18 September 2024  |   बुधबार, अशोज २, २०८१

डुडुवामा प्रतिवडाध्यक्षलाई ५० लाखका योजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस ७, २०७९  

विमला चौधरी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकामा ६ वर्षयता पहिलोपटक वडास्तरमा बजेट विकेन्द्रीकरण भएपछि गाउँसभा बस्न सफल भएको छ । संघीयता पछि डुडुवाका वडाध्यक्षले पहिलोपटक जनही ५० लाख रुपैयाँका दरले योजना छनोट गर्ने अनुमति पाएपछि गाउँसभा बसेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडालाई बजेट ‘सिलिङ’ नदिएर एकपक्षीय र आफूखुसीरुपमा योजना बनाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)का कार्यपालिका सदस्यले पाँच महिनादेखि गाउँसभा हुन दिएका थिएनन् ।

डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्राका अनुसार वडाको बजेट केन्द्रीकृत गरेर सबै योजना गाउँपालिकामार्फत सञ्चालन गर्ने भनेपछि लामो समयसम्म विवाद लम्बिएको थियो । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडाको छुट्टै काम कर्तव्य र अधिकार छ तर, उहाँ (पालिका अध्यक्ष)ले हामीलाई निर्वाचित भएर आएको करिब सात महिनासम्म अधिकारविहीन बनाउनुभयो ।’

गाउँपालिकाको यही पुस ४ र ५ गते बसेको १२औँ गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गरेको कूल बजेट ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँमध्ये साढे चार प्रतिशत (४.५९ प्रतिशत) अर्थात तीन करोड रुपैयाँबाट ६ वटा वडाले एक सय वटा योजना छनोट गरेका छन् । सबै वडाको सिलिङ जनही ५० लाख रुपैयाँ भए पनि वडाका योजना भने कम्तीमा १३ देखि बढीमा २७ वटा छन् । गाउँसभाले एकवटा विधियेक, नीति तथा कार्यक्रमसहित प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित गरिसकेको छ ।

अघिल्लो पाँच वर्षमा पूर्वाधार विकासतर्फको सबै बजेट गाउँपालिका तहमा राखेर एकलौटीरुपमा काम गरेका अध्यक्ष चौधरीले यसपटक भने कूल बजेट ८३ प्रतिशत (८२.८१ प्रतिशत) आफैँले राखेका छन् । पूर्वाधार विकास गाउँपालिकातर्फ १४ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन गाउँपालिकाको कूल बजेटको २२.१३ प्रतिशत हिस्सा गाउँपालिका तहमा छ । यो रकममा गाउँपालिका अध्यक्षको मनोमानी चल्छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आर्थिक विकासमा १५ करोड, सामाजिक विकासमा पाँच करोड ६५ लाख, वन, वातावरण र सेवा प्रवाहमा एक करोड ८४ लाख, पूर्वाधार विकास वडातर्फ तीन करोड र पूर्वाधार विकास गाउँपालिकातर्फ १४ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले पालिकाको आन्तरिक स्रोतबाट वडागत योजनाका लागि तीन करोड र पालिकास्तरीय योजनाका लागि दुई करोड विनियोजन गरिएको बताए ।

पहिलो कार्यकालमा पनि अध्यक्ष रहेका चौधरीले वडालाई बजेट सिलिङ दिएका थिएनन् । कांग्रेसले जितेकाबाहेकका वडाले पाँच वर्षमा एउटा पनि योजना पाएका थिएनन् । डुडुवामा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए पनि अल्पमतमा रहेका चौधरीलाई गलाउन प्रतिपक्षीले वडाको बजेट सिलिङलाई प्रतिष्ठाको विषय बनाएर समयमा कार्यपालिका बैठक र गाउँसभा हुन नदिएको देखिन्छ । गाउँसभाको विषयमा पालिकाले चारपटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर पनि छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्योलमा पर्दै आएको थियो ।

अध्यक्ष चौधरीले विपक्षीले अनावश्यक विभिन्न कानुनविपरीतका बखेडा गरेर कार्य अवरोध गरेको, नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित भइ एजेण्डामाथि छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै आएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा एक वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । बाँकी तीनवटा वडामा जसपा र दुईवटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । कार्यपालिकाका ११ जना सदस्यमध्ये तीनजना कांग्रेसका र बाँकी सबै जसपा र नेकपा एमालेका छन् ।

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवद्र्धन, एसईई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रतिछात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहित गर्नेलगायतका महŒवपूर्ण विषय समेटिएको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

मंसीर मसान्तसम्म बजेट पास गर्न नसकेका स्थानीय तह

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ मा भएको व्यवस्थाअनुसार पालिकाले प्रत्येक वर्षको असार १० गते अनिवार्यरुपमा बजेट ल्याउनु पर्छ । तर कानुनमा भएको यो व्यवस्थालाई उल्लंघन गर्दै आठवटा पालिकाले मंसीर मसान्तसम्म बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङका अनुसार बजेट पेश नगर्नेमा बाँकेको डुडुवा गाउँपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका तथा सिराहाको औराही गाउँपालिका र कर्जन्हा नगरपालिका पर्दछन् । गाउँ तथा नगरसभामार्फत बजेट र आर्थिक ऐन पास नगर्दासम्म पालिकाले कर उठाउन र खर्च गर्न नपाउने प्रवक्ता तामाङले बताए ।

बजेट पास नगर्ने जनप्रतिनिधिलाई कारबाहीको व्यवस्था नरहेको प्रवक्ता तामाङले बताए । उनले भने, ‘जनताको सेवा र विकास गर्ने भनेर आएका जनप्रतिनिधिले जनताका लागि आउने बजेट पास गरेर सेवा गर्न सकेनन् भने पाँच वर्षपछि जनताकै मतबाट सजाय पाउँछन् ।’

लुम्बिनी प्रदेशमा ढिलो बजेट ल्याउने पालिका

लुम्बिनी प्रदेशमा सबैभन्दा पछि बजेट पास गर्ने बाँकेको डुडुवा गाउँपालिका रहेको लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कति पालिकाहरुले २१ दिनदेखि एक महिना ढिलो बजेट लयाएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापाले बताए ।

गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण समयमा बजेट पारित गर्न सकेका थिएनन् । लुम्बिनीका एक सय नौ पालिकामध्ये ३५ पालिकाले असारको तेस्रो सातासम्म पनि बजेट पारित गर्न सकेका थिएनन् ।

असार १० गतेभित्र गाउँसभा बसे पनि बजेट पारित गर्न नसक्नेमा सबैभन्दा धेरै बाँकेका सातवटा स्थानीय तह छन् । त्यस्तै रुपन्देहीका ६, कपिलवस्तुका पाँच, पाल्पा र दाङका चार/चार, रोल्पा र बर्दिया र रुकुम पूर्वका दुई÷दुई, नवलपरासी र अर्घाखाँचीका एक÷एक पालिकाले निर्धारित समयमा बजेट पारित गर्न सकेका थिएनन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका, कञ्चन, कोटहीमाई र गैडहवा गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिका, नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिकाले निर्धारित समयमा बजेट पारित गर्न सकेनन् । आर्थिक वर्ष २०७६÷७७ मा सांस्कृतिक नगरपालिका रुपन्देहीले पनि अन्य पालिकाभन्दा ढिलो बजेट पास गरेको थियो ।

बजेट ढिलो ल्याउँदा हुने घाटा

कानुनबमोजिम बेलैमा बजेट पास नगर्दा नेपाल सरकारले दिने सबै प्रकारका अनुदान र राजस्व बाँडफाँटको रकम दिन ढिलो हुने अर्थ मन्त्रालयले बताएको छ । केन्द्रबाट स्थानीय तहमा चार प्रकारका अनुदान, राजस्व बाँडफाँट तथा प्राकृतिक स्रोतको बाँडफाँटमार्फत बजेट जाने गर्छ । सोही स्रोतलाई आधारमा मानेर स्थानीय तहले अनुमानित बजेट बनाएर गाउँसभामा प्रस्तुत गर्नुपर्छ ।

बजेट समयमा पेश नगर्दा र पारित नगर्दा मात्रै स्थानीय तहले आफ्नो कार्यसम्पादन मूल्यांकनमा १० अंक गुमाउँछन् । यसरी अंक गुमाउँदा वा कार्यसम्पादनमा कम अंक ल्याउँदा उनीहरुले वार्षिकरुपमा संघ सरकारबाट पाउने समानीकरण अनुदान घट्न जान्छ ।

गाउँसभा बस्न नसक्दाको असर

गाउँसभा समयमै बस्न नसक्दा चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनै पनि कर्मचारीले पाएका छैनन् । यसको विरोधमा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तीन दिनसम्म ताला लगाएका थिए । गाउँसभा समयमा बस्न नसक्दाको असर सबैभन्दा शिक्षा र स्वास्थ्यमा परेको सहिद स्मारक माध्यमिक विद्यालय कम्दीका शिक्षक राजेन्द्रराज सिक्देलले बताए ।

करिब ६ महिनासम्म शिक्षक कर्मचारीले तलब नपाउँदा बाल विकासका शिक्षकलाई दैनिक गुजारा चलाउन समस्या हुनुका साथै विद्यालयमा बालबालिकाका लागि नेपाल सरकारले लागु गरेको दिवा खाजा कार्यक्रमसमेत प्रभावित भएको शिक्षक सिक्देलले बताए । सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन । यसले गर्दा ज्येष्ठ नागरिकहरुले उपचारमा समस्या भोगीरहेका छन् ।

स्वास्थ्य चौकीमा सिटामोलसमेत अभाव छ भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

 

प्रकाशित मितिः बिहिबार, पुस ७, २०७९     1:54:39 PM  |