नेपालगन्ज (बाँके),
कोहलपुरकी चुइया थारुले मिस्त्री काम गर्छिन् । पुरुष सरह काम गर्ने उनको दैनिक ज्याला छ, ‘पाँच सय ५० रुपैयाँ ।’ उनको जस्तै काम गर्ने पुरुषले दैनिक एक हजार रुपैयाँ ज्याला पाउँछन् । काम एउटै हो तर ज्याला समान छैन । समान काममा चुइयाले महिला भएकै कारण कम र अर्काले पुरुष भएकै कारण बढी ज्याला पाउँदै आएका छन् । कोहलपुरकी संगीता थारुले पनि दैनिक ६ सय रुपैयाँ ज्याला पाउँछिन् । उनीसँगै समान काम गर्ने पुरुषले एक हजार रुपैयाँ पाउँछन् ।
ज्यालामा समान नहुँदा महिलाले विभेद भोग्नु परेको छ । श्रम ऐनको दफा ७ मा समान कामका लागि पारिश्रमिकमा भेद्भाव गर्न नहुने उल्लेख छ । ऐनमा भनिएको छ, ‘लिंगको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वेल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेद्भाव गर्न हुँदैन ।’ ऐनकै दफा ६ ले रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिंग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्थाका आधारमा भेद्भाव गर्न नपाइने व्यवस्था छ । तर, व्यवहारत कानुन कार्यान्वयनमै भएको छैन । यहाँका महिलाहरुले पुरुषसरह काम गरे पनि ज्याला भने समान पाउन सकेका छैनन् । ‘हामी पनि पुरुषसँगै दिनभरि एउटै काममा खटेका हुन्छौं,’ कोहलपुरमा ज्यालादारी काम गर्दै आएकी सल्यानकी रामकुमारी नेपालीले भनिन्, ‘तर, महिलापुरुषको काम एउटै हुन्छ ज्यालामा झन्डै दोब्बर फरक हुन्छ ।’ ‘महिलाले कहिलेसम्म असमान ज्याला पाइरहने,’ उनले प्रश्न गरिन् ।
महिला र पुरुषमा ज्याला फरकफरक हुने गरेको कैलाली घर भएकी कोहलपुरमा काम गर्दै आएकी रेखा ओर बताउँछिन् । ‘महिलाले जति काम गरे पनि पत्याउँदैनन्,’ उनले भनिन्, ‘घरमा खाली बस्नुभन्दा ठेकेदारले तोकिदिएकै ज्यालामा काम गर्नुपर्ने बाध्यता छ ।’ ‘अन्य रोजगारीका काम गर्ने पढाइलेखाइ छैन,’ उनी भन्छिन्, ‘ज्यालामा विभेद् भए पनि काम नगरि हुँदैन ।’ ‘घर निर्माणमा खटेका मिस्त्रीसँगै चार वर्षदेखि सबै काम गरिरहेकी छुँ । मिस्त्रीले जे काम गर्छन् त्यही गरिरहेकी छुँ,’ सीता थारुले भनिन्, ‘दिनभरि काम गर्छुं । बेलुका थकानसँगै चार सय ९५ रुपैयाँ लिएर घर फर्कन्छुँ ।’ यसरी काम नगरे पेट भर्न समस्या हुने उनले बताइन् । ‘अहिले त जवान छुँ । सकेको गरेर पेट पालेको छुँ,’ उनले भनिन्, ‘हाम्रो ज्याला बढाइदिएको भए पनि हुन्थ्यो । यसरी कडा श्रम गरेर जीवन कति दिन चलाउन सकिएला र ?’
महिलालाई तीनखालको ज्याला दिइने महिला श्रमिकहरुले बताएका छन् । सामान्य काम गर्नेलाई चार सय ५०, मसला बनाउन जानेकालाई पाँच सय र मिस्त्री काम जानेकालाई ६ सयसम्म ज्याला दिने गरिन्छ । पुरुषको ज्याला पाँच सय ५० देखि एक हजार दुई सयसम्म छ । ज्याला समान हुन जरुरी रहेका महिला श्रमिकहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्