10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

उत्पादन लागत बढी लाग्नेमा लुम्बिनी दोस्रो स्थानमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०  

नेपालगन्ज, लुम्बिनी प्रदेश उद्योगहरुको लागत बढी लाग्ने देशमै दोस्रो स्थानमा रहेको एक सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७५÷७६ लाई आधार मानी गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार सबैभन्दा बढी उत्पादन लागत लाग्ने प्रदेशमा मधेस प्रदेश छ । मधेस प्रदेशमा लागत–उत्पादन अनुपात ०.७४ रहेको छ भने दोस्रोमा रहेको लुम्बिनी प्रदेशमा ०.७२ छ । यसको अर्थ लुम्बिनी प्रदेशमा कुनै उद्योगले एक सय रुपैयाँको उत्पादन गर्न ७२ रुपैयाँ खर्च गर्नुपर्छ । यो उच्च अनुपात हो । लागत–उत्पादन अनुपातका हिसाबले लुम्बिनीपछि क्रमशः कोशी प्रदेश, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेश छन् ।


सर्वेक्षणले खानी तथा उत्खनन, उत्पादनमूलक, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा एवम् पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापनसम्बन्धी उद्योगहरुको मात्रै सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै लागत खर्च उत्पादनमूलक र ग्यास तथा विद्युत्सँग सम्बन्धित उद्योगमा रहेको पाइएको छ ।

सर्वेक्षणको नतिजाबारे मंगलबार नेपालगन्जमा छलफल कार्यक्रम गरिएको थियो । तथ्यांक कार्यालय बाँकेले गरेको उक्त कार्यक्रममा ढुवानी तथा यातायातको सुविधा कम भएका ठाउँमा लागत कम पर्नु र सुविधायुक्त क्षेत्रमा लागत बढी पर्नुका कारणमा कच्चा पदार्थको प्रकृति र उद्योगहरुको संख्या रहेको जानकारी दिइयो । पहाडी क्षेत्रमा उद्योग नै कम हुने र भएका उद्योगले पनि अधिकांशतः स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने गरेका कारण लागत कम देखिएको पाइएको हो । तर, तराई क्षेत्रमा ठूला उद्योगहरुले विदेशबाट समेत कच्चा पदार्थ आयात गरी उत्पादन गर्ने भएकोले लागत बढी लाग्ने गरेको हो ।

सर्वेक्षणका अनुसार २०७५÷७६ मा लुम्बिनी प्रदेशमा दर्ता भई सन्चालनमा समेत रहेका त्यस्ता उद्योगहरुको संख्या १० हजार पाँच सय आठवटा थियो । तीमध्ये खानी तथा उत्खननसम्बन्धी ६८, उत्पादनमूलक १० हजार तीन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवासम्बन्धी एक सय पाँच एवम् पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापनसम्बन्धी तीन सय ३२ वटा उद्योगहरु थिए । यी उद्योगहरुमा ८७ हजार ६७ जना व्यक्तिहरु संलग्न रहेका पाइएको छ । यी उद्योगमा काम गर्ने ६७ हजार एक सय ९२ जना कामदारले सरदरमा २५ हजार आठ सय ३६ रुपैयाँ पारिश्रमिक पाउने गरेका पाइएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०८०     1:38:01 PM  |