअन्तर्गतको शिक्षा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी गोरखबहादुर थापाले जनाए ।

चालु शैक्षिकसत्र भित्र किताबको काम सम्पन्न गर्ने योजना रहेको उनले बताए । ‘नेपालगन्जको परिचय, इतिहास र कला सभ्यताका विषय पाठ्यक्रममा समेटिएको छ,’ थापाले भने, ‘त्यसैका आधारमा शिक्षकहरुले पढाइ रहनुभएको छ ।’ सरोकारवाला निकायका अगुवासँग पर्याप्त छलफल गरेर पाठ्यक्रम निर्माण गरेको थापाले जानकारी दिए । तर उक्त पाठ्यक्रमका विषयमा टिकाटिप्पणी भने सुरु भएका छन् ।

सामाजिक अगुवा श्रीराम सिग्देल यस विषयमा टिप्पणी गर्दै भन्छन्, ‘विद्यालयले आफैँ प्रश्न तयार गरी परीक्षा र नम्बर दिइने अवस्था आयो । पहिलो कुरा पाठ्यपुस्तकबिना पाठ्यक्रम कति उचित ? दोस्रो कुरा, हाम्रो नेपालगन्ज १ देखि ८ कक्षासम्मको पाठ्यक्रमभित्रका विषय वस्तु के–के हुन र के–के पढ्ने ?’ नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म ‘हाम्रो नेपालगन्ज’ भन्ने १०० पुर्णांकको पाठ्यक्रम अनिवार्य बनाएको छ । २०७४ सालबाट पाठ्यक्रममा अनिवार्य गरिएको भए पनि हालै मात्र अध्ययन अध्यापन र ग्रेडिङ गर्दै आइएको छ ।

जगतज्योति माध्यमिक विद्यालय बासुदेवपुरका प्रधानाध्यापक ईश्वर पौडेलले पाठ्यक्रमका आधारमा नेपालगन्जको इतिहासिक पक्ष वा विषयमा पढाइ रहेको जानकारी दिए । ‘पाठ्यक्रम बनेको छ त्यसैका आधारमा अहिले पढाउने काम भइरहेको छ । खासगरी नेपालगन्जको परिचय, इतिहासिक, सामाजिक एवम् धार्मिक पक्षका विषयलाई केन्द्रित गरे सबै कक्षामा पढाएका छौं,’ पौडेलले भने ।

स्थानीय तहलाई बेग्लै पाठ्यक्रम बनाएर पढाउने अधिकार छ । तर त्यसरी बनाइएको पाढ्यक्रम जीवन उपयोगी र भविष्यका लागि काम लाग्ने हुनुपर्ने सरोकारवाला निकायका अगुवाले जोड दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको शिक्षा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी थापाले भने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनले पाठ्यक्रम निर्माण र छपाइका विषयमा अनविज्ञता प्रकट गरे । सम्बन्धित शाखाका प्रमुखलाई थाहा हुनुपर्ने कुरा किन हजुरले अनविज्ञता प्रकट गरिराख्नु भएको छ भन्ने मिसन टुडेको प्रश्नमा उनले भने, ‘लेखालाई सोध्नु कति बजेट थियो । मलाई थाहा छैन । पाठ्यक्रमका आधारमा पढाइ सुरु भएको छ । अरु विषय थाहा छैन ।’ शिक्षासँग सरोकार राख्ने स्थानीय पाठ्यक्रमका विषयमा उनले स्पष्ट जवाफ दिन नसक्नुले अनेक प्रश्न उब्जाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार