16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

अमेरिकी राजदूतको पहिलो भ्रमण पश्चिम नेपालमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ४, २०७९  

नेपालगन्ज ।

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन पाँच दिनअघि सुर्खेतको वीरेन्द्रनगरमा दुई महिलाले सञ्चालन गरिरहेको जैविक मल उत्पादन गर्ने फर्ममा पुगे । उनले आफैँ सेल्फी भिडियो खिच्दै भने, ‘यी प्रभावशाली युवा महिलाहरूले जैविक मल उत्पादन व्यवसाय सुरु गर्नुभएको छ र उहाँहरूको व्यापार फस्टाउँदो छ । युएसएआइडी नेपालको प्राइभेट सेक्टर इनोभेसन च्यालेन्ज को विजेता एजिभेन्चर, वीरेन्द्रनगरलाई बधाई ! तपाईँहरूले अझै धेरै प्रगति गरेको देख्न मन छ ।’

राजदूत थम्पसनले बाँकेसहित केही जिल्लाको भ्रमण गरेका छन् । थम्पसनले युएसएआइडीको आर्थिक लगानीमा सञ्चालित विभिन्न परियोजनाको स्थलगत अवलोकन गरेको राजदूतावासको फेसबुक पेजमा उल्लेख छ ।

राजदूत थम्पसनले उपत्यका बाहिरको पहिलो भ्रमणका क्रममा थारू महिला कृषक, सामुदायिक स्वास्थ्य स्वयम्सेवक, युवा अगुवा, पारलैंगिक अभियान्ता र मानव बेचबिखनविरुद्ध कार्यरत नागरिक समाजसँग भेटघाट गरेको राजदूतावासले जनाएको छ । राजदूतावासले भनेको छ, ‘यसरी उहाँ दिन प्रतिदिन नेपाली, सीमान्तकृत समुदाय र देशमा परिवर्तन ल्याउनका लागि कार्यरत व्यक्तिहरूको प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ ।’

राजदूत थम्पसनले युएसआइडीमार्फत बाँकेका विभिन्न गैरसरकारी संस्थामार्फत सञ्चालित परियोजना र युएसएआइडी संबद्ध सामाजिक संघसंस्थाका अगुवाहरुसँग पनि भेट गरेका थिए । उनले युएसआइडीबाट सञ्चालित विभिन्न परियोजनाबाट लाभान्वित किसानहरु पनि भेटेका छन् । उनको टोलीमा युएसएआइडी नेपालका निर्देशक सेपिडे केभान्शाड पनि सहभागी थिए ।

उनीहरुले भेरी–बबई डाएभर्सन आयोजनाको सुरुङ निर्माणस्थलमा पुगी त्यहाँको प्रगतिबारे पनि जानकारी लिएका छन् । यस्तै आयोजनाको प्रभावबारे कामदार तथा स्थानीय समुदायसँग कुराकानी गरेकोे राजदूतावासले जनाएको छ । उक्त आयोजनामा एक अमेरिकी कम्पनीको अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको छ ।

राजदूत थम्पसनले आफ्नी श्रीमतीसहित सुर्खेतको काँक्रेविहार मन्दिर पनि भ्रमण गरेका थिए । भ्रमणका क्रममा राजदूत थम्पसन, श्रीमती थम्पसन र युएसएआइडी नेपालका निर्देशक सेपिडे केभन्शाडले माओवादी द्वन्द्वकालमा विस्थापित भएका केही परिवारलाई पनि भेटेका छन् । राजदूतले युएसएआइडीको सहयोग प्राप्त विद्यालयमा पुगी बालबालिकाको जीवनस्तरमा कसरी सुधार आइरहेको छ भन्ने कुराको जानकारी पनि लिएको पनि जनाइएको छ ।

सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीले नेपाल सरकार, समुदाय, विद्यालय र अभिभावकहरूसँग सहकार्य गरिरहेको र युएसएआइडीले नेपालका १० जिल्लाका तीन हजार चार सयभन्दा बढी विद्यालयमा अपांगता भएका बालबालिकाको शिक्षा सुधारका लागि काम गरिरहेको राजदूतावासले जनाएको छ । राजदूतावासले राजदूतले अन्य क्षेत्रको पनि भ्रमण गर्नसक्ने जनाएको छ ।

प्रकाशित मितिः सोमवार, पुस ४, २०७९     11:37:37 AM  |