भगवान्लाई दान दिएको जग्गा व्यक्तिको नाममा



वीरेन्द्र जैसी
नेपालगन्ज, २०१४ साल ११ महिना २९ गते बुधबार ५३ वर्षका खेमानाथ उपाध्यायले बाँके मालपोतमा एउटा लिखत लेखाएका छन् । उक्त लिखतमा उपाध्यायले आफूले भोगचलन गर्दै आएको ११३ नम्बरको जग्गा बागेश्वरी मन्दिर अगाडिको तलाउको बीचमा रहेको शंकर भगवान्को पूजा गर्न र अतिथि साधुहरुको सत्कारका लागि दान दिन दिइएको व्यहोरा उल्लेख छ । उक्त पत्रमा उपाध्यायले आफ्नो वृद्ध अवस्था हुन लागेको र परलोक सुधार्नका लागि भन्दै जग्गा दान गरेको लेखिएको छ । उक्त जमिन दान गर्दा शंकर भगवान्का पुजारी थिए भोलानाथ योगी । तीनै योगीले रेखदेख गर्नेगरी उक्त जमिन उपाध्ययले दान गरेको देखिन्छ ।


तर, २०२५ सालमा शंकर भगवान्को पूजा गर्न दान दिइएको उक्त जग्गा शंकर भगवान्का पुजारी तिनै भोलानाथ योगीको नाममा दर्ता गरिएको पाइएको छ । उक्त जग्गा अहिले आएर होटेल डायमण्ड (साविकको सिग्नेट इन कृष्णा)का मालिक दीपेन्द्र अग्रवालको नाममा आइपुगेको पाइएको छ । यो तथ्य नापी कार्यालय बाँकेको फिल्डबुकमा देखिन्छ । फिल्डबुकमा अहिले होटेल डायमण्डले बाउण्ड्री लगाएर क्यासिनोका लागि संरचना बनाइरहेको जमिनको इतिहास हेर्ने हो भने २०२५ सालमा सात कठ्ठा चार धुर जग्गा भोलानाथ योगीको नाममा भएको र त्यही जमिन किनबेच हुँदै दीपेन्द्र अग्रवालका नाममा आइपुगेको देखिन्छ ।

२०२५ सालमा भोलानाथ योगीको नाममा भएको जग्गा मालपोतमा खेमानाथ उपाध्यायले दानपत्र लिखत गरी दिएको जग्गा नै हो भन्नेकुरा भोलानाथका छोरा शम्भुनाथले २०५७ सालमा अदालतमा दायर गरेको एक उजुरीबाट थाहा हुन्छ । शम्भुनाथ योगीले तत्कालीन पुनरावेदन अदालतमा दायर गरेको जग्गा खिचोलासम्बन्धी मुद्दामा अदालतले २०५७ साल साउन १८ गते दिएको थियो । उक्त फैसलामा शम्भुनाथले शंकर भगवान्को पूजाआजाका लागि खेमानाथले मालपोतको लिखतमा उल्लेख भएकै मितिमा आफ्ना पिता भोलानाथलाई रेखदेख गर्नेगरी शंकर भगवान्का नाममा जग्गा दान दिएको भनेर फिराद दिएको व्यहोरा उल्लेख छ ।

आफ्ना पिताको शेषपछि आफू शंकर भगवान्को पुजारी भइ भोगचलन गर्दै आएको दाबी गर्दै शम्भुनाथले उक्त जग्गामा केही व्यक्तिले कब्जा गरेको र उक्त कब्जा हटाइपाउँ भनेर उजुरी दिएका थिए । उक्त मुद्दामा तत्कालीन अदालतले कानुनमा उल्लेखित हदम्याद नाघी उजुरी आएको भन्दै उजुरी खारेज गर्ने फैसला दिएको थियो ।
यसरी भगवान्को नाममा दान गरिएको जग्गा पहिलो नापीमै भोलानाथ योगीको नाममा दर्ता भएको पाइएको छ । पछि उक्त जमिन केशव अमात्य हुँदै दीपेन्द्र अग्रवालको नाममा आइपुगेको छ । अग्रवाल नेपालगन्जस्थित सिग्नेट होटेलका पूर्व सञ्चालक हुन् । अहिले उनले सिग्नेट होटेल सुरेन्द्रबहादुर सिंहलाई बिक्री गरिसकेका छन् ।

सिंहले होटेल डायमण्डका नाममा क्यासिनोसमेत सञ्चालन गर्नेगरी उक्त जग्गामा संरचनाहरु निर्माण गरिरहेका छन् । दान गरिसकेपछि उक्त जमिनको सरकारी रेकर्डमा पहिलो स्वामित्व कायम भएका भोलानाथ योगीको २०३४ सालमा निधन भएको पाइएको छ । यो तथ्य पनि भोलानाथका छोरा शम्भुनाथ योगीले तत्कालीन पुनरावेदन अदालतले फैसलाबाटै थाहा हुन्छ । आफ्ना पिता २०३४ सालमा परलोक भएको र पिताको शेषपछि आफू शंकर भगवान्को पुजारी भइ उक्त जग्गा भोगचलन गर्दै आएको शम्भुनाथले फिरादमा भनेका छन् । जग्गा खिचोला मुद्दामा भने तत्कालीन अदालतले हदम्याद नाघी उजुरी आएको भन्दै उजुरी खारेज गर्ने फैसला दिएको थियो ।

२०३४ सालमा नै निधन भइसकेका व्यक्तिकै नाममा रहेको जग्गा २०६३ साल वैशाख १५ गते केशव अमात्यको नाममा कायम भएको नापी कार्यालयको रेकर्डमा देखिन्छ । उक्त जग्गाबीचको १० धुर जग्गा शुशीला श्रेष्ठको नाममा समेत कायम भएको नापीको रेकर्डमा उल्लेख छ । श्रेष्ठको नाममा गरिएको १० धुर जग्गा पहिले शैलेश्वरी मन्दिर डोटीका नाममा कायम गर्न खोजेको र पछि निवेदन खारेज भएको नापीको रेकर्डमा उल्लेख छ । अन्तमा पहिले नै निधन भइसकेका व्यक्तिको नामको जग्गा अमात्यले कित्ता नम्बर ५१ बनाएर आफ्नो नाममा गराएका पाइएको छ । सोही जग्गा अहिले दीपेन्द्र अग्रवालको नाममा रहेको रेकर्डमा देखिएको नापी कार्यालय बाँकेका अधिकृत दीपक श्रेष्ठले जानकारी दिए । ‘हामीकहाँ भएको रेकर्डमा पहिलेको ५१ नम्बरको कित्ता र नयाँ नापी भएपछि १८ नम्बरको भएको उक्त कित्ता हाल दीपेन्द्र अग्रवालको नाममा रहेको देखिन्छ,’ श्रेष्ठले भने ।

निधन भइसकेका व्यक्तिको नामको जग्गा कसरी नामसारी भयो ? यो प्रश्न अनुत्तरित छ । जग्गा आफ्नो नाममा बनाउने अमात्यको पनि मृत्यु भइसकेको छ । अमात्यबाट उक्त जग्गा होटेल व्यवसायी अग्रवालको नाममा आइपुगेको छ । अग्रवालको व्यवसाय पनि असफल भएपछि सुरेन्द्रबहादुर सिंहलाई बेचिसकेका छन् । अहिले १८ नम्बर कित्ता रहेको उक्त जग्गामा सिंहले क्यासिनो सञ्चालनका लागि संरचना बनाउँदै छन् । आफूले पाएको जग्गाको साँध सीमाना अझै फराकिलो रहेको दाबी गर्दै सिंहले छिमेकीविरुद्ध बाँके जिल्ला अदालतमा जग्गा खिचोलासम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

अहिले उक्त जग्गा दीपेन्द्र अग्रवालबाट खरिद गरेका सिंह आफूले उक्त जग्गा प्रचलित नियम र कानुनअनुसार नै खरिद गरेको बताउँछन् । उक्त जग्गा मन्दिरको हो या होइन भन्ने कुरा कुनै व्यक्तिले निक्र्याैल गरेर मान्य नहुने उनले बताए । यद्धपि उनले छानबिन भएमा आफ्नो कुनै आपत्ति नहुने बताएका छन् । मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘सरकारले छानबिन गरेर उक्त जग्गा मन्दिरको नै हो भन्यो भने छोड्न कुनै आपत्ति छैन । तर कोही व्यक्तिले भनेर त कसरी मान्नु र ?’ उक्त जग्गा रहेको स्थानका बासिन्दाहरु उक्त जग्गा शंकर भगवान्कै भएको आफूहरुले थाहा पाएको बताउँछन् । स्थानीय एक ज्येष्ठ नागरिकले मन्दिरको जमिन भएको आफूले सानैदेखि सुन्दै आएकोमा अहिले व्यक्तिको भइसकेको सुन्दा दुःख लागेको बताए । ‘पैसाले जे पनि गर्न मिल्दो रहेछ । सबले थाहा पाएर पनि नपाएजस्तो गर्छन्,’ उनले भने ।
यससँगै सोमनाथ उपाध्यायले एक बिघा १० कठ्ठा १२ धुर जमिन दान गरेको भए बाँकी जमिनको अवस्था के छ ? यसको पनि खोजी सम्बन्धित निकायले गर्नु आवश्यक देखिएको छ ।

 

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार