भूइँमान्छेको कथा : भैँसीपालक पूर्वप्रहरी छत्रपाल



वीरेन्द्र जैसी : वरिपरि ठाउँठाउँमा गहुँ र तोरी खेती गरिएको जमिन छ । सडक छेउमा केही खेतका गह्राहरु बाँझा छन् । जमिन सुख्खाले चर्किएर मुख बाइरहेको छ । मानौं जमिन मुख बाएर पानीको भिख मागिरहेको छ । त्यही सुख्खा खेतमा र सडकको किनारमा करिब एक दर्जन भैँसीहरु घाँस खोज्दै मुख जोतिरहेका छन् । तीनजना गोठाला नजिकै खेतको आलीमा बसेर गफिइरहेका थिए । तीनैमध्येका एक थिए, बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बञ्जारे गाउँका छत्रपाल यादव ।


छत्रपाल पूर्व प्रहरी जवान हुन् । २०६१ सालमा प्रहरी सेवामा प्रवेश गरेका यादव अहिले दिउसोको समयमा यसैगरी भैँसी गोठालोमा भेटिन्छन् । बिहान साँझ भैँसीको भकारो सोहोरिरहेका, भैँसी दुहीरहेका, पीडो पराल दिइरहेका भेटिन्छन् । छोराले दूध पु¥याउन बजार जान नपाएको दिन साइकलमा दूधको क्यान भिरेर घरघर पुगेर दूध बेचिरहेका पनि भेटिन्छन् । हुन त उनको पुख्र्याैली पेसा भैँसी पाल्ने नै हो । तर, उनले प्रहरी सेवामा प्रवेश गर्ने अवसर पाएका थिए । १२ वर्ष सेवा पनि गरे । तर, माथिल्लो तहमा बढुवा हुनै लागेका बेला उनमा उच्च रक्तचापको समस्या देखिन थाल्यो । उनले सकीनसकी सेवामा टिकीरहने प्रयास गरे । अन्ततः परिवारको सल्लाहमा ‘पैसाभन्दा ज्यान ठूलो’ भन्ने निष्कर्षमा उनी पुगे र २०६३ सालमा प्रहरीको जागिरबाट बिदा भए ।


प्रहरीको जागिर छोडेपछि छत्रपालले आफ्ना पिताले गर्दै आएको भैँसीपालन र कृषिको जिम्मेवारी सम्हाले । अहिलेको कामले उनको स्वास्थ्यलाई सुधार भने गरेको छ । भन्छन्, ‘प्रहरीमा एक तह बढुवामात्रै भए पनि बढुवा भएर बिदा हुन्छु भन्ने थियो । तर, स्वास्थ्यले साथ दिएन । अहिले यी भैँसीको पछाडि दगुर्छुँ । स्वास्थ्य पनि सुधार भएको छ ।’ छत्रपालका बुवाले पनि आफ्ना बुवाले भैँसी नै पाल्ने गरेको कथा सुनाउँछन् । त्यतिबेला त एकैजनाका ४०, ४५ वटा भैँसी हुन्थे रे । भैँसीको दूधबाट घ्यु बनाउनका लागि मात्रै मोही पारिन्थ्यो रे । ‘मोही त गाईभैँसीलाई नै खुवाइन्थ्यो रे । कति खानु । दूध र दही खाएरै सकन्नथ्यो । मोही कसले खान्छ । गाईभैँसीलाई खुवाइदिन्थे रे,’ छत्रपालले भने ।

त्यतिबेला घ्यु बनाएर बजारमा बेच्ने र त्यसैबाट आर्थिक जोहो गर्नेगरी जीवन निर्वाह गर्ने गरिएको उनले बताए । ‘त्यतिबेला भैँसी पाल्न पनि सजिलो थियो,’ छत्रपालसँगै भैँसी चराउन आएका आलम हुसैनले भने, ‘अहिलेको जस्तो खेतै खेत र घरै घर कहाँ थिए र ?’ हुसैनले हातको लौरोले देखाउँदै भने, ‘उ त्यो ढिस्कोभन्दा उता त पूरै जंगल थियो । भैँसी जति चराए पनि हुन्थ्यो । घाँस प्रशस्तै पाइन्थ्यो । अहिले त भैँसी चराउने भनेको यी यही सडकको किनार हो । अनि यस्तै कसैले बाँझो जमिन छोडेको छ भने चराउने हो ।’

उनीहरुले भैँसी चराइरहेको जमिन पनि उनीहरुको थिएन । छत्रपालले आफ्नो करिब दुई बिघा जमिन रहेको र त्यसमा खेतीपाती लगाइएको जानकारी दिए । त्यही जमिनको उत्पादनले खाद्यान्न र भैँसीलाई लागि भुस्सा–परालको जोहो गर्छन् उनीहरु । छत्रपालको भैँसीले एक छाकमा करिब ६ लिटर दूध दिन्छ । कहिले छोराले त कहिले आफूले लगेर दूध बजारमा घरघरै गएर बेच्ने गरेका छन् उनले । डेरीमा नबेचेर सिधै घरघरमा किन बेच्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘डेरीले भन्दा घरघरै बेच्दा हामीले क्वालिटीअनुसारको मूल्य पाउँछौँ । डेरीमा जति राम्रो दूध लगे पनि रेट एउटै हुन्छ । घरघरमा लिएर बेच्दा राम्रो दूध दिन्छौँ भनेपछि राम्रो मूल्य पनि दिन्छन् ।’

यसरी घरघरै दुध पु¥याएर बेच्न सहज लागे पनि कतिपयले दूध खाइदिने र पैसा दिँदाका बखत हप्काएर पठाइदिने गरेको पनि उनले सुनाए । ‘जो अलि माडे हुँ भन्छन् नि उनीहरुले नै पैसामा ठग्छन् । पैसा दिँदा हप्काएर पठाउँछन्,’ उनले भने, ‘कहिलेकाहिँ त पैसा नै उठ्दैन ।’ छत्रपालको बुवादेखि उनको पालाम आइपुग्दा गाउँमा भैँसी पाल्नेहरुको संख्या घटेको छ । एकजना किसानले पाल्ने भैँसीको संख्या त झन् ह्वात्तै घटेको छ । ‘अहिले एउटा किसानसँग बढीमा ६, ७ भैँसी होलान्,’ ४५ वर्षीय छत्रपालले भने, ‘हामीभन्दा पछिको पुस्ताले त भैँसी पाल्ला जस्तो लाग्दैन ।

सबै नोकरी कि त व्यापारतिर लाग्छन् होला ।’ यद्धपि उनी यही व्यवसायलाई उन्नत र व्यवस्थित बनाउने हो भने नयाँ पुस्तालाई पनि कृषिमै टिकाएर गाउँको आत्मनिर्भरता जोगाउन सकिने उनको धारणा छ । तर, स्थानीय सरकारले भैँसीपालनलाई आधुनिक र व्यवस्थित बनाउने काममा अत्यन्त न्यून लगानी गरेको छ । त्यसको लाभ पनि गाउँका एकाध व्यक्तिले मात्रै लिन पाएका छन् । बञ्जारे करिब दर्जनबढी किसानहरुले अहिले पनि भैँसीपालनलाई मुख्य पेसाकै रुपमा अपनाइहेका छन् । तर त्यसको आधुनिकीकरण र व्यवसायीकरण हुन सकेको छैन ।

छत्रपालको गाउँमा अहिले पढाइमा छोरा छोरी दुवैलाई प्राथमिकता दिन थालिएको छ । केहीले राम्रो पढाइ पनि गरिरहेका छन् । छत्रपाल भन्छन्, ‘पढाइ पनि खाली पढ्नेमात्रै अन्तमा विदेश जानुपुर्ने भयो भने काम छैन । कमसेकम पढिसकेपछि केही न केही गरिखान सक्ने बनाउनुपर्छ । यही भैँसीपालन नै सही हाम्रोभन्दा राम्रो तरिकाले गर्नसके भने पनि ठूलो कुरा हो ।’

प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार