16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

बाँकेमा कुपोषण भयावह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७९  

बालबालिका कुपोषित हुनुमा पोषणसम्बन्धी ज्ञान, स्तनपानको तरिका, गरिबीका साथै उत्पादन प्रणाली, उपभोग्य वस्तुको गुणस्तर, विषादीहरुको प्रयोगजस्ता अनेक कारण छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको पाइएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७८/८९ मा कुपोषित बालबालिकाको संख्या आठ सय ९२ रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा झन्डै चार गुणाले बढी हो ।

उक्त वर्ष कुपोषित बालकालिकाको संख्या दुई सय ४८ मात्रै थियो । आर्थिक वर्ष २०७६/७७ मा त झन् यो संख्या एक सय ९४ थियो । गत आर्थिक वर्षमा कुपोषित बालबालिकाको संख्या बढेको तथ्यांक आउनुमा स्वास्थ्य सेवाको पहुँच बढ्नु र धेरैभन्दा धेरै बालबालिका स्वास्थ्य सेवाको नियमित चेकजाँचको दायरामा आउनु मुख्य कारण रहेको पाइएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्शन वसन्ती मल्ल बताउँछिन् । बालबालिकाको वृद्धि विकास निगरानीमा आएका बालबालिकाहरुको संख्या बढेको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ ।

अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः ५१ दशमलव २ प्रतिशत र ५७.१ प्रतिशत बालबालिका निगरानीमा आएकोमा गत आर्थिक वर्षमा ८० दशमलव ५ प्रतिशत बालकालिका वृद्धि विकास निगरानीमा आएका छन् । गर्भमा शिशु रहेदेखि २३ महिना नहुन्जेलसम्म बालबालिकालाई २४ पटक स्वास्थ्य संस्थामा लगी वृद्धि विकास निगरानी गर्नुपर्ने मापदण्ड छ । तौल उमेरअनुसार तोकिएको मापदण्डभन्दा कम भएको अवस्था वा बढी भएको दुवै अवस्थालाई कुपोषणको अवस्था मानिन्छ । बाँकेमा बढी तौल भएका कुपोषित बालबालिका अधिक रहेको पनि स्वास्थ्यको तथ्यांकमा देखिन्छ ।

निगरानीमा पुगेका बालबालिकाको संख्या बढ्नु सुखद नै भए पनि जिल्लामा एक वर्षमा करिब नौ सय बालबालिका कुपोषित रहेको तथ्यांक आउनुले जिल्लामा कुपोषणको अवस्था भयावह रहेको देखिन्छ । समुदायमा पोषणसम्बन्धी ज्ञान, स्तनपानको तरिका, गरिबी जस्ता कारणले बालबालिकाहरु कुपोषित हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्शन मल्ल बालबालिका कुपोषित हुनुमा पोषणसम्बन्धी ज्ञान, स्तनपानको तरिका, गरिबीका साथै उत्पादन प्रणाली, उपभोग्य वस्तुको गुणस्तर, विषादीहरुको प्रयोगजस्ता अनेक कारणहरुले भूमिका खेल्ने गरेको बताउँछिन् ।

अहिले जिल्लामा निको हुने दर पनि सुध्रिएको छ । २०७६ मा ५४.८ प्रतिशत मात्रै निको हुने दर रहेकोमा पछिल्ला दुई वर्षमा क्रमशः ७९.८ प्रतिशत र ७९.२ प्रतिशत निको हुने दर छ । अझै १५ प्रतिशतभन्दा बढी कुपोषित बालबालिका नियमित निगरानीबाट वञ्चित छन् ।

जानकी गाउँपालिकामा निगरानी उत्तम

बाँके जिल्लामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै जानकी गाउँपालिकामा कुपोषित बालबालिकाहरु बढी रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । जानकी गाउँपालिकामा दुई सय ८१, नेपालगन्ज उपमहानगरपालिकामा दुई सय १८, बैजनाथ गाउँपालिकामा एक सय ४३, कोहलपुर नगरपालिकामा एक सय ३०, नरैनापुर गाउँपालिकामा एक सय २९ जना बालबालिकामा कुपोषणको अवस्था भेटिएको थियो ।

खजुरा गाउँपालिकामा ४३ र राप्तीसोनारी गाउँपालिकामा ३३ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको थियो । यो तथ्यांकले बढी संख्या देखाएका पालिकामा कुपोषण बढी रहेको र कम भएका पालिकामा कुपोषण कम रहेको बुझ्नु गलत हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । बरु बालबालिकाको वृद्धि विकासको निगरानी राम्रो रहेको स्थानीय तहमा बढी कुपोषित बालबालिका भेटिएको अर्थमा बुझ्नुपर्ने पोषण फोकल पर्शन वसन्ती मल्ल बताउँछिन् ।

बाँकेको जानकी गाउँपालिकामा तौल वृद्धि अनुगमनका माध्यमबाट बालबालिकाको संख्या बढी गाउँपाकिाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब दलबहादुर राना बताउँछन् । उनले औसत भिजिट बढाएको जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ बाट गाउँपालिकाका पाँच स्थानमा पाँचपटक बालबालिकाको तौल लिने कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यस कार्यक्रमले धेरै बालबालिकामा कुपोषण रहेको फेला परेको उनले बताए । निगरानी बढाएमा बालबालिकामा कुपोषित बालबालिकाको संख्या बढ्ने उदाहरण जानकीले देखाएको उनले बताए । कडा कुपोषित बालबालिकाको लागि पौष्टिक आहार पनि गाउँपालिकाले वितरण गरेको उनले जानकारी दिए । अहिले औसत निगरानी दर गाउँपालिकामा १३ प्रतिशतभन्दा बढी रहेको उनले जानकारी दिए ।

 

प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७९     11:03:57 AM  |