भुँईमान्छेको कथा : काफल बेच्न रोल्पादेखि कोहलपुरसम्म



शुभाकर विश्वकर्मा, कोहलपुर
‘काफल खाने कुँइया म¥यो ला जुनकिरी…’ रोकिएको अटो रिक्सामा गीत बजिरहेको छ । चैत महिनाको धुपौरे गर्मीमा यात्रुको पखाईमा छन्, अटो चालक दाई । अन्य अटोहरु लहरै रोकिएका छन् । कोहलपुरदेखि नेपालगन्जसम्म जाने यात्रुहरुको चाप उस्तै छ । पैदल यात्रुहरु जेब्रा क्रसिङ हुँदै बाटो काटिरहेका छन् । यो कोहलपुरको न्युरोड सोच हो ।


न्युरोक चोकस्थित कोहलपुर नेपालगन्ज सडकको दुईतिर काफल बेच्छन्, एक बृद्ध दम्पति । ज्ञानोदय पुस्तकालयको ठिक अगाडि सडक छेउमा एक बृद्ध भेटिन्छन्, उनी हुन्, रोल्पाका कमल थापा । उनी ६६ वर्षका भए । निन्याउरो अनुहार, चाउरी परेका गाला । उनको शिरमा नेपाली ढाका टोपी छ । सर्ट र पेन्ट र खुट्टामा चप्पल लगाएका छन्, थापाले । उनी ढकियामा काफल बेचिरहेका थिए । गर्मी छल्न छाताले काफल छोपिरहेका छन् । पंक्तिकारसँग भेट हुँदा उनी ३–४ जनालाई काफल बेचिरहेका थिए । संक्षिप्त कुराकानीमा उनले भने,‘घर खर्च टार्न काफल बेचिरहेको छु । ठिकै बिक्रि हुन्छ । यस्तै छ,हजुर ।’ थापा पूर्व प्रहरीसमेत हुन् ।


न्युरोड नजिकै रहेको खुल्ला मैदानको सडक छेउसँगै रहेको विद्युतको पोलनेर काफल बेच्छिन्,कमला थापा । उनी थापाकी श्रीमती हुन् । ५९ वर्षीय थापा जिविकोपार्जनका लागि काफल बेच्न लागेको बताउँछिन् । उनका अनुसार कोहलपुरमा उनीहरुले काफल बेच्न थालेको एक महिना भयो । उनीहरुले कोहलपुरमा गत फागुन १२ गतेदेखि काँफल बेच्न थालेका हुन् । बैशाख महिनासम्म काफल बेच्ने योजना छ, उनीहरुको । उसो त उनीहरु विगत केही वर्षदेखि कोहलपुरमा फागुन देखि बैशाखसम्म हरेक वर्ष काफल बेच्दै आएका छन् ।


थपा दम्पति रोल्पाको लिवाङका स्थायी बासिन्दा हुन् । उनीहरु दाङको घोराहीमा बस्छन् । फागुनयता भने उनीहरुको बसाइँ कहिलो घोराही र त कहिले कोहलपुर हुन्छ । कमला आफूहरु घोराहीबाट हरेक दिन सार्वजनिक यातायातमा कोहलपुर पुग्ने गरेको बताउँछिन् । घोराहीबाट राती ३ वर्षको गाडीको यात्रा गरेर उनीहरु कोहलपुरमा दिनभर काफल बेच्छन् । साँझ गाडी मै घोराही फर्किन्छन् ।‘केही दिनलाई पुग्ने काँफल ल्याउछौँ । नसकिदासम्म यतै बस्छौँ,’कमला भन्छिन्,‘ सकिएको दिन घोराही फर्किन्छौ । भोलीपल्ट विहानै गाडीमा आउँछौँ । अनि काफल बेच्छौँ ।’


उनीहरु रोल्पाबाट,घोराही हुँदै कोहलपुरसम्म काफल ल्याएर बेच्छन् । उनीहरुको कोहलपुरमा बेचिरहेको काफल लिवाङका जंगलमा पाइन्छ । त्यहाँका स्थानीय जंगलबाट काफल टिपेर ल्याउँछन् । थापा दम्पति उनीहरुबाट काफल खरिद् गर्छन् । गाडी हुँदै काफल घोराही पुग्छ । त्यहाँबाट कोहलपुर ल्याएर आफूहरुले बेच्ने गरेको कमलाको भनाइ छ ।
उनीहरु काफल प्रति गिलास २५ रुपैयाँ र प्रति कुरुवा १५० रुपैयाँ बिक्रिवितरण गर्दै आएको उनले बताइन् । उनीहरु हरेक दिन तीन ढकियाँ काफल बेच्छन् । दैनिक २ हजारदेखि २५ सय रुपैयाँ सम्म कारोबार हुने गरेको उनले बताइन् । सम्पूर्ण खर्च जोड्दा एक जनाको गरी प्रति १ हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् । ‘टाढाबाट आउनुपर्छ खर्चपनि धेरै छ । खर्च कटाएर भएपनि ठिकै आम्दानी भइरहेको छ । सबैले मन पराउँछन् । कारोबार राम्रो छ । ’ एक महिनामा करिब १ लाख बराबरको करोबार भएको उनीहरु बताउँछन् ।


काफल बेच्ने दम्पतिको संघर्ष कारुणिक छ । हाल उनीहरु घोराहीमा तरकारी व्यवसाय गर्दै आएका छन् । दुई सन्तानका अभिभावक उनीहरु उमेर घरै बसेर नाती नतिना खेलाउने र आराम गर्ने हो । तर, बुढेस कालमा कहिले यता कहिले उता गर्नुपरिरहेको उनीहरु बताउँछन् । भन्छन्,‘जिन्दगीमा सन्तानको खुसीको लागि के पो गरिएन । कहिले उनीहरु आ आफ्नो ठाउँमा छन् । हामी बुढाबुढीलाई बुढेस कालमा यसरी काम गर्नु परेको छ ।’ उनका छोरा स परिवार भारतको सिम्लामा बसोबास गर्दै आएका छन् । उनी त्यहाँ मजदुरी गर्छन् । आफूहरुसँग खास्सै सम्पर्कमा नरहने उनले बताए । छोरीको विवाह भइसक्यो । उनीहरु घोराहीमा व्यवसाय गरेर बसिरहेका छन् ।
उनीहरु लामो समय भारतमा समेत बसेका थिए । श्रीमानको जागिर नहुनु भन्दा पहिला विाहको सुरुवाती वर्षहरुमा आफूहरु भारतमा बसेको उनको भनाइ छ । भारतमा हुँदा पनि तरकारीको व्यापार गर्दै आएको कमला बताउँछिन् । पछि श्रीमान जागिरे भएपछि उनले छोराछोरी यतै हुर्काइन् बढाइन् । रिटायर्ड भएपछि भने यतै बसेको उनले बताइन् । अहिलेपनि उनीहरु व्यवसाय नै गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार