गणेश रावत । कोहलपुर (बाँके) ।
मिहिनेतको फल कस्तो हुन्छ ? यसको उत्तर कोहलपुर–२ का मोहन रिजालका खुसीले सहजै दिन्छ । बारीमा लहरै फलेका बेमौसमी तरकारीले दुःख बिर्साइदिन्छ । उनी भन्छन्, ‘बेमौसमी तरकारी उत्पादनमा धेरै मिहिनेत गर्छुँ । उत्पादन राम्रो हुँदा ति दुःख हराइदिन्छन् ।
करिब पाँच वर्षदेखि कृषि पेशामा संलग्न उनी यतिबेला बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।
बजारमा तरकारीको माग उच्च हुँदा पनि तरकारी खेतीमा आफू आकर्षित भएको उनी बताउँछन् । एक कट्ठाबाट तरकारी खेती सुरु गरेका रिजालले अहिले १६ कट्ठामा तरकारी खेती गर्छन । ‘मौसमीभन्दा बेमौसमी तरकारी उत्पादनमा राम्रो आम्दानी छ,’ उनी भन्छन्, ‘त्यसैले बेमौसमी तरकारी खेती गर्दै आएको छुँ ।’
उनका बारीमा काँक्रा, लौका, करेला, च्याउ, फर्सी छन् । राजनीतिमा उत्तिकै सक्रिय उनी अहिले तरकारी खेतीमा व्यस्त छन् । ‘राजनीति छोडेर होटेल व्यवसाय गरेँ,’ उनी भन्छन्, ‘होटेलमा राम्रो कमाइ नभएपछि होटेल व्यवसाय छाडेर कृषि खेतीमा लागेँ ।’
उनले तरकारी खेतीका लागि सुरुमा दुई लाख रुपैयाँ खर्च गरे । ‘आफ्नै जग्गा थियो,’ उनले भने, ‘घेरबार, बीउ र अन्य खर्च गरेँ ।’ पहिलो वर्ष उत्पादन राम्रो भएपछि उनी अझ मिहिनेतका साथ कृषि पेशामा लागे । बिस्तारै लगानी बढाउँदै अहिले कृषिबाट आत्मनिर्भर भएको उनी बताउँछन् ।
उनले भने, ‘हामी सधै अरुको मुख ताक्ने बानीले पछि परेका छौं । कृषि गर्न अल्छि मान्छौं । अनि रुपैडियाको भर पर्छाैं । अनि विषादीयुक्त तरकारी खाँदा विभिन्न रोग लाग्छन् । त्यसैले यसको अन्त्य गर्न म आफँै उत्पादन गरेर खानुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भनेर अरुलाई सिकाउन मैले तरकारी खेती गरेँ ।’
उनले बेताबेला कृषिसम्बन्धी तालिमसमेत लिएका छन् । प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिँदा तरकारी खेती गर्न सहज भएको उनले बताए । यही पेशाबाट उनले मनग्ये आम्दानी गर्दै आएका छन् । जसले परिवार सहज ढंगले चलाएका छन् भने, आत्मसन्तुष्टि पनि छन् ।
प्रतिक्रिया दिनुहोस्