मधु पौडेल । बाँसगढी ।
नेकपा एमाले र माओवादीबीचको सत्ता गठबन्धनमा दरार पैदा भए पनि पश्चिम नेपालको व्यापारिक केन्द्र बाँसगढीमा यी दलसँग आबद्ध उद्योगी व्यवसायीले भने सहकार्यलाई टुटाएका छैनन् ।
पार्टीको मूल राजनीति केन्द्रमा फरक ढंगले गए पनि स्थानीय तहमा व्यापारीको हितका लागि संयुक्तरुपमा जान थालेको नेकपा एमाले र माओवादीले जनाएका छन् ।
यी दुई पार्टीले बाँसगढी उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा अधिवेशनमा चुनावी प्यानल तयार गरेका छन् । नेकपा एमाले आस्थावान् व्यापारीले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव र सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिनेछन् भने माओवादी सम्वद्ध व्यापारीहरुले वाणिज्य उपाध्यक्ष, पर्यटन उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षमा उम्मेदवार दिने बताइएको छ । ११ जना सदस्यमा आठजना नेकपा एमाले र तीनजना माओवादीले लिएको छ । सोहीअनुसार उनीहरुले मंगलबार दुई दलबाट लोकतान्त्रिक समावेशी प्यानल घोषणा गरेका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलबाट नरबहादुर वली अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा शिव देवकोटा, उद्योग उपाध्यक्षमा विष्णुप्रसाद ढकाल, वाणिज्य उपाध्यक्षमा गोविन्दबहादुर हमाल, महिला उपाध्यक्ष विजयाकुमारी शर्मा, महासचिव पदमा विकाश गौतम, सचिवमा प्रेमनारायण पौडेल, कोषाध्यक्षमा शेरबहादुर सुनार र सहकोषाध्यक्षमा गायत्री पौडेलको नाम सार्वजनिक गरिएको छ । पर्यटन उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । उक्त पदमा बाँसगढी नगरपालिका वडा नम्बर १ चेपाङबाट उम्मेदवार हुन पाउने व्यवस्था छ । केही दिनमा उम्मेदवारको टुंगो लाग्ने माओवादी सम्बद्ध व्यापारी भीम केसीले बताए ।
राजनीतिक मुद्दाभन्दा विशुद्ध व्यापारिक हिकहितका लागि साझा ढंगले जान थालिएको उनले बताए । ‘केन्द्रीय राजनीतिमा एउटा स्थिति छ,’ उनले भने, ‘उक्त अवस्था तल्लो तहसम्म हुबहु लागु हुन्छ भन्नु पनि छैन ।’ व्यापारीहरु राजनीतिकरुपमा विभाजित हुनुभन्दा साझा ढंगले अगाडि जान कांग्रेससँग पनि छलफल भइरहेको भन्दै उनले भने, ‘यहाँ एक्लाएक्लै जानु हुँदैन । जसले विकृति ल्याउँछ । साझा ढंगले जानुपर्छ ।’ राजनीतिज्ञभन्दा व्यापारिक क्षमतावान् अहिलेको आवश्यकता भएको उनी बताउँछन् ।
‘हामीलाई यहाँको लगानी बाहिरी जिल्लामा होइन, बाँसगढीमै चाहिएको छ,’ उनी भन्छन्, ‘लोकतान्त्रिक समावेशी प्यानलबाट नरबहादुरजीले यही लगानी गर्नु भएको छ । कयौंलाई रोजगारी दिनु भएको छ । यस्तै सक्षम र योग्य नेतृत्व चाहिएको छ ।’
स्थानीय आवश्यकताअनुसार माओवादीसँग सहकार्य गरेर अगाडि गएको नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार वलीले बताए ।
बाँसगढी उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघसँग जोड्ने, व्यवसायीको समस्या पहिचान गरी समाधान गर्ने, बाँसगढी क्षेत्रमा थप उद्योग तथा व्यापार गर्ने वातावरण सिर्जना गरेर रोजगारी दिने, खुला सीमाका कारण अवैध सामान चोरीपैठारी र झोले व्यापारलाई निराकरण गर्ने, छरिएर रहेका साना तथा ठूला व्यवसायी र किसानबाट उत्पादित सामानको बजारिकरणको ग्यारेन्टीसहित उचित व्यवस्थापन गर्ने र सुन्दर बाँसगढी बनाउन भूमिका निर्वाह गर्ने योजना अध्यक्षका उम्मेदवार वलीले अगाडि सारेका छन् । चैत ४ गते संघको तेस्रो साधारणसभा तथा अधिवेशन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्