नेपालगन्ज, माघ १८ गते डोल्पाको जुफाल विमानस्थलमा प्रहरीले तीन सय ९२ केजी कुहिएको मासु बरामद ग¥यो । त्यस दिन डोल्पा पुगेको जम्मा मासु थियो पाँच सय ७७ केजी थियो । तर, नेपालगन्ज विमानस्थलमा खटिएको प्रहरीले उक्त दिन नेपालगन्जबाट दुई सय १० केजी मासु मात्रै डोल्पा गएको बताउँछ । कुहिएको अवस्थामा डोल्पामा फेला परेको मासुमध्ये खसीको ३४ केजी, बोइलर कुखुराको दुई सय १८ केजी र माछाको एक सय ४० केजी थियो ।
उक्त दिन डोल्पा गएको मासुको भनिएको भेटेरीनरी प्रमाणपत्रमा उत्पादकमा रिदम फ्रेस हाउसको नाम छ । तर पठाउने व्यक्तिमा पूर्णबहादुर कठायत उल्लेख गरिएको छ । रिदम फ्रेस हाउसका सञ्चालक कठायतले आफूले पठाएको सबै मासु कुखुराको मात्रै भएको बताए । दुई सय १० केजीमध्ये पनि एक सय ९० केजी मासु कुहिएको अवस्थामा फेला परेको उनी बताउँछन् । प्याकेजिङ नमिलेर आफ्नो मासु कुहिएको हुन सक्ने उनी स्वीकार्छन् ।
नेपालगन्ज विमानस्थलमा खटिएको प्रहरी पाँच सय ७७ केजी मासुबारे अनभिज्ञता प्रकट गर्छ । प्रहरीले भेटेरीनरी प्रमाणत्रमा उल्लेख भएअनुसारकै मासु डोल्पा गएको दाबी प्रहरीको छ । प्रमाणपत्रहरु हराएको भएमा वा अन्त परेको भएमा त्यहीअनुसार जानकारी दिने सइ रवीन्द्रबहादुर बमले बताए । डोल्पाका डिएसपी निरञ्जन थापाले आफूहरुले बरामद गरेको मासु तीन सय ९२ केजी नै भएको र सबै मासुको अलगअलग भेटेरीनरी प्रमाणपत्र भएको जानकारी पाएको उनले बताए । तर, नेपालगन्ज विमानस्थलमा खटिएको प्रहरीले भने अलगअलग प्रमाणपत्र उपलब्ध गराउन सकेन ।
रिदमका सञ्चालक कठायत खसी र माछाको मासु पठाएकाहरुले भेटेरीनरी प्रमाण नैदिन नसक्नु आफ्नोभन्दा ठूलो गल्ती भएको बताउँछन् । अरुको गल्ती ढाकछोप गरेर आफूलाई मात्रै बदनाम गराइएको उनले गुनासो गरे । उनले अरुले भेटेरीनरी प्रमाणपत्र ने नबनाएको दाबी पनि गरे । अर्काेतिर प्रमाणपत्रसहितकै रिदमले पठाएको मासु पनि प्रहरीले नष्ट गरेको छ । सञ्चालक कठायत अरुले पठाएको मासु कुहिएको भेटिएपछि आफ्नो पनि चेकजाँच गर्दा बरामद भएको दाबी गर्छन् । उक्त मासुको भेटेरीनरी प्रमाणत्र दिने डा. शिवप्रसाद भुषाल आफूले स्थलगतरुपमै जाँच गरेर प्रमाणपत्र दिएको दाबी गर्छन् । विमानस्थल स्रोतका अनुसार प्रमाणपत्र दिने डाक्टरहरु पनि नहेरेरै व्यापारिक उद्देश्यले प्रमाणपत्र प्रदान गर्ने गर्दछन् । डा. भुषालले उक्त दाबीलाई भने अस्वीकार गरे ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्राविधिक सहायक डा. विनिता केसी पनि सबै मासु कुहिएको नभइ मापदण्डअनुसार प्याकिङ नगरिएको अवस्थामा पनि फेला परेकोले नष्ट गरिएको बताउँछिन् । उनका अनुसार सबैभन्दा बढी इन्द्र ठेकेदार नामबाट पठाइएको खसीको मासु कुहिएको अवस्थामा फेला परेको थियो । जहाजमा भएका यात्रुहरुले कुहिएको गन्ध आएको गुनासो गरेपछि अनुगमन गरिएको थियो । सबै मासुको भेटेरीनरी प्रमाणपत्र छ भनिएपछि आफूहरुले सम्बद्ध सबैको रोहबरमा मासु नष्ट गरेको उनले बताइन् । कतिपय मासु स्याउको प्याकेटमा हालेर पठाइएको पाइएको उनले बताइन् ।
गत असोजमा संयुक्त बजार अनुगमन टोलीले राँझा क्षेत्रका मासु पसलहरुको अनुगमन गर्दा पनि बेथिति भेटिएको थियो । मासु ढुवानी गर्दा भेटेरीनरी जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने, थर्माकोलको कार्टुनमा आइस राखेर प्याक गर्नुपर्ने मापदण्ड छ । तर मापदण्डको कडाइपूर्वक पालना नहुँदा अहिले पनि हिमाली जिल्लामा अखाद्य मासु पुगिरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य डोल्पामा कुहिएको मासु फेला परेको विषयमा उतैबाट अनुसन्धान र कारबाही हुने बताउँछन् । बाँकेबाट अस्वच्छ मासु जान नदिन बजार अनुगमन हुने गरेको र अब विमानस्थलमा पनि आवश्यकताअनुसार अनुगमन गर्ने आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्