नेपालगन्ज ।
नेपालगन्जमा यस वर्ष तीन दिन होली मनाइएको छ । २२ गते पहाडी समुदायले होली मनाए । २३ गते मंगलबार तराई क्षेत्रमा होली मनाउने पञ्चांग निर्णायक समितिको पात्रोमा उल्लेख भए पनि नेपालगन्जमा केही समुदायहरुले भने २४ गते आज बुधबार पनि होली मनाउँदै छन् ।
नेपालगन्जमा वैश्य समाजले २४ गते बुधबार प्रतिपदाका दिन होली मनाउने निर्णय गरेपछि नेपालगन्जमा यस वर्ष तीन दिन होली मनाइने भएको हो ।
होली पर्व बारको आधारमा नभइ तिथिको आधारमा मनाइने भएकोले अवध क्षेत्रका केही समुदायले प्रतिपदाका दिन मनाउन लागिएको बताइएको छ । अवधि संस्कृतिका जानकार सच्चिदानन्द चौवे पनि होली मनाउने दिन पूणर््िामा र प्रतिपदा तिथि रहेको बताउँछन् । ‘अन्योल भएको हामीकहाँ मात्रै हो ।
भारतमा त पहिले नै पण्डितहरुले पूर्णिमा र प्रतिपदाकै दिन होली मनाउने निर्णय गरिसकेका थिए । खासमा होली मनाउने बुधबार नै हो । २२ गते त चतुर्दशी नै थियो । चतुर्दशीमा होइन होली फागु पूर्णिमामा हो मनाउने । अवध क्षेत्रमा चाहिँ पूर्णिमाको दिन होलिका दहन गर्ने र प्रतिपदाको दिन खुसी मनाउने चलन छ,’ चौवेले भने ।
वैश्य समाजका अगुवा नन्दलाल वैश्यले आफूहरुको परम्परामा पूर्णिमाका दिन होलिका दहन गर्ने र प्रतिपदाका दिन रङ र अबिर दलेर मनाउने चलन रहेकोले २४ गते मनाउन लागिएको बताए । अवधि समुदायकै कतिपयले भने मंगलबार बिहान होलिका दहन गरेर मंगलबार दिउसो रङ र अबिर दलेर होली मनाएका छन् । वैश्यले भने पण्डितहरुले प्रतिपदाका दिन नै होली मनाउनुपर्ने राय दिएकोले त्यहीअनुसार आफूहरुले पनि बुधबार होली मनाउन लागेको बताए । मंगलबार बेलुकी भने होलिका दहन गरिएको छ ।
तिथिको अन्योलताका कारण यस वर्ष तराईको होली दुई दिन हुन गएको हो । यो अन्योलता नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधिहरुमा पनि देखियो । मेयर प्रशान्त विष्टले तराईको होली यस वर्ष २४ गते नै मनाउनुपर्ने पण्डितहरुको मत रहेको भन्दै त्यहीअनुसार अभिव्यक्ति दिए । जुन सरकारको आधिकारिक पात्रोविपरीत थियो ।
वडा नम्बर २० ले सार्वजनिक सूचना नै जारी गरेर २३ गते नै होली मनाउन अनुरोध ग¥यो । यसले पनि केही समुदायले मंगलबार नै होली मनाएका छन् भने केहीले आज बुधबार मनाउँदै छन् । आज पनि नारी दिवसको सार्वजनिक बिदाको संयोग जुरेको छ ।
पहाडको होली मनाउने दिन सोमबार नेपालगन्जका सडकमा होलीको उल्लास नदेखिए पनि बुधबार भने घरबारीटोल, त्रिवेणीमोडलगायतका स्थानमा होलीका अवसरमा मानिसहरु भेला भएर रङ र अबिरसहित उल्लास मनाएका थिए । सडकमा अधिकांश युवायुवतीहरु रमाउँदै हिँडेको देख्न सकिन्थ्यो । २२ गते अछामी सेवा समाजले मौलिक देउडा खेलसहित होली मनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्