नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली नेपालगन्जबाट मात्रै सयौं व्यवसायीहरुले व्यवसाय छोडेर विदेश गएको दाबी
गरे । उनका अनुसार कतिपय व्यवसायीहरु त अवैधानिक बाटोबाट अमेरिका गएका छन् । ‘मैले जानकारी पाएको उहाँहरु अवैधानिक बाटोबाट अमेरिका जाँदै हुनुहुन्छ । बाटोमा हुनुहुन्छ । अरु थुप्रै व्यवसायीहरु पनि व्यवसाय छोडेर पलायन हुँदै हुनुभएको छ,’ ओलीले भने ।
नेपाल उद्योग वाणिज्य महासंघ पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठ पनि आफ्नै छेउछाउका दुईजनाले व्यवसाय छोडेर विदेश गएको जानकारी दिए । उनले भने, ‘मेरै बगलमा राम्रो व्यवसाय गरिरेका भाइहरुले पसल बन्द गरेका छन् । दुईजना त विदेश गए । अरुहरुले पहिले धेरै राम्रो व्यवसाय गरिरहेका थिए । कोरोनापछि व्यवसाय ओरालो लागेपछि बन्द गर्न बाध्य भए ।’
नेपालगन्जका एकजना व्यवसायी मुकबहादुर शाहले बैंकको चर्काे ब्याजका कारण ऋण बुझाउन नसकेपछि व्यवसाय बन्द गर्ने अवस्थामा आइपुगेको मिसन टुडेसँगको कुराकानीमा बताए । उनले बंैकले ३५ दिने सूचना निकालेपछि व्यवसाय बन्द गरेर सम्पत्ति बेचेर ऋण चुक्ता गर्नुको विकल्प नदेखेको बताएका छन् ।
कोरोना महामारी विथोलेको व्यवसायको वातावरण पछिल्लो समय आर्थिक मन्दी र बैंकको चर्काे ब्याजका कारण व्यवसाय बन्द गर्नुपरेको व्यवसायीहरु बताउँछन् । व्यवसाय बन्द गरेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि बढिरहेको पाइएको छ । मानिसहरु वैदेशिक रोजगारीमा जानेक्रम बढेको जिल्लाबाट राहदानी लिनेहरुको संख्याबाट पनि पुष्टि हुन्छ ।
चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म जिल्लाबाट राहदानी लिनेहरुको संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ कोभन्दा साढे दुई गुणा बढीले राहदानी सिफारिस लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म तीन हजार दुई सय ६० जनाले राहदानी सिफारिस लिएकोमा चालु आर्थिक वर्षको चैत २२ गतेसम्म आठ हजार ६ सय नौजनाले राहदानी सिफारिस लिएका छन् ।
यस वर्ष हालसम्म एक हजार आठ सय ६२ जना महिलाले पनि राहदानी सिफारिस लिएका छन् । चालु आर्थिक वर्षको भदौ, पुस, माघ महिनामा क्रमशः एक हजार एक सय ३२, एक हजार ८०, एक हजार एक सय ४१ जनाले सिफारिस लिएका छन् । सबैभन्दा कम सिफारिस लिएको असोज महिनामा पनि सात सय ३५ जनाले सिफारिस लिएका छन् ।
यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार सात सय दुईजनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् । जबकी अघिल्लो आर्थिक वर्षको यही अवधिमा पाँच हजार दुई ६९ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । यसले पनि जिल्लाबाट विदेशिनेहरुको संख्या बढेको पुष्टि गर्छ ।
नेपालगन्ज उद्योग वाणिज्य महासंघका पूर्व सदस्य श्रेष्ठ सरकारले अहिलेको अवस्थालाई गम्भीरताका साथ लिएर अर्थतन्त्र सुधारको काम गर्नुपर्ने बताउँछन् । व्यवसायको वातारण नबनेमा अरु व्यवसायीहरु पनि विदेश पलायन हुने जोखिम औँल्याउँदै उनले वित्तीय संस्थाहरुले आफ्नो दीर्घकालीनताका लागि व्यवसायमैत्री नीतिका लागि अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्