17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सुरुवाती चरणमै डेंगीको त्रास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

गणेश विशु । नेपालगन्ज (बाँके) ।

सामान्य मनसुन भइरहँदा पश्चित तराईसँगै हिमाली तथा पहाडी जिल्लामा डेंगी संक्रमण देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले पनि यस वर्ष डेंगीले महामारीको रुप लिनसक्ने संकेत गरेको छ । पश्चिमका कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा डेंगी संक्रमितका बिरामी देखिएका छन् ।

यी जिल्लाहरुमा सुरुवाती चरणमै डेंगी संक्रमण बढ्दो क्रममा छ । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेतकुमार रिसालका अनुसार यो डेंगी हुन सक्ने सुरुवाती समय हो । साउन, भदौ र असोज महिनामा अझ बढी संक्रमण हुने महिना हुन् । ‘पानी प¥यो भने खाल्डाखुल्डी हुन्छ । लामखुट्टे सक्रिय हुन्छन्,’ उनले भने, ‘यस वर्ष वर्षा नहुँदा पानी जम्न पाएन । लामखुट्टे पनि त्यतिधेरै देखिएका छैनन् ।’

तराईबाट हिमाली तथा पहाडी जिल्लामा मानिसको आवतजावत बाक्लिँदै जाँदा पनि माथिल्लो क्षेत्रमा डेंगी संक्रमण फैलिन थालेको चिकित्सकहरु बताउँछन् । अहिले तराईका जिल्लाबाट हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । ‘तराईका जिल्लाबाट गाडी सिधै पहाडी जिल्लामा पुग्छन्,’ कर्णाली स्वास्थ्य निर्देशनालयका भेक्टर नियन्त्रण अधिकारी डाक्टर श्याम आचार्यले भने, ‘जसको माध्यमबाट लामखुट्टे पनि हिमाल तथा पहाडसम्म पुग्छन् ।’ कर्णालीमा पछिल्लो दुई÷तीन दिनयता डेंगी संक्रमण देखिन थालेको उनको भनाइ छ ।

यस हप्ता कर्णालीमा १३ वटा डेंगीका केस पत्ता लागेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखमा दुई, जाजरकोटमा एक, रुकुम पश्चिममा चार, सल्यानमा एक, सुर्खेतमा एक र अन्य चारवटा देखिएका छन् । चारवटा डोल्पाको हुन सक्ने अनुमान गरिएको छ । तर, यसको पृष्टि भने भइ नसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । २०७७/०७८ मा सात सय ९६ जनामा डेंगी देखिएको थियो भने २०७९/०८० मा चार सय ५५ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका भेक्टर नियन्त्रण अधिकारी डा. आचार्यले जनाए ।

हिमाली तथा पहाडी जिल्लामा हुने साना खाल्डाखुल्डी पनि लामखुट्टेका लार्भाहरु देखिन थालेका स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले जनाए । ‘पहाडतिर पनि लामखुट्टेका लार्भा देखिन थालेका छन् । गमलामा पनि लार्भा भेटिएका छन्,’ उनले भने, ‘जसबाट डेंगी संक्रमण देखिन थालेका छन् ।’ अहिले सुरुवाती चरणमा डेंगी संक्रमण देखिन थालेकाले यसबाट बच्न सजग रहनु पर्ने उनको भनाइ छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी दार्चुलामा डंगी देखिएको छ । दार्चुलामा यस वर्ष एक सय ९० जनामा डेंगी देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमको बाजुरामा दुई, बझाङ पाँच, बैतडी तीन, डोटी चार, अछाम १५, कैलाली १२ र कञ्चनपुर ३५ जनामा डेंगी देखिएको जनस्वास्थ्य अधिकृत जोशीले जनाए । उनका अनुसार गत वर्ष सुदूरपश्चिममा एक हजार ५५ जनामा डेंगी संक्रमण देखिएको थियो भने डोटीमा एक र कैलालीमा तीनजनाको डेंगी संक्रमणबाट मृत्यु भएको थियो ।

लुम्बिनीमा २०७९ साउनदेखि अहिलेसम्म पाँच हजार चार सय चारजनामा डेंगी देखिएको छ । वैशाखयता रुपन्देहीमा चार, गुल्मीमा ३५, अर्घाखाँचीमा पाँच, दाङमा पाँच, कपिलवस्तुमा एक, पाल्पामा तीन, नवलपरासीमा तीन, बाँकेमा १५ र बर्दियामा ११ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका महामारी तथा सरुवा रोग फोकल पर्सन खिमलाल पाण्डेले जनाए । उनका अनुसार रोल्पा र रुकुम पूर्वमा अहिलेसम्म डेंगी देखिएको छैन ।

पश्चिम तराईमा मनसुन सक्रिय नहुँदाको प्रभाव डेंगी सामान्य देखिएको छ । वर्षा नहुँदा यसपालि लुम्बिनीका तराईमा पर्ने बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा डेंगी संक्रमण देखिएका न्यून देखिएको छ ।

मेडिकलरुपमा केही कम देखिए पनि हिमाली तथा पहाडी जिल्लामा डेंगी संक्रमण भएको चिकित्सकहरु बताउँछन् । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट ज्यानैसमेत जान सक्ने भएकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. रिसालले जनाए ।

डेंगीले महामारीको रूप लिन सक्ने

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यो वर्ष डेंगीले महामारीको रूप लिँदैन भनेर ढुक्कसाथ बस्न नसक्ने जनाएको छ । ईडीसीडीका निर्देशक डा. रुद्र मरासिनी यो वर्ष पनि सम्भावित महामारीलाई ध्यान दिँदै तयारीमा जुट्नुपर्ने बताउँछन् । डा. मरासिनी भन्छन्, ‘हरेक वर्ष महामारी फैलिन सक्छ भनेर त्यसैअनुसारको हाम्रो तयारी आवश्यक हुनुपर्छ । नेपालमा देखिएको ट्रेन्डलाई हेरेर ढुक्क बस्न सक्ने अवस्था छैन ।’

उनले हाल देखिएको डेंगीका केसहरू त्योभन्दा पनि बढी हुन सक्ने भन्दै सबै पालिका तथा निजी अस्पतालहरुलाई अनिवार्य रूपमा आफ्नो कर्तव्य सम्झेर रिपोर्ट गर्नुपर्ने बताउँछन् । ‘डेंगी नियन्त्रण तथा रोकथामका लागि अघिल्लो वर्ष धेरै केसहरू देखिएका ठाउँमा वडा तथा टोल विकास समितिसित समन्वय गरिएको छ । रगत अभाव हुन नदिन रेड क्रस सोसाइटीलाई सूचित गरी सकिएको छ,’ डा. मरासिनीले भने ।

हाल देशभर झन्डै १२ सय व्यक्तिमा डेंगी संक्रमण भएको छ । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार जनवरी १ देखि हालसम्म ६६ जिल्लामा डेंगीका एक हजार एक सय ९२ जनामा संक्रमण भएको छ । यो अवधिमा डेंगीबाट एकजनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमण दार्चुला, धादिङ र सुनसरीमा पाइएका छन् ।

संखुवासभामा ३१, सुनसरीमा एक सय ३४, धादिङमा एक सय ७५, काठमाडौंमा ३२, भक्तपुरमा ३६, ललितपुरमा १३ म्याग्दीमा ४३, कास्कीमा ७२, दार्चुलामा एक सय ८८, कञ्चनपुरमा ३४, रुपन्देहीमा २६ जनालाई संक्रमण भएको छ । कतिपय केस केन्द्रमा रिपोर्ट नभएकाले पनि संक्रमण अझ फैलिएको हुन सक्ने ईडीसीडीको अनुमान छ ।

जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । ईडीसीडीको तथ्यांक हेर्ने हो झने गत वर्ष मंसिरसम्म डेंगीका धेरै केसहरू थिए । अघिल्लो वर्ष सरकारले डेंगी संक्रमणको रोकथाममा समयमा नै एक्सन नलिँदा धेरै व्यक्तिले ज्यान गुमाउन पुगे ।

गत वर्ष हालसम्मकै बढी ५४ हजार सात सय ८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । संक्रमितमा ५३ प्रतिशत पुरुष थिए भने ४७ प्रतिशत महिला थिए । अघिल्लो वर्ष सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७७ प्रतिशत संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पनि ५६ प्रतिशत केस काठमाडौं उपत्यकामा भेटिएको थियो ।

त्यसैगरी सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार नौ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलोपटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । तथ्यांक विश्लेषण गर्ने हो भने नेपालमा डेंगी फैलिने स्वरूप हेर्दा हरेक २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोप लिएको देखिन्छ ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:54:23 AM  |