नेपालगन्ज, २४ माघ :
नेपालगन्ज उपमहानगरपालिकामा विपद् जोखिमको अवस्था, रोकथाम र क्षति न्यूनीकरणका लागि आवश्यक स्रोत साधनसमेतको तथ्यांकमा आधारित नक्सा तयार भएको छ । उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी (सुपर) परियोजनाअन्तर्गत तयार गरिएको उक्त जोखिम नक्सा प्रमाणिकरण तथा प्रसारसम्बन्धी कार्यशाला आयोजना गरी सरोकारवालाहरुबाट पृष्ठपोषण पनि लिइएको छ ।
प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीहरुमा भौगोलिक सूचना प्रणाली (जिआइएस) मार्फत नक्सांकन गरिएको हो । उक्त नक्सामा पृष्ठपोषण समेटेर अन्तिमरुप दिएपछि नेपालगन्ज उपमहानगरपालिका र सरोकारवाला निकाय र संघसंस्थालाई हस्तान्तरण गरिने आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिएका छन् ।
जोखिम नक्साले स्थानीय सरकार र सरोकारवालालाई विभिन्न विपद्को जोखिमको अवस्था, प्रभावित हुने क्षेत्र र जनसंख्या, राहत तथा उद्धारका लागि उपलब्ध स्रोत, साधन एवम् पूर्वाधारहरु, विपद्को रोकथाम तथा क्षति न्यूनीकरणका लागि तय गर्नुपर्ने नीति तथा कार्यक्रमहरुका बारेमा जानकारी दिने रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले बताए ।
नेपालगन्ज उपमहानगरपालिकका मेयर प्रशान्त विष्टले जोखिम नक्साले आफूहरुलाई विपद्का बेलामा टाउकोमा हात लगाएर बस्ने बाध्यताबाट छुटकारा दिने र पूर्वतयारीका लागि नीति बनाउन सघाउने बताएका छन् । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगन्जको वडा नम्बर ३ र ७ मा सुपर परियोजना सञ्चालित छ । ती वडाहरु भूकम्पीय जोखिमका हिसाबले उच्च स्थानमा रहेको उक्त परियोजनाले गरेको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्