बालशिक्षाको जग्गा अतिक्रमण प्रकरण : अझै फिर्ता भएन अतिक्रमित जग्गा



शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुर–१३ स्थित बालशिक्षा माध्यमिक विद्यालय भरैयाको अतिक्रमित जग्गा अझै फिर्ता भएको छैन । १७ वर्षदेखि अतिक्रमणको अपेटामा परेको उक्त जग्गा अझै फिर्ता हुन नसकेको हो ।
विद्यालय प्रशासनले लामो समयदेखि अतिक्रमित जग्गा फिर्ताको लागि प्रयास गर्दै आएको छ । तर, सरोकावालाको उदासिनताका कारण अतिक्रमित जग्गा फिर्ता हुन सकेको छैन । विद्यालयको साढे दुई बिगाह जग्गामा व्यक्तिहरुले भोगचलन गर्दै आएका छन् । विद्यालय स्थापना हुँदा विद्यालयको नाममा रहेको जमिनको क्षेत्रफल चार बिगाह थियो । उक्त जग्गामा ५० जनाभन्दा बढी घरपरिवारले खेतीपाती गर्नुका साथै घरसमेत निर्माण गरेका छन् । वडाध्यक्षसहितका सर्वसाधारणले भौतिक संरचना बनाएका छन् ।


विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्री अतिक्रमित विद्यालयको जग्गा फिर्ता गराउने प्रयास जारी रहेको बताउँछन् । यहाँका समुदाय, भोग चलन गरिरहेका व्यक्ति, राजनीतिक दल तथा वडा कार्यालयले समेत जग्गा फिर्तामा चासो नदेखाएपछि विद्यालयले स्थानीय सरकार गुहारेको थियो । स्थानीय सरकारले पनि अपेक्षाकृतरुपमा चासो दिएको छैन ।

‘मैले बारम्बार मौखिकरुपमा अनुरोध गरेँ । प्रमाणसहित फाइलसमेत बुझाएँ । औपचारिकका लागि केही बैठक बसाल्नुबाहेक अन्य सहयोग स्थानीय सरकारबाट भएन,’ उनी गुनासो गर्छन् । विद्यालयको तर्फबाट पटकपटक समुदायसँग छलफल पनि भएको भन्दै उनले भने, ‘छलफल हुने गरे पनि समस्याको समाधान हुन सकेको छैन ।’ खत्री प्रधानाध्यापक भएर आएपछि तीन÷चारपटक छलफल भएको छ । अहिलेसम्म जग्गा फिर्ताको प्रक्रिया नै अघि नबढेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार पुनका अनुसार वर्षौंदेखि जग्गा अतिक्रमणमा परेका कारण पठनपाठनमा समस्या भइरहेको छ । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आइसकेपछि सरोकारवाला निकायसँग समन्वय गरिरहेको उनले बताए । अतिक्रमित जग्गाकै विषयमा विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ, समुदाय, वडा र नगरपालिकासहित संयुक्त बैठक राखेर छलफल गर्ने योजना रहेको उनले बताए । ‘यस विषयमा छलफल भएको छ । पछाडिको बस्ती हटाउनुपर्ने कुरा छ । निष्कर्षमा पुगेको छैन । प्रयास जारी छ,’ उनले भने ।

२०५० सालमा (१–५) सम्मको अध्यापन अनुमति विद्यालयले पाएको थियो । २०५१ सालदेखि स्थायी स्वीकृत भइ अनवरतरुपमा सञ्चालन हुँदै आएको छ । जग्गा किचलो कै सम्बन्धमा २०६२ असार १६ गते विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाको अध्यक्षतामा बसेको जग्गासम्बन्धी किचलोको विषयमा छलफल गरी गरिएको निर्णयमा भनिएको छ, ‘विद्यालयले स्थापनाकालदेखि हालसम्म पूर्व सिराहा गाउँ, पश्चिम रोहिणी खोला, उत्तरतर्फ सिराहा गाउँ र दक्षिण दुई खोला दोभान तथा जंगलतिर चार किल्लाभित्रको अन्दाजी ४–०–० भित्र चलन गरी आएको छ ।’

विद्यालयको नाममा रहेको जग्गा भोगचलन गर्नेमध्येका एक हुन्, वडानम्बर १३ का वडाध्यक्ष डम्मरबहादुर खड्का । उनी मात्रै होइन खड्काका अरु चार भाइले पनि यहाँको जग्गा उपभोग गर्दै आएका छन् । जग्गा फिर्ता नभएको विषयमा मिसन टुडे दैनिकले टेलिफोनमा जिज्ञासा राख्दा वडाध्यक्ष खड्का भन्छन्, ‘वडाले सहयोग गरिरहेकै छ । यो विषय सार्वजनिक सुनुवाइमा समेत उठेको छ । यहाँका बासिन्दाले समेत कुरा उठाएका छन् । वडाले गर्ने काम गरिरहेको छ । नगरपालिकामा समेत विषय प्रवेश गरिसकेको छ । मेयर’साबले तत्काल व्यवस्थापन गर्न सकिँदैन । समयअनुसार गर्नुपर्छ भन्नु भएको छ । समय तोक्नु भएको छैन । तत्काल हुँदै भन्नुभाछ ।’

 

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार