‘यहाँ श्रम गर्दा बाँच्ने सक्ने अवस्था भए धेरै जनशक्ति परदेशिनु पर्ने थिएन,’ उनले भने, ‘यही श्रम गरेर बाँच्ने अवस्था आउने हो भने, बाहिर जाने जनशक्ति यही रोकिन्छ र यहाँको विकासले गति लिन्छ ।’
गणेश विशु । नेपालगन्ज (बाँके) ।
रुकुम पश्चिमस्थित बाँफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे । परिवारको लालनपालन र जीविकोपार्जनका लागि ज्यालादारी काम नपाउँदा उनी श्रमकै लागि भारत पसेका हुन् । उनीसँगै गाउँका करिब ८÷१० जना युवा परेदेशीय । कारण उही हो, ‘स्वदेशमै श्रम गर्ने ठाउँ नपाउनु ।’
दिउसो करिब ३ बजेतिर जुम्लाका लक्षिराम बुढा पनि साथीहरुसँगै श्रम गर्न नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट भारतको कालापहाडका हिँडे । उनीहरु मात्र होइन, पश्चिम नेपालका कयौं महिलापुरुष स्वदेशमा श्रम गर्ने ठाउँको अभावमा भारतीय बजार पस्छन् । यसमा पुरुषको संख्या अझ ठूलो छ । भारतमै श्रम गर्छन्, अनि केही पैसा कमाएर घर पठाउँछन् ।
परदेशीको कमाइले परिवारमा क्षणिक खुसी त आउँछ तर, बिछोडिएको मनमा भने घाउ खिल बनेर पिरोलिन्छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट ठूलो संख्यामा जनशक्ति भारत जान्छ । यतिबेला गाउँघर सुनसानजस्तै छन् । पहाडी घरगाउँमा अहिले महिला, बालबालिका, वृद्धवृद्धा, बिरामीहरुको ठूलो संख्या छ । कतिपय गाउँमा त मर्दा मलामी र पर्दा साथ दिने युवा भेटाउनै मुस्किल हुने जुम्लाका लक्षिरामले जनाए ।
‘यहाँ (स्वदेश) मा बस्दा महिनामा मुस्किलले ८/१० दिन काम पाइन्छ,’ उनी भन्छन्, ‘त्यसले घर खर्चनै चलाउन सकिने अवस्था छैन ।’ उनको घरमा पाँचजनाको परिवार छ । उनी दैनिक एक हजार रुपैयाँ ज्याला पाउँछन् । काम भएको दिन दिनगन्तीले हिसाब गर्दा उनको मासिक आठदेखि १० हजार रुपैयाँ कमाइ हुन्छ । छोराछोरीको शिक्षादिक्षा, स्वास्थ्यपोचार र खानपिन गरेर उनको घरमा मासिक खर्च कम्तीमा २० हजार रुपैयाँ हुन्छ । यस हिसाबले उनलाई नाफा होइन, घाटा छ ।
घाटाको रकम ऋणको जोह गरेर चलाउनु पर्ने बाध्यता छ । यो बाध्यता लक्षिरामको मात्र होइन, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका नागरिकको अवस्था हो । महिनामा खर्च बराबरको कमाइ हुन नसक्दा अर्काको देशमा श्रम गर्नुपर्ने बाध्यता भएको मुगुबाट जमुनाह नाका पुगेका हर्कवीर शाहीले बताए ।
‘गाउँघरमा काम पाइँदैन,’ उनी भन्छन्, ‘जुनसुकै सरकार आए पनि हाम्रा पाखुराले श्रम पाएनन् ।’ उमेर हुँदा हाम्रा पाखुरा परदेशको विकासका लागि खिइने र बुढेसकाल लाग्दा स्वदेशमा थन्किने अवस्थाको अन्त्य हुनुपर्ने उनी बताउँछन् । सरकारले श्रम बजारको व्यवस्थापन गर्न नसक्दा कयौं व्यक्तिले घरपरिवार छाडेर बिदेसिनु पर्ने उनको भनाइ छ ।
‘गाउँघरमा श्रम गरेर बाच्न सक्ने अवस्था छैन,’ हर्कवीरसँगै भारत जानलाई जमुनाह पुगेका काले मल्लले भने, ‘यहाँ श्रम गर्ने ठाउँ नहुँदा घर परिवार छाडेर हिँड्नु प¥यो ।’ आफ्नो सन्तानले यस्तो अवस्था भोग्नु नपरोस् भन्दै उनले भने, ‘सरकारले श्रमको उचित व्यवस्थापन गर्न नसक्दा हामीले दुःख पाइरहेका छौं । अब हाम्रा सन्तानले त्यस्तो दुःख भोग्नु नपरोस् ।’ परदेशिएको ठूलो जनशक्तिले यही श्रम गरे यहाँको विकासले ठूलो फट्को मार्ने उनको भनाइ छ ।
‘यहाँ श्रम गर्दा बाँच्ने सक्ने अवस्था भए धेरै जनशक्ति परदेशिनु पर्ने थिएन,’ उनले भने, ‘यही श्रम गरेर बाँच्ने अवस्था आउने हो भने, बाहिर जाने जनशक्ति यही रोकिन्छ र यहाँको विकासले गति लिन्छ ।’
प्रतिक्रिया दिनुहोस्