यो वर्ष नरैनापुर क्षेत्रमा पानी नपरेर सुख्खा भयो । धानसमेत रोप्न पाइएनन् । त्यसपछि नरैनापुरका किसानले नहरको महत्व बल्ल बुझेका छन् । अब अगाडि बढाउन खोजिरहेका छन् । सांसद कृष्णा केसी (नमुना)को अगुवाईमा जनतासँग थालिएको संवादले नरैनापुरमा नहरको विषयमा देखिएको विवाद हल हुँदैछ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुर क्षेत्रमा बिस्तार गर्नुपर्ने करिब साढे ८ किलोमिटर नहरको सर्भे गर्ने काम तीन वर्षदेखि ठप्प छ । नहर निर्माण हुने क्षेत्रको जग्गालाई लिएर स्थानीय बासिन्दाले अवरोध सृजना गरेपछि नहर सर्भेको काम रोकिएको थियो ।
तर अहिले स्थानीयको अवरोध हटेको आयोजनाका सिडिई विशाल यादव बताउँछन् । ‘पहिले स्थानीयहरुले नहरको सर्भेका लागि अवरोध गर्दै आएका थिए । हामीले फत्तेपुरसम्म पानी चलायौँ । तर, नरैनापुर क्षेत्रमा पानी नपरेर सुख्खा भयो । धानसमेत रोप्न पाइएन । त्यसपछि नरैनापुरका किसानले यसको महत्व बल्ल बुझेका छन् । अब अगाडि बढाउन खोजिरहेका छौँ ।’
नहर निर्माणका लागि ठेक्का आह्वान हुनुअघि नहर निर्माण हुने ठाउँको सर्भे गर्नुपर्ने र त्यसपछि नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गा अध्रिहणका लागि सूचना निकालिने उनले बताए । त्यसपछि स्टिमेट डिजाइन तय गरेर निर्माणका लागि ठेक्का आह्वान गरिने यादवले जानकारी दिए । प्रक्रिया लामै भएकोले अर्काे वर्षभित्र नहर निर्माणका लागि ठेक्का आह्वान गरिने उनले बताए ।
यादवले अहिले निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायतले नहर बिस्तार गर्ने काम अघि बढाउन चासो दिएर लागेको पनि बताए । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)को अगुवाईमा उक्त क्षेत्रका जनतासँग संवादको काम अघि बढाइएको थियो । नमुनाले आफ्नो अगुवाईमा नरैनापुर खण्डमा नहर निर्माणको काम अघि बढाउन छलफल सुरु भएको मिसन टुडेलाई जानकारी दिइन् ।
सांसद नमुनाकाअनुसार नहरको सर्भे गर्दा दक्षिणतिर भन्दा उत्तरतिर सार्नुपर्छ भन्ने स्थानीयको माग रहेको छ । दक्षिणतिर गर्दा पानी नआउने भन्ने स्थानीयको भनाइ रहेको उनले बताइन् । ‘यसैगरी माथिल्लो खण्डमा नहर निर्माण गर्दा व्यक्तिगत जग्गामा परेको थिएन । तर नरैनापुरमा भौगोलिक सतहका कारण केही व्यक्तिको जग्गामा पर्ने भएछ । त्यसपछि अरु ठाउँ चाहीँ व्यक्तिको जग्गा नपर्ने, हाम्रोमा मात्रै किन भनेर केहीले विरोध गरेपछि काम रोकिएको रहेछ,’ सांसद नमुनाले भनिन् ।
अहिले सुख्खा भएपछि स्थानीयहरुले नहरको महत्व बुझेको र विवाद सल्टाउन सजिलो भएको उनले बताइन् । वर्षा नहुँदा यसवर्ष नरैनापुरको करिब ८५ प्रतिशत खेतमा रोपाइँ हुनसकेको थिएन ।
चार शाखा नहर निर्माण
सिक्टाको पूर्वी नहर अन्तर्गतका चारवटा शाखा नहरको काम भने सकिएको आयोजनाले जनाएको छ । फत्तेपुर, राजकुलोका साथै एस१ देखि एस४ सम्म गरी ६ वटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस २ र एस ४ को निर्माण कार्य सकिएको र दुईवटाको काम बाँकी रहेको सिक्टा सिँचाई आयोजनाका सिडिई यादवले जानकारी दिए ।
अहिले सिक्टाको पूर्वी नहरको फत्तेपुर २४ किलोमिटरसम्म पानी छोडिएको छ । यादवका अनुसार पुर्वी नरह खण्ड ३७ किलोमिटरमा ठेक्का लागेर निर्माणाधिन रहेको छ । उक्त खण्डको भौतिक प्रगति करिब ९० प्रतिशत रहेको र निर्माण सक्नुपर्ने म्याद यस वर्षको माघ २९ रहेको छ । पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभिसँग तीन अर्ब ३० करोड २१ लाख ३९ हजार पाँच सय १९ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
अहिले फत्तेपुरसम्मको करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको यादवले बताए । पूर्वी मुल नहरको राजकुलो सिंचाई प्रणालीमा २०७६ सालदेखि नै पानी सन्चालन भइरहेको छ । उक्त प्रणालीबाट एक हजार हेक्टरमा सिंचाई सुविधा पुगेको छ ।
सिक्टा सिंचाई आयोजनाले पश्चिमी मूल नहर र शाखा नहरबाट पश्चिमतर्फ करिब १६ हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको दाबी गर्दै आएको छ । तर, नरहको ठाउँठाउँमा कमजोर निर्माण भएकोले उक्त खण्डको प्रभावकारितामा प्रश्न उठिरहेको छ । सिक्टा सिंचाई आयोजनाबाट पश्चिममा ३३ हजार सात सय ६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ ।
आज स्थलगत अवलोकन गरिँदै
आज सोमबार सिक्टा सिँचाई आयोजनाको नरैनापुर खण्ड बिस्तारका लागि स्थलगत अवलोकन गरिने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना), सिक्टा सिँचाइ आयोजनाका प्रमुख रमेशकुमार सिंह, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहसहितको सरोकारवालाहरुले नरैनापुरमा नहर निर्माणका क्रममा विवाद भएको भनिएको क्षेत्रको अवलोकन गर्नेछन् ।
आफुहरुले त्यहाँका स्थानीयहरुसँग संवाद गर्ने कार्यक्रम रहेको सांसद नमुनाले मिसन टुडेलाई जानकारी दिइन् ।