20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

सर्पले डस्दा झारभुक र प्रार्थना : अन्धविश्वासले लियो ‘ओमकुमारी’को ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०८०  

शुभाकर विश्वकर्मा \ मधूर पौडेल
महादेवा,  कोहलपुर–बाँसगढी सडक खण्डअन्तर्गत सम्झना चोक । चोकदेखि सात किलोमिटर दुरी पार गरेपछि भेटिन्छ, ‘बाँसगढी–२ महादेवा ।’ महादेवा गाउँको ग्रामीण बस्तीमा छ, श्यामबहादुर डाँगीको घर । दैलेखबाट बसाइँ सरेर तराई झरेका उनको कच्ची एक तले घर छ । वरिपरि खेतीयोग्य जमिन । चार छोराछोरी र श्रीमतीसहित श्याम महादेवामा बस्छन् । श्यामको परिवार खेती किसानीले चलेको छ ।

ओम कुमारी डाँगीको परिवार र आफन्त  तस्विर : शुभाकर विश्वकर्मा

तर, तीन दिनयता डाँगी परिवार शोकमा छ । श्याम र उनकी श्रीमती विष्णुदेवी छोरी ओमकुमारी डाँगीको मृत्युले मर्माहत भएका छन् । ओमकुमारीकी दिदी र दुई भाइ भावविह्वील अवस्थामा छन् । अब उनीहरुसँग ओमकुमारी कहिल्यै स्कुल जाने छैनन् । सताउने छैनन्, भाइबिहिनाहरुलाई । किनकी ओमकुमारीले उपचार नपाउँदा ज्यान गुमाएकी छिन् । उनी सर्पको टोकाइबाट बिरामी हुँदा उपचार गर्नुको साटो पास्टरको मन्त्रको भर पर्दा उनको समयमै उपचार हुन सकेन । पास्टरको मन्त्रबाटै सञ्चो हुने भन्दै अस्पताल लिनु नपर्ने र प्रार्थनाबाट सञ्चो हुने बाँसगढी–२ बेतहनीकी यमुना भनिने योगेन्द्रकुमारी घर्तीले बताएकी थिइन् । घर परिवारले पनि समयमै अस्पताल लिनुभन्दा पास्टरलाई खबर गरेका थिए ।

      ओम कुमारी डाँगीका बुवा श्याम बहादुर डाँगी  तस्विर : शुभाकर विश्वकर्मा
बिहीबार बिहान मृतक ओमकुमारीको घरमा मिसनकर्मी पुग्दा दुई भाइ दिदीको मृत्युपछि संस्कारमा थिए । काखमा लुटुपुटी गर्ने बहिनी गुमाउँदा दिदीका आँखा ओभाना थिएनन् । सिंगो गाउँ नै शोकमा छ यतिबेला । डाँगीको घरमा सान्नाटा थियो । मूलगेटको अगाडि श्याम किरिया बसेका छन् । विद्यालय पोसाक दुईवटा चुल्ठी, गोरो, हसिलो अनुहार र मन्द मुस्कानसहित ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको ओमकुमारीको तस्विर टाँगिएको छ भित्तामा । उनको तस्विर कान्छा भाइले बाहिर ल्याउँदा आमा र आफन्तहरुको रुवाबासी नै चल्यो ।

    टोलाइरहेका श्याम बहादुर डाँगी  तस्विर : शुभाकर विश्वकर्मा
१६ वर्षीय ओमकुमारी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहोराले पीडक भनिएकी यमुना भनिने योगेन्द्रकुमारी घर्तीलाई पक्राउ गरिएको बताए । उनलाई बर्दिया जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भएको छ । परिवारले उजुरी दिएको आधारमा पक्राउ गरेको डिएसपी बोहोराले जनाए । ‘१६ वर्ष किशोरीलाई सर्पले टोकेको रहेछ । घर्तीलाई भन्दा यो सामान्य हो । अस्पताल लैजानुपर्दैन प्रार्थना गर्नुपर्दैन भनि सल्लाह दिएको पाइएको छ । छिमेकीले थाहा पाएपछि अस्पताल लैजान भनेको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ,’ बोरोहाले भने । घटनाको सन्दर्भमा विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरीमा सच्चाइ धर्मगुरुविरुद्ध मुद्दा

                   छोरीको मृत्युपछि भावविह्वील विष्णुदेवी डाँगी तस्विर : शुभाकर विश्वकर्मा

मृतक ओमकुमारी डाँगीको परिवारले सत्य वचनकी पास्टर भनिने बाँसगढी–२ बेतहनीकी यमुना भनिने योगेन्द्रकुमारी घर्तीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । मृतकका बुवा श्यामबहादुरले ईलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीमा जेठ २ गते घर्तीविरुद्ध ज्यानसम्बन्धी कसुर (हेलचक्रयाइँ गरी ज्यान मारेको) कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीले घर्तीलाई पक्राउ गरेको छ ।

यस्तो थियो घटना
जेठ १ गते राति डाँगीको परिवार सुतिरहेको थियो । त्यस दिन ओमकुमारी भुइँमा सुतेकी थिइन् । २ गते राति साढे १ बजेतिर आमा मलाई पेट दुख्यो भन्दै ओमकुमारी बाआमा सुतेको कोठाभित्र छिरिन् । हातमा केहिले टोके जस्तो अनुभूति भएको उनले आमाबालाई सुनाइन् । हत्तपत्त बुवा श्यामबहादुरले छोरीको हात हेरे । हातमा टोकेको जस्तो निसानी थियो । तुरुन्तै श्यामबहादुर ओमकुमारी सुतेको ठाउँमा पुगे । जहाँ सर्प भेटियो ।त्यसपछि उनीहरुले अनुमान गरेकी सर्पले नै टोकेको हो ।

पीडाले ओमकुमारी छट्पटाइरहेकी थिइन् । परिवार आत्तिएको थियो । श्यामबहादुर भन्छन्, ‘सत्य वचन भन्ने छ । त्यसमा म लागेको एक महिना बढी भयो । सत्य वचन सिकाउनेका अनुसार सर्प, बिच्छी, क्यान्सर र खुट्टा भाँचिएको निको हुने सिकाएका थिए । मेरो छोरीलाई पनि सञ्चो भइहाल्छ की भनेर पास्टरलाई फोन गरेँ ।’ उनले पास्टरभन्दा उनकी श्रीमतीले पास्टर नभएको बताइन् । उनले पास्टरलाई फोन गरे ।

यमुना भनिने योगेन्द्रकुमारीले आफू उपस्थित हुन नसक्ने भन्दै फोनबाटै सच्याइ गरिदिने र छोरीलाई ठीक हुने बताइन् । मन्तरले ठीक हुने र नआत्तिन उनले श्यामबहादुरलाई भनेकी थिइन् । यो सामान्य भएको भन्दै अस्पताल लैजानु नपर्ने र प्रार्थनाबाटै निको हुने उनले बताएकी श्यामबहादुरले बताए । श्यामबहादुर भन्छन्, ‘मैले अहिले जे जति विधि÷मन्तर÷पुकार गरेको छुँ, यो कुुरा कसैलाई नभन्नुहोला ।

जतिजनाले सुन्नुभयो, त्यतिमा सीमित राख्नु होला भन्नुभयो ।’ यी सबै कुरा उनले फोनबाटै बताएकी थिइन् । श्यामले घर्तीलाई ३ः३४ मा फोन गरेका थिए । आफूले फोनमा उनीसँग २२ मिनेट ३१ सेकेण्डसम्म कुरा भएको श्यामको भनाइ छ ।

अन्तिममा यमुना भनिने योगेन्द्रकुमारीले सर्पले टोकेर छट्पटाइरहेकी ओमकुमारीलाई सुर्खानी खुवाउन पनि सुझाव दिएकी थिइन् । उनको सुझाव थियो, ‘खुर्सानी मुखमा हाल्दा जिब्रोमा पिरो लाग्यो भने सर्पको विष हटिसकेको हुन्छ । पिरो लागेन भने विष अझै शरीरमै हुन्छ ।’ घर्तीको निर्देशनअनुसार श्यामले छोरीको मुखमा खुर्सानी हाले । ओमकुमारीले पनि आफूलाई पिरो भयो भनिन् ।

त्यसो भए अब विष हटिसक्यो भन्ने भान आफूहरुलाई भएको उनी स्वीकार्छन् । छोरी बाँच्ने भइन् भन्ने भ्रममा उनी परे । त्यतिबेला ओमकुमारी बान्ता गरिरहेकी थिइन् । बान्ता गरिन्, भित्र गइन् र आराम गरिन् । उनी पीडामा हुँदै ओछ्यानमै पल्टिरहेकी थिइन् । त्यति नै बेला फेरि आमालाई बोलाउँदै भनिन्, ‘मेरो दुवैतर्फको घाँटी बुझिएको जस्तो हुन लाग्यो ।’

त्यतिबेलासम्म उज्यालो भइसकेको थियो । बुबा श्यामबहादुर बिहानै काम विशेषले नेपालगन्ज जान भनेर हिँडे । उनी सम्झना बजार पुग्न नपाउँदै घरबाट जेठी छोरीको फोन आयो । जेठी छोरीले भनिन्, ‘बहिनीलाई धेरै अप्ठ्यारो भयो । तुरुन्त तपाईं घर आउनू ।’ श्यामबहादुर घर पुग्दा ओमकुमारीको अवस्था गम्भीर भइसकेको थियो । तत्काल अटोलाई फोन गरे । अटोले गाडीसम्म पु¥यायो र गाडीमा तुरुन्तै भेरी अस्पताल पु¥याइयो । डाक्टरले सबै उपचार विधि प्रयोग गरे । अन्त्यमा डाक्टरले उहाँ त हुनुहुन्न (मृत्यु भइसकेको) सुनाए ।

धर्मगुरु घर्ती भन्छिन्, ‘क्षमा पाउ, भूल भयो’
यमुना भनिने योगेन्द्रकुमारी घर्तीले ११ वर्षदेखि सत्य वचनमा लागेको बताएकी छन् । सत्य वचन भनेको स्पष्ट बोल्ने, झुठो नबोल्ने, कसैको हत्या नगर्ने, नराम्रो नबोल्ने भएको उनको भनाइ छ । अहिलेसम्म धेरैलाई निको पारेको समेत उनको दाबी छ ।

दुःख पाएका र पीडा भएकालाई सत्य वचन दिने गरेको घर्तीको भनाइ छ ।
मनले प्रमेश्वरलाई मान्ने गरेको उनी बताउँछिन् । ‘किशोरीकी आमाले मलाई फोन गरेकी थिइन् । दिदी १ बजेतिर मेरो छोरीलाई सर्पले टोक्यो । मैले झारभुक र प्रार्थना गरँे । मैले खुर्सानी भनेकी थिएँ । प्रमेश्वर पीता क्षमा पाउ मबाट भुल त्यतिभयो,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०८०     12:41:37 PM  |