शुभाकर विश्वकर्मा, कोहलपुर :
कोहलपुर नगरपालिकामा यस आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्मको बजेट खर्च निरासाजनक देखिएको छ । नगरसँगै यहाँका १५ वटै वडामा बजेट खर्च निरासाजनक देखिएको हो ।
चालु आर्थिक वर्षको मध्यतिर आइपुग्दा बजेट खर्च ५० प्रतिशतभन्दा कम छ । नगर कार्यपालिकाअन्तर्गत १२ वटा शाखा तथा इकाइ र १५ वटा वडाको प्रगति विवरण हेर्दा जम्मा ३७.९० प्रतिशत बजेट खर्च भएको छ । यसको अन्तिम चौमासिकमा नगरपालिकाले ६२.१० प्रतिशत बजेट खर्च गर्न बाँकी छ । नगर कार्यपालिकाअन्तर्गत १२ वटा शाखा तथा इकाइमध्ये सबैभन्दा बढी पशु सेवा केन्द्रले ४६ प्रतिशत बजेट खर्च गरेको भने सबैभन्दा कम कानुन इकाइको ५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । पशु सेवा शाखामा १२ वटा स्वीकृत कार्यक्रम छन् । तीमध्ये केन्द्र पुस समान्तसम्म दुईवटा कार्यक्रम सम्पन्न भइसकेका छन् भने चारवटा कार्यक्रममा सञ्चालनको क्रममा छन् । अब ६ वटा कार्यक्रम सञ्चालन हुन बाँकी छ । विनियोजित ५० लाख रुपैयाँमध्ये २३ लाख ४१ हजार सात सय रुपैयाँ खर्च हुँदा खर्च गर्न बाँकी रकम २६ लाख ५८ हजार तीन सय रुपैयाँ छ । कानुन इकाइतर्फ जम्मा एउटा मात्रै कार्यक्रम स्वीकृत थियो ।
कोहलपुर नगरपालिकाले दिएको जानकारीअनुसार शिक्षा युवा तथा खेलकुद शाखाले ४४ प्रतिशत, पालिकाअन्तर्गत योजना तथा अनुगमन शाखाले ३७ प्रतिशत, कोहलपुर आयुर्वेदले ३१.४६ र आर्थिक प्रशासन शाखाले ३१.३७ प्रतिशत बजेट खर्च गरेका छन् । महिला बालबालिका तथा समाज कल्याण शाखाको बजेट खर्च प्रतिशत २९.१९ प्रतिशत छ । वातावरण तथा विपद् इकाइले २०.१३ र सामाजिक विकास शाखाले जम्मा २०.३ प्रतिशत बजेट खर्च गरेका छन् । वडागत योजनाको बजेट खर्च १९.९१ प्रतिशत, कृषि विकास शाखाको १८.१२ प्र्रतिशत, स्वास्थ्य शाखाले १२.७८ र आर्थिक विकास शाखाले १२.५० प्रतिशत मात्रै बजेट खर्च गरेका हुन् ।
वडा नम्बर १३ मा शून्य बजेट खर्च
कोहलपुर नगरपालिका वडा नम्बर १३ भने यस आर्थिक वर्षको बजेट खर्च हुन सकेको छैन । पुस मसान्तसम्मको बजेट खर्च ०.०० प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । जबकी उक्त वडामा १२ वटा स्वीकृत कार्यक्रम छन् । तीमध्ये १० वटा कार्यक्रम सञ्चालनमा छन् भने दुईवटा कार्यक्रम सुरु नै भएका छैनन् ।
वडा नम्बर १३ को लागि ५४ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा नम्बर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्का भन्छन्, ‘अहिलेसम्म हामीले सुरु गरेका कुनै पनि योजना पूर्णरुपमा सम्पन्न नभएका कारण यस्तो तथ्यांक आएको हो । हाम्रा ६ वटा योजना सम्पन्न हुने चरणमा छन् ।
फागुनसम्म ती कार्यक्रम सम्पन्न हुन्छन् । बाँकी दुई वटा पनि हामी सुरु गर्छौँ ।’ वडा नम्बर १३ बाहेक अन्य १४ वटा वडामध्ये सबैभन्दा धेरै बजेट खर्च वडा नम्बर ९ को छ । वडा नम्बर ९ ले सबैभन्दा धेरै ७३.७८ प्रतिशत बजेट खर्च गरेको छ । उक्त वडामा ५३ लाख ४० हजार बजेटमध्ये हालसम्म ३९ लाख ४० हजार रुपैयाँ खर्च भइसकेको छ । अब जम्मा १४ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको वडा कार्यालयले जनाएको छ । ११ स्वीकृत कार्यक्रममध्ये आठवटा योजना सम्पन्न भइरहेको वडाध्यक्ष ओपेन्द्रनाथ योगीले बताए । उनका अनुसार तीनवटा कार्यक्रम सञ्चालनको चरणमा छन् ।
यस्तै सबैभन्दा कम बजेट खर्च वडा नम्बर १ को छ । वडा नम्बर १ ले पुस मसान्तसम्म ११.४९ प्रतिशत खर्च गरेको छ । वडा नम्बर १ मा ११ वटा कार्यक्रममध्ये एउटा सम्पन्न भएको छ । नौवटा कार्यक्रम अहिले पनि सञ्चालन भइरहेका छन् भने एउटा योजना सुरु हुन बाँकी छ । वडा नम्बर ५२ लाख २० हजार रुपैयाँमध्ये ६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । उक्त वडामा ४६ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको छ । यस्तै क्रमशः वडा नम्बर २ ले ५४.२२ प्रतिशत, वडा नम्बर ३ ले ४९.०९ प्रतिशत, वडा नम्बर ४ ले २९.६३ प्रतिशत बजेट खर्च गरेका छन् । वडा नम्बर ५ को बजेट खर्च १८.२५ प्रतिशत, वडा नम्बर ६ को ४९.८० प्रतिशत, वडा नम्बर ७ को १३.२७ प्रतिशत, वडा नम्बर ८ को बजेट खर्च ४७.२७ प्रतिशत छ । यसैगरी, वडा नम्बर १० ले २५.०९ प्रतिशत, वडा नम्बर ११ ले ५७.४२ प्रतिशत, वडा नम्बर १२ ले ३६.५९ प्रतिशत, वडा नम्बर १४ ले ६८.६६ र वडा नम्बर १५ ले २१.२३ प्रतिशत बजेट खर्च गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्