‘नौवस्ता सञ्चालनमा राजनीतिक सहमति आवश्यक’



शुभाकर विश्वकर्मा,कोहलपुर

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले बैजनाथस्थित नौवस्ता औद्योगिक क्षेत्र सुरु गर्न राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् । पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा रहेको नौवस्ता औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको उनले बताए ।

कोहलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र प्रभावकारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले आफ्नो प्रक्रिया अघि बढाइरहेको भन्दै स्थानीय राजनीतिक दलहरुबीच इच्छाशक्ति हुनुपर्ने धारणा व्यक्त गरे । हाल सुकुम्बासीले वर्षौंदेखि प्रयोग गरिरहेको जग्गा उनीहरूलाई नै भोगचलन गर्न दिएर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने मन्त्री भण्डारीको भनाइ छ । नौवस्ता सञ्चालन गर्न सबैले प्रण गर्नुपर्ने भन्दै उनले भने, ‘राजनीतिक दलसँग इच्छाशक्ति छ । तपाईंहरु सहमत हुनुहुन्छ भने समस्या कहाँ छ आजै बसेर छलफल गरौँ ।’

सरकारले डीपीआरसहित अन्य सबै काम गरिसकेको र बर्सेनि बजेट विनियोजन गर्दैै आइरहेको भन्दै समस्या राजनीतिक सहमतिको अभाव रहेको मन्त्री भण्डारीको भनाइ छ । नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा रहेको पनि उनले बताए । नौवस्ता सरकारी लगानी रहेका नेपालका सात औद्योगिक क्षेत्रमध्ये एक हो । उनले नौवस्ता सञ्चालन भएपछि पश्चिम क्षेत्रमा रोजगारीको अवसर पनि सिर्जना हुने बताए ।

उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले नौवस्ता औद्योगिक क्षेत्र सञ्चाल नहुँदा व्यवसायी मारमा गरेको बताए । पश्चिम क्षेत्र कै ठूलो आयोजनाको रुपमा रहेको नौवस्ता सञ्चालनमा विलम्भ हुनु दुःखद् भएको उनको भनाइ छ । नौवस्तामा व्यवसायका लागि संघ १३ वटा सिफारिस गरिएको भए पनि के भइरहेको छ भन्ने नै जानकारी नभएको अध्यक्ष पौडेलको भनाइ छ । ‘नौवस्तामा राजनीति भइरहेको छ । त्यसले व्यवसायलाई मार परेको छ । छिटो सञ्चालन गरौँ,’ उनले भने, ‘अहिले हामीले स्थानीय उत्पादन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिरहेका छौँ । व्यवसायीहरु अपेक्षा गरेअनुसार आउनु भएको छ । आर्थिक मन्दीका कारण समस्या छ ।’

मन्त्रीसामु व्यवसायीको दुखेसो

स्थानीय उत्पादनको बजारीकरण, बहुआयमिक भवन निर्माणका लागि आयोजित लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरको सन्दर्भमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री र व्यवसायीबीच अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियाको क्रममा राज्यको अर्थतन्त्र धान्ने निजी क्षेत्रलाई सरकारले बेवास्ता गरेको दुःखेसो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रप्रसाद अधिकारीले बैंकहरुको ज्याजति र सरकारको बेवास्ताका कारण व्यवसायी जीवनमरणको अवस्थामा पुगेको बताए । बैंकहरुको ब्याजदर आतंकका कारण व्यवसाय क्षेत्र पिल्सिएको उनको भनाइ छ ।

राज्यको गलत नीतिका कारण व्यवसायी दुब्लाउने र बैंकहरु मोटाउने अवस्थाको अन्त्य हुनुपर्ने केन्द्रीय सदस्य अधिकारीले सरकारसँग माग गरेका थिए । ‘लामो समयदेखि चर्को ब्याज तिरिरहेका छौँ । व्यवसाय धरापमा छ । अब ब्याज पनि तिर्न नसक्ने अवस्था सिर्जना भइसक्यो । व्यवसायीहरु पलायन भइरहेका छन्,’ अधिकारीले भने, ‘अबको ६ महिनापछि ब्याज तिर्न सक्ने अवस्थामा हामी छैनौं ।  व्यवसायीहरु मर्ने अवस्थामा छ । हामी पनि मर्ने लाइनमा छौँ ।’ यस्तै केएल दुगड ग्रुप नेपालगन्जका सिइओ प्रदीप छाजेडले सरकारले व्यवसायीहरुका समस्या समाधानमा ध्यान नदिँदा आर्थिक क्षेत्र संकटमा परेको बताए । उनका अनुसार सरकारले समयमै ब्याजदर नियन्त्रण, खाद्यान्न पूर्ति र पूर्वाधार विकासलाई मजबुत नबनाए नेपालको अर्थतन्त्र थप धरासायी बन्ने स्थितिको अन्त्य हुनुपर्ने माग गरे । अर्को व्यवसायी ज्ञानेन्द्र खनालका अनुसार आर्थिक मन्दीका कारण व्यवसाय क्षेत्रमा व्यापक रोजगारी गुमेको छ । व्यवसायीहरुको अवस्था दयनीय भएको भन्दै उनले राज्यद्वारा गरिएको शोषणको अन्त्य गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।

यातायात व्यवसायी मनप्रसाद आचार्यले सरकारले व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताए । आर्थिक मन्दी, बैंकहरुको चर्को ब्याजदरका कारण यातायात व्यवसायीसमेत मारमा परेको उनको भनाइ छ । मन्त्री भण्डारीले व्यवसायीहरुको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै नीतिगत सुधारमा आफ्नो ध्यान रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७९ फागुन १० गते बुधबार