नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ र १६ को वडासचिवको जिम्मेवारी अधिकृत तेजबहादुर सिंहले सम्हालीरहेका छन् । दुईवटा वडाको जिम्मेवारी निभाउनु स्वयम् कर्मचारीका लागि पनि सहज छैन भने सेवाग्राहीका लागि त झनै असहज छ ।
सेवाग्राहीहरुले अर्काे वडामा गएका वडासचिवलाई कुरेर बस्नुबाहेक विकल्प हुँदैन । वडासचिव सिंह भन्छन्, ‘एउटा वडामा गयो, अर्काे वडाकाले हाम्रो वडासचिव त्यो वडामा किन गयो भन्छन् । त्यो वडामा गयो अर्काे वडाकाले गुनासो गर्छन् ।’ उनले जनताको गुनासो नआउने गरी काम गर्न खोज्दा पनि दुईवटा वडासचिवको जिम्मेवारी निभाउँदा जनताले गुनासो गर्ने ठाउँ भने रहिहाल्ने बताए ।
स्थानीय सरकारलाई नजिकको सिंहदरबारकारुपमा अथ्र्याइन्छ । सरल र सहजरुपमा सेवासुविधा प्राप्तिका लागि स्थानीय सरकारको परिकल्पना गरिएको हो । सेवाप्रवाहमा सबैभन्दा अग्रपंक्तिमा रहने कर्मचारी पंक्ति नै हो । तर, नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय सरकारको दोस्रो कार्यकालको सुरुवात भइसक्दा पनि वडा तहको कर्मचारीको नेतृत्व गर्ने वडासचिव नै पूर्ति हुन सकेका छैनन् । सुरुवातदेखि नै कुनै न कुनै दुई वा दुईभन्दा बढी वडाहरुमा एकजना वडासचिवले नै काम धान्नुपर्ने अवस्था छ ।
अहिले पनि १५ वटा वडामा सधैं उपलब्ध हुने वडासचिव छैनन् । ती वडामा खटिएका वडासचिवले अर्काे एक वडाको पनि जिम्मेवारी सम्हाली रहेका छन् । उपमहानगरपालिकाका अनुसार वडा नम्बर १ र २०, ३ र १२, ६ र १९, वडा नम्बर ७, वडा नम्बर ९ र १०, वडा नम्बर १५ र १६ तथा वडा नम्बर १७ र १८ सधैं उपलब्ध हुने वडासचिव छैनन् । यी जोडा वडाहरुमा एकजना वडासचिवले पालो मिलाएर काम गर्दै आएका छन् ।
उपमहानगरपालिका वडा नम्बर २१ साविकमा गाविस थियो । उपमहानगरपालिकामा गाभिएसँगै उक्त वडावासीलाई करको बोझ बढेको छ । साथै स्थानीयका अपेक्षा पनि बढेका छन् । तर सोही वडामा सधैं उपलब्ध हुने वडासचिव छैनन् । वडा नम्बर २१ र वडा नम्बर १४ मा एउटै वडासचिवले जिम्मेवारी निभाइरहेका छन् ।
वडाध्यक्ष राजकुमार शाहु साविकको गाविसबाट उपमहानगरपालिकामा जोडिए पनि वडावासीहरुका लागि सहज सुविधा पु¥याउन अनेक चुनौती रहेकाबेला वडासचिवको व्यवस्थापन हुन नसक्दा सेवाहरु प्रभावित भइरहेको बताउँछन् । उनले वडासचिवले दुईवटा वडा भ्याउनुपर्दा स्वभाविकरुपमा समस्या हुने गरेको बताए । वडासचिवले कतिपय कामहरुको जिम्मेवारी पाँचौं तहका कर्मचारीहरुलाई दिएर व्यवस्थापन गरिरहेको बताए ।
वडा नम्बर १ र २० को वडासचिवको जिम्मेवारी निभाइरहेका वडासचिव नेवलाल घर्ती वडा नम्बर २० को खाता सञ्चालनको जिम्मेवारी मात्रै निभाउने गरी खटाइएको बताउँछन् । वडा नम्बर २० मा आवश्यक परेकाबेला समय मिलाएर पुग्ने गरेको उनले बताए । उनी नयाँ आएका अधिकृतहरुले अन्यन्त्र सरुवा लिएर जाने, माथिल्लो तहमा परीक्षा उत्तीर्ण गरेर जानेलगायतका कारण वडासचिवको अभाव भइरहने गरेको बताए । उपमहानगरपालिकामा वडासचिवलगायत कर्मचारीहरुको व्यवस्थापनको समस्याका विषयमा अध्ययनका लागि एक समिति पनि गठन गरिएको जनाइएको छ ।
वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालको संयोजकत्वमा रहेको उक्त समितिले अहिले वडाहरुमा रहेका कर्मचारीहरुको संख्या र कति कर्मचारी आवश्यक छन् भन्नेबारेमा अध्ययन गरेर प्रतिवेदन दिनेगरी जिम्मेवारी तोकिएको छ । उक्त समितिको प्रतिवेदनपछि माथिल्ला सरकारहरुसँग कर्मचारीहरुको पूर्तिका लागि पहल गरिने जनाइएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट उपमहानगरपालिकामा कर्मचारीको पूर्ति हुन नसक्दा समस्या रहेको बताउँछन् । उक्त समस्यालाई ध्यानमा राखेर अहिले उपमहानगरपालिकामा रहेका कर्मचारीहरुको यथार्थ अवस्थाको अध्ययन गर्नका लागि समिति गठन गरिएको र उक्त अध्ययनको निष्कर्षअनुसार अघि बढ्ने उनले बताए ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल भने अधिकृतहरु स्थानीय तहमा नटिक्ने समस्याले वडासचिवको पदपूर्ति हुन नसकेको बताउँछन् । संघीय सरकारले निजामति ऐन बनाएर त्यसअनुसार प्रदेश र स्थानीय सरकारले पनि ऐन बनाएमा मात्रै समस्याको दीर्घकालीन समाधान हुने उनले बताए । यद्धपि अहिलेको समस्या समाधानका लागि प्रयास सुरु भइसकेको उनले उल्लेख गरे ।