7 September 2024  |   शनिबार, भदौ २२, २०८१

पुनः जीर्ण बन्दै रानीतलाउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २५, २०७९  

समग्रमा रानीतलाउ नेपालगन्जमा ‘घुम्न जाने’ ठाउँहरुको सूचीमा पर्न थालेको थियो । तर, अहिले त्यतिबेला बनाइएका अधिकांश संरचनाहरु पुनः जीर्ण बनेका छन् । बालबालिकाले खेल्ने मनोरञ्जनका साधनहरु बिग्रिएका छन् । फूलबारी पनि जीर्ण भएको छ । बिग्रेका साधनहरुको मर्मतसम्भारतिर लामो समय भइसक्दा पनि रानीतलाउ सञ्चालनको जिम्मा लिएको पक्षको ध्यान गएको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जमा बालबालिकाका फुर्सदको समय बिताउनका लागि सीमित ठाउँहरुमध्ये एक हो रानीतलाउ । यो मानवनिर्मित तलाउ नेपालगन्जको इतिहासको निसानी पनि हो । तर, संरक्षण र सम्वद्र्धनको अभावमा जीर्ण अवस्थामा रानीतलाउ स्थानीय तह लागू भएर नेपालगन्ज उप–महानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि पुनर्निर्माण गरिएको थियो ।

पुनर्निर्माणमा उप–महानगरपालिकाको २२ लाख ७८ हजार रुपैयाँ खर्च भएको थियो । तलाउमा जलविहार र बालबालिकाको मनोरञ्जनका साधन एवं फुर्सदको समय बिताउनका लागि आवश्यक संरचनाहरु बनाइएको थियो । तलाउ परिसरमा ¥याम्प निर्माण गरिएको थियो भने फुलहरु रोप्नका लागि क्यारीहरु निर्माण गरिएको थियो ।

समग्रमा रानीतलाउ नेपालगन्जमा ‘घुम्न जाने’ ठाउँहरुको सूचीमा पर्न थालेको थियो । तर, अहिले त्यतिबेला बनाइएका अधिकांश संरचनाहरु पुनः जीर्ण बनेका छन् । बालबालिकाले खेल्ने मनोरञ्जनका साधनहरु बिग्रिएका छन् । फूलबारी पनि जीर्ण भएको छ । बिग्रेका साधनहरुको मर्मतसम्भारतिर लामो समय भइसक्दा पनि रानीतलाउ सञ्चालनको जिम्मा लिएको पक्षको ध्यान गएको छैन । हाल एनएस कन्स्ट्रक्सनले रानीतलाउ सञ्चालन गरिरहेको छ । वडा रानीतलाउ अवस्थित वडा नम्बर ८ का अध्यक्ष रजनिश बाजपेयी रानीतलाउ पूनः जीर्ण बन्न थालेकोमा आफूहरु पनी चिन्तित रहेको बताउँछन् ।

अहिले रानीतलाउ घाटामा रहेको उनले बताए । जिम्मा लिएको कम्पनीलाई जीर्णाद्धार गर्न निर्देशन दिइएको र सुधार गर्ने वाचा कम्पनीले गरेको उनले बताए । ‘रानीतलाउ बिग्रिएको विषयमा मैले चासो राखेको छु । बैंकको केही समस्याले काम गर्न अप्ठ्यारो भएको बताएका छन् । चाँडै सुधार्ने भनेका छन् । घाटामा नजानका लागि पनि मानिसहरु आउने वातावरण बनाउनुपर्छ । हामी त्यसमा लागिरहेका छौँ भनेका छन्,’ वडाध्क्ष बाजपेयीले भने ।

रानीतलाउ सञ्चालनको सुरुका महिनामा पर्यटकहरु आकर्षित भएका थिए । नेपालगन्जका स्थानीय मानिसहरु, व्यवसायीहरु र बाहिरबाट नेपालगन्ज पुग्नेहरु समय बिताउन पुने ठाउँ बनेको थियो रानीतलाउ । निवर्तमान मेयर डा. धवल शमशेर राणाको चुनावी नारामा एक आकर्षक नाराको रुपमा रानी तलाउ पुनः सञ्चालन पनि थियो ।

उनले आफ्नो वाचाअनुसार रानी तलाउ पुनर्निर्माण गरेर सञ्चालनमा पनि ल्याएका थिए । रानी तलाउ पुनर्निर्माणसँगै तलाउमा डुंगा सैर गर्ने व्यवस्था पनि मिलाइयो । जसले तलाउलाई नेपालगन्जको एक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने संकेत देखाएको थियो । पुननिर्माणपछि २०७५ साल कात्तिक २० गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको रानीतलाउ करिब दुई वर्षमै अस्तव्यस्त हुन थालेको थियो ।

उद्घाटनपछि केही समय उप–महानगरपालिका र वडा नम्बर ८ को सहकार्यमा सञ्चालन गरिएको रानीतलाउ त्यसपछि ठेक्कामा सञ्चालन गर्न दिइएको थियो । एक नीजि कम्पनीलाई वार्षिक १८ लाख रुपैयाँ उप–महानगरपालिकालाई बुझाउने र हरेक वर्ष ५ प्रतिशतले बढाउने गरी ठेक्कामा दिइएको थियो । तलाउमा प्रवेश शुल्क प्रतिव्यक्ति पाँच रुपैयाँ र डुंगा सैर गरेको प्रतिव्यक्ति २५ रुपैयाँ लिने गरिएको थियो ।
तलाउ ठेक्कामा दिइएको करिब डेढ वर्षमै कोरोना महामारीले लकडाउन सुरु भयो ।

कोरोना महामारी सुरु हुनुअघि नै तलाउको मुख्य आकर्षण चारवटा बोटहरु चल्न नसक्नेगरि तलाउको एक कुनामा थन्किसकेका थिए । लकडाउनपछि त तलाउमा प्रवेश निषेध नै भयो । त्यसपछि ठेक्का लिएको कम्पनीले उप–महानगरपालिकालाई कबोल गरेको रकम बुझाउन सकेन ।

तलाउमा पानी भर्न मोटरसमेत चलाउन नसक्ने अवस्था आएपछि उक्त कम्पनीले तलाउबाट हात झिक्यो । अहिले सञ्चालनको जिम्मा लिएको कम्पनीले पनि सञ्चालन खर्च धान्न नसकिरहेको बताउने गरेको छ । कम्पनीले तलाउमा माछापालन पनि गर्न पाउने अधिकार दिइएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २५, २०७९     9:35:52 AM  |