‘सीमावर्ती क्षेत्रको उद्योग व्यवसाय तस्करी र अवैध आयातका कारण धरासायी भएको छ,’ उनले भने, ‘सरकारी निकायले नाकाहरुमा कडाइ नगर्दा देनिक पाँच देखि १० करोडको तस्करी भइहरेकाले स्थानीय उत्पादन र व्यापारले बजार पाएको छैन ।’
नेपालगन्ज (बाँके) ।
उद्योगी व्यवसायीहरूले सरकारको मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्र अलमलमा परेको बताएका छन् । आयात रोक्ने, बैंकले कर्जा प्रवाह गर्न नसक्ने तर सरकारी खर्चमा कटौती नहुने प्रवृत्ति र चर्काे ब्याजले अहिलेको अर्थतन्त्र गम्भीर मोड आइपुगेको उनीहरुको भनाइ छ ।
सरकारको मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्र सुधार नभएको व्यवसायीको भनाइ छ ।
अर्थतन्त्रमा गिरावट आएको झन्डै एक वर्ष पुग्न लागिसकेको छ । सरकारको अनेकौं प्रयासका बाबजुद पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आउन सकेको छैन । संकटग्रस्त अर्थतन्त्र बचाउन सरकार लचिलो हुनैपर्ने र उसले आफ्नो खर्चको ठूलो अंश घटाइ निर्यात क्षेत्रलाई जोड दिएर दिगो आर्थिक विकासको आधार तय गर्नुपर्ने उद्योगी व्यवसायी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएको भन्दै त्यसलाई तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । नेपालगन्ज उद्योग वाणिज्य संघको ३१औँ साधारणसभाको शनिबार नेपालगन्जमा उद्घाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याज, लगानीको अवस्था र खस्किँदै गएको व्यापार, व्यवसायका कारण निजी क्षेत्र धराशायी बनेको उनको भनाइ छ ।
उनले आर्थिक क्षेत्रमा यति ठूलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडि सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिए । देशको आर्थिक अवस्थाका बारेमा पटकपटक सरकारको ध्यानाकर्षण गराइए पनि ठोस कदम नचालिएको गुनासो गर्दै उनले भने, ‘देशभरिबाटै उद्योगी व्यवसायीले दिनदिनै आफ्नो पीडा र दुःख व्यक्त गर्नु भएको छ ।’ यति धेरै प्रतिकूल अवस्थामा पनि देशका उद्योगी व्यवसायीले निरन्तर उद्योग व्यवसाय सञ्चालन गर्दै आएकोमा उनले उक्त कार्यको प्रशंसा गरे ।
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री दुर्गाप्रसाद चौधरी र भण्डारीलाल यादवले प्रदेश सरकारले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्ने योजना बनाइरहेको बताए । उनहरुले आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको पनि प्रष्ट पारे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले सीमावर्ती क्षेत्रको उद्योग व्यवसाय तस्करी र अवैध आयातका कारण धरासायी भएको बताए ।
उनले सरकारी निकायले नाकाहरुमा कडाइ नगर्दा देनिक पाँच देखि १० करोडको तस्करी भइहरेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको गुनासो गरे । नाकामा कडाइ नगरिएमा एकएक गरेर उद्योगी व्यवसायी पलायन हुँदै जाने र यो क्षेत्र ठूलो आर्थिक संकटमा फस्ने उनको भनाइ छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कन्हैयालाल टण्डन, कृष्णप्रसाद श्रेष्ठ, संघका महासचिव चिरञ्जीवि ओलीलगायत अधिकांश उद्योगी व्यापारीका अगुवाहरुले बैंक र सरकारी नीतिकै कारण आर्थिक अवस्था जर्जर हुँदै गएकोले निजी क्षेत्रको सुझावअनुसार तत्काल सुधारका कामहरु सुरु गर्नु पर्नेमा जोड दिए ।
‘बैंकहरूले आधारदर बढेको भन्दै हामी ऋणीसँग लिने ब्याजमा प्रिमियम पनि बढाइरहेका छन्,’ व्यापारी विमल ढकालले भने, ‘व्यापारीले कहिलेसम्म बैंकको ब्यादको भारी थपी रहने ।’ उनले जमुनाहस्थित सीमा क्षेत्रबाट भइरहेको तस्करीले पनि नेपालगन्जका व्यापारीले ठूलो घाटा व्यहोर्नु पर्ने बताए । ‘आन्तरिक राजस्व कार्यालयले पनि मुहान (सीमा) मा फोहोर बढाइरहेको छ,’ उनी भन्छन्, ‘मुहानमा फोहोर गर्ने अनि पानी सफा खोज्ने ।’ यो भने सीमा क्षेत्रमा दैनिक तस्करी भइरहेको छ । यसमा नियामक निकायको पनि संलग्नता छ । आफ्नै संलग्नतामा तस्करी हुँदा तस्करी न्यूनीकरण गर्छु भन्नु राम्रो हुँदैन ।
अर्थ अवस्था कमजोर अवस्थामा पुगेको भन्दै नाटाका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यतिबेला कर्जा लिएर कारोबार गरिरहेका व्यापारीहरु दोहोरो मारमा परिरहेका छन् ।’ बैंकहरुले बढाएको ब्याजदरमाथि सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ । ‘यस्तो अवस्थामा राज्यले हस्तक्षेप गरेर समस्या समाधान गर्न लाग्नुपर्छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने, ‘यसलाई नियन्त्रण गर्न सकिएन भने हिजो श्रीलंकमा जस्तो अवस्था सिर्जना भएको थियो यहाँ पनि त्यही अवस्था सिर्जना हुन्छ ।’
निजी क्षेत्रले अहिलेको कमजोर अर्थतन्त्रलाई माथि उकास्न सरकारसँग सहकार्य गर्न आवश्यक रहेको नेपालगन्ज पानी उद्योगका अध्यक्ष दिनेश श्रेष्ठले बताए । मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘अहिलेको अवस्थामा व्यावारी गर्न गाह्रो छ । व्यापारीहरु व्याजदरको मारमा परेका छन् । सात प्रतिशतबाट ब्याज बढेर १७/१८ प्रतिशतसम्म पुग्यो । यो खटाउनु पर्छ ।’
देशको अर्थतन्त्रमा सबैभन्दा महŒवपूर्ण क्षेत्र उद्योग व्यवसाय हो । तर, राज्यको राजस्व असुलीको मूल क्षेत्र नै दिनानुदिन धराशायी बन्दै गएको उद्योगी व्यापारीहरुको भनाइ छ । देशमा उद्योगी तथा व्यवसायीमैत्री वातावरण नहुनुको कारण अर्बौं लगानी गरी उद्योग व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी व्यवसायीहरू पलायनतर्फ उन्मुख भइरहेको उनीहरु बताउँछन् ।
‘व्यवसायीहरूले आफ्नो सम्पूर्ण जायजेथा बैंकलाई बुझाएर ऋण गरी उद्योग व्यापार सञ्चालन गरेका छन्,’ शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको १३औँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले भने, ‘विभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण व्यापार व्यवसायले गति लिन नसक्दा बैंक ब्याज तथा घरभाडासमेत तिर्न नसकेको अवस्था छ ।
फितलो राज्य संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नुपरेको छ । यसैगरी नेपाल राष्ट्र बैंकको विभेदपूर्ण मौद्रिक नीतिका कारण उद्योगी व्यवसायीहरू जीवनमरणको बिन्दुमा पुगेको प्रशस्त उदाहरणहरू छन् । बैंक तथा वित्तीय संस्थामैत्री नीति बन्ने तर व्यवसायीहरूलाई भने घेराबन्दी गर्ने नीतिको उपज यी समस्याहरू देखिएका हुन् ।’
साथै उक्त अवसरमा गंगा रोजीन टरपेनटाइनलाई उत्कृष्ट निर्यातकर्ता, बाहुबली ग्लोबल हर्बललाई तेस्रो देशमा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, निरु चौधरीलाई उत्कृष्ट महिला उद्यमी, टण्डन प्लास्टिक उद्योगलाई उत्कृष्ट उद्योग र उत्कष्ट आर्थिक पत्रकारका रुपमा गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई सम्मान गरिएको छ ।
व्यवसायीलाई सहुलियत दिनुपर्छ
अब्दुल वाहीद मन्सुरी
अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ
यतिबेला बैंकले व्यापारीको थाप्लोमा चर्काे ब्याज थुपारेका छन् । आठ प्रतिशतबाट बढाएर १८ प्रतिशतसम्म बैंकले ब्याज बढाएका छन् । यही अवस्था रही रहने हो भने उद्योग पसलहरु बन्द हुने अवस्था छ । व्यापारीले तनाव लिनुपर्ने, अनावश्यक समस्या झेल्नुपर्ने, आत्मदाह गर्नुपर्नेलगायतका समस्या आउन सक्छन् । सरकारी नीति परिवर्तन हुन सकेन भने सबै व्यवसायी पलायन हुनुपर्ने अवस्था हुन सक्छ ।
उद्योगीलाई सहुलियत नहुँदा आर्थिक उन्नती हुन सक्दैन । व्यवसाय बलियो नभए अर्थतन्त्र बलियो हुँदैन । उद्योगलाई पाँच र व्यवसायीलाई सात प्रतिशतसम्ममा ऋण उपलब्ध गराउनुपर्छ ।
अर्काे कुरा, नेपाल–भारत सीमा क्षेत्र जमुनाह व्यवस्थित छैन । व्यवस्थित नहुँदा दैनिक तस्करी भइरहेको छ । मुख्य नाकाबाटै दैनिक पाँचदेखि १० करोड रुपैयाँसम्मको माल तस्करी हुन्छ । सरकार कहाँ छ । भन्सारबाट छुटाउने र धम्बोझीबाट समात्ने काम बन्द गर्नुपर्छ । सीमा क्षेत्रको बेथिति अन्त्य गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्