बाँके ।
लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा ६ राजनीतिक दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।
त्यतिबेला नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको उपस्थिति थियो । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टी गरी आठ दलले चुनाव जितेका छन् ।
प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समेत कुल सदर मतको १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएर एकएक सिट पाउने छन् । नेकपा माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका तीनजना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएका थिए । ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा १० वटा दलले १.५ प्रतिशत थ्रेसहोल्डअर्थात २८ हजार तीन सय ६ मत कटाएका हुन् ।
लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुनेछन् । सबैभन्दा धेरै पाँच लाख ७० हजार नौ सय २१ मत पाएको नेकपा एमालेले ११ देखि १२ सिट पाउने अनुमान छ । चार लाख ९९ हजार नौ सय ८६ मत ल्याएको नेपाली कांग्रेसले नौ देखि १० सिट, एक लाख ९८ हजार चार सय ५० मत पाएको माओवादी केन्द्रले पाँच सिटसम्म पाउने अनुमान छ । एक लाख २७ हजार चार सय ५२ मत पाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सिट, एक लाख २५ हजार पाँच सय ५१ मतसहित पाँचौ ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सिट पाउनेछ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६ सय पाँच मत पाएर छैठौं दल बन्दा समानुपातिकमा एक सिट पाउने छ । यस्तै ६० हजार आठ सय ८६ मत पाएको जनता समाजवादी पार्टीले पनि समानुपातिकमा एउटा सिट पाउने छ । लुम्बिनी प्रदेशमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको एमाले ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्ष १७ र समानुपातिकमा १० सिट प्राप्त गरेको छ । दुवै प्रणालीमा गरी एमालेको २९ र कांग्रेसको २७ सिट भएको छ । त्यस्तै माओवादीले प्रत्यक्ष पाँच र समानुपातिकमा चार सिट प्राप्त गरेको छ ।
त्यस्तै प्रत्यक्षतर्फ दुई-दुई सिट जितेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पनि दुई-दुई सिट पाएका छन् । प्रत्यक्षतर्फ दुई÷दुई सिट जित हात पारेका जसपा र लोसपाले भने समानुपातिकतर्फ भने एक-एक सिट मात्र पाएका छन् । त्यस्तै प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ दुई सिट पाएको छ ।
प्रत्यक्षतर्फ नतिजाविहीन रहेका नेकपा एस र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ एक-एक सिट प्राप्त गरेका छन् । लुम्बिनीमा प्रत्यक्ष ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित हुन्छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । यदि अहिलेकै सत्तारूढ गठबन्धन कायम हुने हो भने कांग्रेसको २७, माओवादीको नौ, एस र जनमोर्चाको एक-एक गरी ३८ सिट हुन्छ । सरकार बनाउन सत्तारूढ गठबन्धनलाई ६ सिट अपुग हुन्छ ।