गुणस्तरीय सेवा प्रदान गर्दै खजुरा क्यान्सर अस्पताल



वीरेन्द्र जैसी
नेपालगन्ज, २१ माघ
प्रक्रियागत अप्ठ्याराका कारण लामो समयदेखि भन्सारमा अड्किरहेको थियो खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिन । अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि डा. निरज भट्टराईले सबैभन्दा पहिले उक्त मेसिन ल्याउने प्रक्रियाका लागि दौडधुप गरे । स्वास्थ्य मन्त्रालय लगायतका निकायमा पहल गरेपछि पुस अन्तिम साता लिन्याक मेसिन अस्पतालमा आइपुगेको छ । मेसिन सन्चालनमा आएसँगै खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमै रेडियसनका माध्यमबाट क्यान्सरको उपचार गर्ने एक मात्र र पहिलो अस्पताल बन्ने छ ।
लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । करिब २५ करोड मुल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्ने पर्ने अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताउँछन् । अहिले करिब ३० जना बिरामीहरु उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।
लिन्याक मेसिन राख्न बनाइएको बंकरमा पनि पानी जम्ने समस्या थियो । उक्त समस्याको समाधान गरी अहिले मेसिनलाई जडानको लागि काम सुरु भइसकेको छ । करिब तीन महिनाभित्र एक्त मेसिनमार्फत उपचार सेवा दिनसकिने डा. भट्टराईले बताए ।


डा. निरज भट्टराई कार्यकारी निर्देशक भएको ५ महिनामा भएको अर्काे उल्लेखनीय प्रगति हो क्यान्सरका बिरामीहरुका लागि बनाइएको पोजिटिभ प्रेसर आइसियु । यो आइसियु पनि यस क्षेत्रका लागि पहिलो र क्यान्सरका सिकिस्त बिरामीहरुका लागि अति आवश्यक हो । केही दिनअघि स्वास्थ्य मन्त्री पदम गिरीले उद्घाटन गरेको उक्त आइसियु पनि सेवा सुचारुको अन्तिम तयारीमा छ । अहिले बनेको आइसियु १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको भट्टराईले बताए ।

अस्पतालमा सेवा सुरु भएको नौ वर्ष पुग्न लाग्दा पनि अस्पतालको दरबन्दी तय भएको छैन । सरकारले सन्चालनको जिम्मा लिएको यस अस्पताललाई काजमा खटाइएका चिकित्सक र करारमा सेवा दिइरहेका चिकित्सकले धानिरहेका छन् । डा. भट्टराई आफूले यसको लागि पनि पहल थालिसकेको बताएका छन् ।
क्यान्सरका निको नहुने अवस्थामा पुगिसकेका बिरामीहरुलाई हुने पीडा कम गर्ने पूर्वाधार पनि अस्पतालमा अभाव थियो ।

अस्पतालले लायन्स क्लबसँग सहकार्य गरेर त्यस्ता बिरामीहरुलाई राहत दिएर उपचार गर्ने प्रशामक सेवा(प्यालिएटिभ केयर) भवनको काम पनि रोकिएको थियो । डा. भट्टराई लायन्स क्लबका पदाधिकारीसँग यसबारेमा छलफल गरी एक्त भवन निर्माणको काम अघि बढाए । उक्त भवनको काम पनि अब अन्तिम चरणमा रहेको छ । उक्त भवन सन्चालनमा आएसँगै क्यान्सरबाट पीडा भोगिरहेका बिरामीहरुलाई पीडा कम गराएर राख्न मिल्ने सेवा पनि अस्पतालमा सुरु हुनेछ ।
यसका साथै विभिन्न तहका सरकारमार्फत आफ्नो क्षेत्रमा जनतालाई सहुलियतमा सेवा दिने योजनाका लागि पहल भइरहेको डा. भट्टराईले बताए । साथै अस्पतालसम्म सार्वजनिक यातायात संचालनको लागि नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकासँग अनुरोध र समन्वयको पहल पनि आफूले गरेको र अन्य संघसंस्था तथा दातृ निकायसँग पनि पहल गरिरहेको डा. भट्टराईले बताए । यसैगरी गाउँपालिकाले अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान गरिदिँदै छ भने बिरामीको विद्युतीय रेकर्ड राख्ने तथा अनलाइनबाटे शुल्क बुझाउने र मोबाइलमै रिपोर्ट हेर्न मिल्ने प्रविधि पनि सन्चालनमा ल्याउन लागिएको जनाइएको छ । यसैगरी, अस्पतालमा भर्ना भएका बिरामीहरुलाई निःशुल्क वा सस्तो शुल्कमा खाना खुवाउने पहल पनि भइरहेको छ ।
कार्यकारी निर्देशक डा. भट्टराई अब क्यान्सर विशिष्टिकृत अस्पतालको अवधारणा पूरा गर्ने लक्ष्यको नजिक रहेको बताउँछन् ।

डाक्टर भट्टराई आफै पश्चिम नेपालमा कार्यरत मुटु, फोक्सो र रक्तनलीको एक्ला सर्जन हुन् । उनी अस्पतालमा आएपछि फोक्सोको क्यान्सर, रक्तनली, खाद्यनली तथा स्तन क्यान्सरका जटिल प्रवृत्तिका शल्यक्रियाहरु पनि हुन थालेका छन् । यस्का अलावा डायालाइसिस गर्ने बिरामीहरुका लागि बनाउन पर्ने फिस्टुलाको अपरेसन पनि अस्पतालमा हुन थालेको छ । जसका लागि बिरामीहरु काठमाडौं धाउनपर्ने अवस्था थियो । डा. भट्टराई भन्छन्, ‘अस्पतालको सेवा बिस्तार गर्ने, सेवाको गुणस्तर वृद्धि गर्ने, बिरामीहरुलाई सहज र सुलभ प्रक्रियाबाट सेवा दिने काममा मेरो प्राथमतिका छ । आफूले सेवा गर्न पाएको यो अवसरलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मान्यता मेरो छ ।’

अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकसहित करिब १ सय २५ जनाको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ । अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमोथेरापी, हिष्टोप्याथोलोजी, ब्राकीथेरापी र कल्पोस्कोपीगायतका संरचनाहरु तयार भएर सेवा सन्चालन भइरहेको छ । अस्पतालमा सेवा बिस्तारसँगै सेवाग्राहीको चाप पनि बढिरहेको छ । आर्थिक वर्ष २०७७–७८ मा १० हजार सेवाग्राहीहरु अस्पतालमा पुगेकोमा गत आर्थिक वर्ष २०७८–७९ मा २५ हजार भन्दा बढी सेवाग्राही पुगेका अस्पतालले जनाएको छ । यो संख्या यसवर्ष झनै बढ्ने अपेक्षा गरिएको छ ।

खजुरामा क्यान्सर अस्पताल स्थापनाको प्रयास सुरु भएको २३ वर्ष बितेको छ भने अस्पतालले सेवा सुरु गरेको नौ वर्ष पुग्न लागेको छ । स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी अन्तमा नेपाल सरकारले जिम्मा लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा निरन्तर प्रगति गरिरहेको प्रष्ट देखिन थालेको छ । यद्धपि सरकारले अस्पतालको दरबन्दी तय गरी विशेषज्ञ सेवा थप गर्नू र सेवाको गुणस्तर वृद्धिका लागि ध्यान दिनु आवश्यक रहको छ । साथै, अस्पतालका सेवाहरुबारे बिरामीहरुसम्म जानकारी पु¥याउनु र क्यान्सरकोबारेमा सचेतनाका कामहरु पनि गर्नु जरुरी रहेको डा. भट्टराई बताउँछन् ।
२०५६ सालमा महायज्ञ लगाएर सुरु भएको अस्पताल स्थापनाको प्रयासले २०६६ सालमा आकार ग्रहण गरेको थियो । २०७० सालमा सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका नाममा चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत अस्पतालमा सेवा सुरु गरिएको थियो । उपचार सेवा सुरु भएका लामो समयसम्म पनि क्यान्सर अस्पतालमा बिरामीको प्रारम्भिक चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने लगायतका काम मात्रै हुँदै आएका थिए ।

क्यान्सर दिवस मनाइयो
शनिबार विश्व क्यान्सर दिवस मनाइएको छ । दिवसका अवसरमा खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले प्रभातफेरीको आयोजना गरेको थियो । अस्पतालबाट निस्किएको प्रभातफेरीले खजुरा बजार परिक्रमा गरेको थियो । क्यान्सरबारे सचेतनाको सन्देशका लागि प्रभातफेरी आयोजना गरिएको अस्पतालले जनाएको छ । ‘उपचारको दूरी कम गरौँ ः हरेक व्यक्तीले क्यान्सर उपचारको योग्यता राख्छ’ भन्ने नाराका साथ दिवस बनाइएको हो ।


सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ आहारबिहार, शरीरको तौलमा अससन्तुलन, मदिरा र प्याकेटका खानेकुरा लगायतका कारण क्यान्सर हुने जोखिम बढी हुने गर्छ भने समयमै चिकित्सककहाँ पुगेमा क्यान्सरबाट मुक्त हुन पनि सकिन्छ ।

 

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार