पौरखी हात अवसरले बदलिएको दयारामको दैनिकी



शुभाकर विश्वकर्मा
संघर्ष हो जीवन । जीवन संघर्ष हो । संघर्षबाट प्राप्त हुने सफलताबारे व्यक्तिपिच्छे छुट्टाछुट्टै परिभाषा हुन्छन् । त्यसैले हरेक व्यक्तिले आफ्ना आवश्यकतानुसार लक्ष्य निर्धारण गर्छन् र त्यसैमा सफल हुने प्रयत्न पनि । जसलाई मूर्तरूप दिने मुख्य तत्व हो, ‘संघर्ष ।’ भनिन्छ नि, ‘कर्म गर्नु फलको आश नगर्नु ।’ परिश्रमबाट प्राप्त हुने फलको मज्जा बेग्लै हुन्छ । सफलताका तीन सूत्र हुन्, संघर्ष, अठोट र सकारात्मक सोच ।
हिनताबोधबाट मुक्त, कडा मेहनत र हौसलाले शारीरिक दुर्वलतालाई छिचोलेर सफल हुन सकिन्छ भन्ने उदाहरण हुन्, ‘कोहलपुर–१२ का दयाराम अधिकारी ।’ उनी अपांगता भएका व्यक्ति हुन् । ह्वीलचियरको सहायतामा हिँड्डुल गर्छन् । अधिकारीले कोहलपुर ११– स्थित न्युरोड लाइनमा टेलरिङ व्यवसाय गर्दै आएका छन् । ३३ वर्षीय अधिकारीले २०६९ सालमा टेलरिङ व्यवसाय सुरु गरेका थिए । अरुण टेलर्सका मालिक र कामदार उनै हुन । एउटा मेसिनबाट कामदारका रुपमा व्यवसाय सुरु गरेका उनले निरन्तरको प्रयास र संघर्षबाट सफलता हात पारे । हाल अधिकारीले सातजनालाई रोजगारी दिएका छन् । उनको हालको सफलताको पछाडि कहाली लाग्दो विगत छ ।


२०४६ सालमा सुर्खेतको गुर्भाकोट–२ मालारानीमा उनको जन्म भयो । उनी तीन भाइ र एक बहिनीका जेठा सन्तान हुन् । उनी निम्न वर्गीय परिवारमा जन्मेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण उनले प्रमाणपत्र तहसम्मको मात्र अध्ययन पूरा गर्न सके । घरको जेठो छोरा भएकैले परिवारको आवश्यकता पूर्ति गर्न उनी सानै उमेरमै विदेशिन बाध्य भए । कालापहाड त्यहाँको प्रमुख रोजगारीको गन्तव्य थियो । उनी पछि पैसा कमाउन भारतको हिमाञ्चल प्रदेशमा रोजगारीको क्रममा गए । पटपटक गरेर उनले त्यहाँ आठ वर्ष बिताए । उनी भन्छन्, ‘दैनिक ज्यालादारी गरेर थोरै कमाइ हुन्थ्यो । अर्काको ठाउँमा धेरै दुःख हुन्थ्यो । विगतमा धेरै कष्ट गरियो ।’

जसोतसो जीवन चलिरहेकै थियो । विवाहसमेत भइसकेको परिवार र श्रीमतीको खुसीका लागि पनि उनको काँधमा ठूलो जिम्मेवारी थियो । त्यहीँ जिम्मेवारी बहन गर्न उनी हिमाञ्चल प्रदेशमा ‘नेपाली भैया’का रुपमा काम गर्थे । समय सधै एकैनास कहाँ हुँदो रहेछ । २०६६ वैशाख २४ गते उनको जीवनमा कालो दिन बनेर आयो । उनी कामको शिलशिलामा ठूलो दुर्घटनामा परे । दुर्घटनाका कारण उनको मेरुदण्ड भाँचियो । उपचार गरेर निको त भयो तर, कम्मरभन्दा मुनिको भाग नचल्ने भयो । उनलाई ह्वीलचियरको सहायता चाहिने भयो, आवातजावतको लागि । अधिकारी त्यतिबेला आफ्नो उपचारको लागि सातदेखि आठ लाख रुपैयाँ खर्च भएको बताउँछन् । त्यहाँबाट उनी जन्मघर फर्किए । त्यहाँ उनलाई भौगोलिक विकटताका कारण हिँड्डुल गर्न सजिलो थिएन । सोही साल उनी सपरिवारसहित कोहलपुर–१२ चप्परगौडीमा बसाइँ सरे । अपांगता भएका उनी रोजगारीको खोजीमा थिए ।


उनी अपांगताको क्षेत्रमा काम गर्ने अपांग नवजीवन केन्द्रको सम्पर्कमा गए । केन्द्रले प्रदान गरेको ६ महिने सिलाइकटाइ तालिम सिके । तालिम सकिएपछि केन्द्र एउटा मेसिन पनि दिएको थियो । त्यही मेसिनबाट उनले कपडा सिलाउन थाले । उनका अनुसार ५ वर्षजति आफैँ कामदारका रुपमा सिलाइकटाइको काम गरे । त्यतिबेला व्यवसाय सुरु गर्दा आफ्ना बुबाले १० हजार रुपैयाँ दिएको सम्झिन्छन्, उनी । ‘संघर्ष गर्दै गएँ । बिस्तारै व्यवसाय राम्रो हुँदै गयो । सबैको साथ र हौसला मिल्यो । अहिलेसम्म व्यवसाय चलिरहेको छ,’ उनी भन्छन् ।

दश हजारमा सुरु गरेको व्यवसायलाई उनले थप व्यवस्थित बनाएका छन् । अहिले उनको व्यवसायमा ६० देखि ७० लाख रुपैयाँको लगानी छ । कुनैबेला आफ्नै रोजगारी खोज्दै भौतारिएका अधिकारीले अहिले सातजनालाई प्रत्यक्षरुपमा रोजगारी दिएका छन् । कर्मचारीको तलब, घरको सम्पूर्ण खर्च र छोराहरुको पढाइसहित अन्य खर्च जोडेर महिनामा करिब ५० हजार रुपैयाँ आम्दानी गर्छन । व्यवसायबाटै घरघडेरीसमेत जोड्न सफल भएका छन् । अपांगता भएका व्यक्ति सधै दयाका मात्र पात्र होइनन् अरुका लागि प्रेरणाका स्रोतसमेत बन्न सक्दछन् भन्ने उदारहण हुन्, अधिकारी छन् । अधिकारी सुझाउँछन्, ‘तपाईं अपांगता भएको व्यक्ति हुनुहुन्छ ।

आफूलाई हिनताबोध नगर्नूहोस्, मेहनत गर्नुहोस् । कमजोर मानसिकता बनाउनु हुँदैन । निरन्तर संघर्ष गर्नूहोस् सफल भइन्छ ।’व्यवसाय मात्रै होइन उनी अपांगता भएका व्यक्तिहरुको हकहितका लागि लामो समयदेखि क्रियाशील छन् । हाल उनी राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश सदस्य हुन् । अपांग नवजीवन केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारी नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बाँकेका सदस्यसमेत हुन् ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार