वीरेन्द्र जैसी,नेपालगन्ज
नेपालगन्ज–१ की अञ्जनी चौधरी एक वर्ष अघिसम्म गृहणी थिइन् । उनको परिचय घरको चौघेराभन्दा बाहिर जान सकेको थिएन । अहिले उनी एक उद्यमीका रुपमा परिचित छन् । त्यसमा पनि उनको उद्यम अरु उद्यमभन्दा नयाँ छ । उनी थाकलको चोयाबाट निर्मित विभिन्न किसिमका साधन निर्माण गर्ने उद्यमीका रुपमा परिचित हुन थालेकी छन् । उनले उद्यमीका रुपमा नेपालगन्जदेखि कठमाडांैसम्म प्रदर्शनीमा भाग लिइसकेकी छन् ।
अञ्जनी गृहणी भएर मात्रै समय बिताइरहेकी थिइनन् । घरको कामसँगै उनले हस्तकलाका सामानहरु पनि बनाउँदै आएकी थिइन् । काँसका चोयाबाट भनेका पर्स, लेडिज ब्याग, हसजावटका सामान बनाएर उनले खाली समयको सदुपयोग गर्दै आएकी थिइन् । त्यहीबीचमा उनले काठमाडौं बस्ने एकजना आफन्तबाट थाकलका चोयाबाट पनि सामान बन्छन् भन्ने थाहा पाइन् । उनकी आफन्तले एक पर्स देखाउँदै उनलाई ‘तिमीले पनि यस्तो बनाउन सक्र्छा कि विचार गर न’ भनेर भनेकी थिइन् । त्यसपछि अञ्जनीलाई थाकलका सामानबारे चासो लाग्न थाल्यो । आफन्तले दिएको थाकलको पर्स उधारिन् । त्यसको बुनाइ कस्तो छ भनेर अध्ययन गरिन् । त्यसपछि उनलाई आफूले पनि त्यस्तो सामान बनाउन सक्छु भन्ने लाग्न थाल्यो । उनले युट्युबाट पनि त्यससम्बन्धी सीपहरु अध्ययन गर्न थालिन् । यसबारे थप जान्नुपर्छ भन्ने लागेपछि उनले एक संस्थासँग तालिमका लागि माग गरिन् । संस्थाले तालिम दिने भयो । तर, खानेबस्ने आफन्तकोमा व्यवस्था मिलाएर अञ्जनीले काठमाडौं गएर तालिम लिएर फर्किइन् ।
त्यसपछि उनले आफ्नो माइती जिल्ला दाङबाट थाकलका चोयाहरु मगाउन थालिन् । घरमै सामान बनाउन थालिन् । सुरुमा सामान्यखाले पर्सहरु मात्रै बनाउन सकेकी थिइन् । त्यहीबीचमा नेपालगन्जमा महिला उद्यमीहरुको मेला लागेको छ भन्ने थाहा पाइन् । सामानहरु बनाउन थालेको केही महिनामात्रै भएको थियो । मेलामा सामान राखेपछि व्यापार परिचित हुन्छ भन्ने लागेपछि उनले मेला चलिसकेको दुई दिनपछि मात्रै संकोच मानीमानी सामान लिएर गइन् । एक कुनामा टेबल लगाएर बसेकी उनका सामानले धेरैको ध्यान खिचे । धेरैले उनको सीपको तारिफ गरे । कतिले त थाकल भनेको के हो भन्ने चिनेकै रहेनछन् । कतिले थाकलबाट पनि यस्तो सामान बन्छ भन्ने थाहा पाएपछि आश्चर्य प्रकट गरे ।
त्यही मेलाको आयोजक महिला उद्यमी संघले उनलाई व्यवसायलाई अघि बढाउ आवश्यक प्रक्रियाहरुका बारेमा जानकारी दियो । महिला उद्यमी संघको सहजीकरणमै उनले आफ्नो व्यवसायको फर्म दर्ता गराइन्, ‘उपहार हस्तकला’को नाममा । त्यसपछि उनले उत्पादनहरुको विविधिकरण गर्न थालिन् । विभिन्नखाले पर्स, ह्याण्डब्याग, साइड ब्याग, साजवटमा प्रयोग गर्न मिल्ने टोकरी, टोपीलगायतका साधनहरु पनि उनले बनाउन थालिन् । उनले अहिले काँस र थाकलबाट बनेका यी सामानहरु बनाएर बजारीकरण गरिरहेकी छन् । आफ्नो टोलमा आमा समूह गठन गरेर उनीहरुलाई पनि आफ्नो सीम हस्तान्तरण गरेकी छन् । सबैले बनाएका सामानहरु जम्मा गरेर बजारसम्म पु¥याउने जिम्मा पनि उनले लिन्छिन् ।
नेपालगन्जको कोसेली घरबाट पनि उनका सामानहरु बिक्री हुन्छन् । सभा समारोहमा संघसंस्थाहरु उपहार दिनुपर्दा उनकै समानहरु माग गर्न थालेका छन् । ‘काठमाडौंमा यसको माग बढी छ । कहिलेकाहिँ मागेको बनाएर दिन सकिँदैन । अब बिस्तारै बनाउने मान्छेहरु बढेपछि सजिलो होला । नेपालगन्जमा पनि अब यी समानहरु बिक्ने क्रम बढ्छ भन्ने लागेको छ,’ अञ्जनीले भनिन् ।
अञ्जनी यसबीचमा विभिन्न संस्थाहरुको बोलावटमा थाकलका सामान बनाउने तालिम पनि दिएकी छन् ।
उनले दिएको तालिमपछि उद्यमी बन्न कसरत गरिरहेका छन् नेपालगन्ज–४ की लक्ष्मी शाही र गीता शर्मा पनि । उनीहरुले पनि ह्याण्डब्याग उत्पादन गरिरहेका छन् । अञ्जनीले सिकाएको सीपले आफूहरुलाई व्यवसायी बन्ने वातावरण बनाइदिएको लक्ष्मीले बताइन् । उनले बजार विस्तार भएमा थाकलकै ब्राण्ड बनाउनेतिर आफूहरु अग्रसर हुने ईच्छा व्यक्त गरिन् ।
उसो त अञ्जनीले पनि थाकलकै सामानको उत्पादकका रुपमा आफूलाई चिनाउने प्रयास गरिरहेको बताएकी छन् । थाकलका उत्पादनहरुको विविधिकरण गर्न सकियो भने आफूले यसकै ब्राण्ड बनाउने सोचमा रहेको उनले बताइन् । उनले आफूहरुजस्ता उद्यमीको हौसला बढाउन र अघि बढ्ने वातारण बनाइदिन स्थानीय सरकारलाई सामानको बजारीकरण र सीपको स्तरोन्नतिमा सघाउन अनुरोध गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्