शुभाकर विश्वकर्मा,कोहलपुर
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय लिलबहादुर घर्ती बाँसबाट बन्ने विभिन्न सामग्री निर्माण गर्छन् । उनले बाँसका विभिन्न सामग्री निर्माण र बिक्रीवितरण गर्न थालेको दशकौं भइसक्यो । ३० वर्ष अघिदेखि सुरु गरेको यो व्यवसाय घर्तीको मौसमी व्यवसाय हो । बाँसबाट बन्ने विभिन्न सामग्री निर्माण, बिक्रीवितरण र जीविकोपार्जन पुख्र्यौली व्यवसाय नै हो । घर्तीले आफ्ना हजुरबाबा र बाबाले पनि यस्तै काम गर्ने गरेको स्मरण गरे ।
‘गरिबीका कारण शिक्षा आर्जन गर्न पाइएन । तीन÷चार कक्षासम्म मात्रै पढियो,’ उनी भन्छन्, ‘नपढेपछि बुबाले गरेको काम सिकियो । अहिले जीविपार्जनको स्रोत भएको छ । वर्षमा ६ महिना कृषि व्यवसाय र ६ महिना बाँसका डालो निर्माण गर्ने घर्तीको काँधमा १० जनाको परिवार पाल्ने जिम्मेवारी छ । उमेरले बुढ्यौली भए पनि आफूमा घरको आर्थिक भार भएको उनले बताए । घरमा आर्थिक जोहो गर्नका लागि सल्यानदेखि कोहलपुरसम्म पुगेको उनको भनाइ छ । ‘डालो घरायसी प्रयोजनका लागि प्रयोग हुन्छ । यो बाँसबाट बन्छ । विभिन्न पर्व तथा मेलामा प्रयोग गर्न मिल्छ । बलियो पनि हुन्छ,’ घर्तीले भने ।
डालो हातले बुन्ने गरिन्छ । एकदिनमा न्यूनतम् सातवटासम्म बुन्न सकिन्छ । प्रतिडालोको मुख्य दुई सय ५० रुपैयाँ पर्ने उनको भनाइ छ । आफ्ना उत्पादन सल्यानलगायतका छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको उनी बताउँछन् । आम्दानीका हिसाबमा पनि नाफामूलक रहेको उनले बताए । कपुरकोटको पहिचानका रुपमा डालो बिक्रीबाट उनले आफ्नो परिवारको खर्च धान्दै आएका छन् । विगत एकसातायता घर्ती बाँके जिल्लाका विभिन्न क्षेत्रमा डालो बिक्री गरिरहेका छन् । कोहलपुरमा भेटिएका घर्ती एक्लै छैनन् । उनका सहकर्मी छन्, कपुरकोटमै ४३ वर्षीय दिलाराम बुढा ।
उनी पनि मौसमीरुपमा डालो निर्माण र बिक्रीवितरण गर्ने काम गर्छन् । उनका अनुसार लामो समयदेखि डालो बेच्नकै लागि हरेक वर्ष सल्यानदेखि बाँकेसम्म आउने गरेका छन् । हरेक वर्षजस्तो यो वर्ष पनि बाँकेमा आएको उनले बताए । उनी भन्छन्, ‘गाउँतिर राम्रो माग छ । अधिकांश त्यहाँ बेच्ने गर्छौं । तर, बाँके पनि ठूलो क्षेत्र भएकाले सजिलै बिक्री हुन्छ । खास्सै समस्या हुँदैन ।’ हरेक दिन न्यूनत्म ५० वटा बिक्री हुन्छन् । दिनभरि राम्रै कमाइ हुन्छ । हरेक दिन नयाँनयाँ ठाउँमा बिक्रीका लागि जाने गरेको उनले बताए । अहिलेसम्म बाँकेका बैजनाथ, कोहलपुर, राप्तीसोनारीलगायतका विभिन्न क्षेत्रमा उनीहरुले डालो बिक्री गरिसकेका छन् । यस्तै नेपालगन्जसमेत जाने योजना रहेको उनले बताए । धेरै ठाउँमा उनीहरुका उत्पादनका माग हुने गरेका छन् ।
अहिलेसम्मको व्यवसाय उत्साहजनकरुपमा भइरहेको छ । बुढाले भने, ‘हामी यसको मौसमी व्यवसाय गर्छौं । अब तरकारी खेती सुरु भयो । अब तरकारी व्यवसाय सुरु हुन्छ । चिसोमा बाहिर जान सकिँदैन । घर मै बुन्नछौँ । अनि बेच्छौं ।’ घर्ती र बुढाले सल्यानबाट बाँके आउँदा एक हजार पाँच सयभन्दा बढी डालोहरु ल्याएका थिए । अहिलेसम्म एक हजारभन्दा धेरै बिक्री भइसकेको छ । अब पाँच सयवटा पीस बाँकी रहेको उनले बताए । स्थानीय स्तरमा कहिले अध्यधिक माग हुँदा अन्यन्त्रबाट खरिद गरेरसमेत बिक्री गर्ने गरेको उनले सुनाए । प्रतिडालो दुई सय ५० रुपैयाँ मूल्य पर्ने उनीहरुको बताए । जिल्लाभन्दा बाहिर आउँदा भने तीन सयमा बिक्री हुने गरेको छ ।
कपुरकोटमा डालो बुनेरै जीविकोपार्जन गर्नेहरु धेरै रहेको घर्तीले बताए । उनका अनुसार धेरैजना रोजगारको खोजीका लागि कोही विदेश त कोही कालापहाड जान्छन् । सीप सिके गाउँमै मनग्य आम्दानी गर्न सकिने उनले बताए । ‘अहिलेसम्म हामीले व्यक्तिगतरुपमा परम्परागत डालो संरक्षणको काम गरिरहेका छौं । यो हाम्रो पेसा संरक्षणको खाँचो छ । यसमा स्थानीय सरकारले हेरिदिएको भए हाम्रो हुनेथियो,’ उनी भन्छन् ।
प्रतिक्रिया दिनुहोस्