7 September 2024  |   शनिबार, भदौ २२, २०८१

विद्यालयको जग्गा अतिक्रमण प्रकरणः पढ्दै कमाउँदै कार्यक्रमलाई जग्गा अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १८, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बालशिक्षा माध्यमिक विद्यालय भरैयाको जग्गा अतिक्रमित हुँदा यहाँ पठनपाठनमा समस्या भएको छ । चार बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा वर्षौंदेखि अतिक्रमण हुँदा विद्यार्थीको अध्ययन अध्यापनमा समस्या भएको हो । विद्यालयमा भौतिक संचरना, खेलमैदानका साथै अन्य संरचना बनाउनसमेत जग्गा अभाव भएको प्रधानाध्यापक टर्कबहादुर खत्रीले बताए ।

उनका अनुसार विद्यालय बिस्तारै शैक्षिक गुणस्तरतर्फ लम्किँदैछ । तर, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण तथा जमिनको आवश्यकता पर्ने भए पनि अतिक्रमित जग्गा विद्यालयले भोगचलन गर्न नपाउँदा समस्या भइरहेको उनको भनाइ छ । ‘हामी विद्यालयलाई नमुना बनाउने अभियानमा छौँ । सोहीअनुसार विभिन्न शैक्षिक क्रियाकलाप अघि बढाइरहेका छौँ,’ प्रअ खत्री भन्छन्, ‘हाम्रो विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएको छ । त्यसका लागि हामीलाई प्रशस्तै जग्गा आवश्यक पर्छ ।’

चालु शैक्षिक सत्रदेखि लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रमका लागि प्रशस्त जग्गा अत्यावश्यक भए पनि अतिक्रमणका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भइरहेको उनी बताउँछन् । नमुना विद्यालय बनाउने योजनासहित पाँच वर्षीय योजना निर्माणमा समेत जुटेको खत्रीले बताए । यस्तै विद्यालयको शैक्षिक विकासकै लागि यसअघि नगरस्तरीय अभिमुखीकरण, अभिभावक भेलाका साथै विभिन्न सरोकारवाला विज्ञहरुसँग समेत छलफल भएको विद्यालयले जनाएको छ ।

कोहलपुर नगर क्षेत्रमा रहेका सरकारी विद्यालयका प्रधानाध्यापकको बैठकबाट समेत अतिक्रमित जग्गाको खोजी गर्ने निर्णय भएको छ । विद्यालयको घोषित र निर्णयकै आधारमा अहिले कार्यक्रम लागू गर्नुका साथै विद्यालयका अन्य भौतिक संरचना निर्माणका लागि अतिक्रमित जग्गाको भोगअधिकारका लागि प्रयासरत छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा पनि जग्गा समस्याकै कारण विद्यालयको शैक्षिक क्रियाकलापमा समस्या भएको बताउँछन् । उनका अनुसार विद्यालयको चारकिल्ला क्षेत्र कायम भएका अधिकांश क्षेत्रमा अहिले व्यक्तिले घर निर्माण गर्नुका साथै भोगचलन गरिरहेका छन् ।

कार्यक्रम कार्यान्वयनमा समस्या

चालु शैक्षिक सत्रदेखि विद्यालयमा पढ्दै कमाउँदै लागू भएको छ । सो कार्यक्रमका लागि संघीय सरकारले स्थानीय सरकारमार्फत १० लाख रूपैयाँ विद्यालयलाई प्रदान गरेको छ । अहिलेसम्म विद्यालयले पाँच लाख रूपैयाँ मात्रै पाएको छ । बाँकी कार्यक्रमका लागि थप पाँच लाख रूपैयाँ नगरपालिकाले दिन बाँकी रहेको विद्यालयले जनाएको छ ।

प्रअ खत्रीले विद्यालयमा च्याउ खेती र मौरीपालन सुरु भइरहेको बताए । मह बिक्री गर्ने अवस्थामा पुगेको उनको भनाइ छ । सोही कार्यक्रमअन्तर्गत ड्रागन, केरा र तरकारी खेती गर्ने कार्यक्रम छ । गाईपालनका साथै होम–स्टे सञ्चालनसम्मको योजना बनाएको छ, विद्यालयले । यी सबै योजना तथा कार्यक्रम सम्पन्न गर्न सात बिगाहभन्दा बढी जग्गा आवश्यक पर्छ । तर विद्यालयको आधाभन्दा धेरै जग्गा अतिक्रमणको चपेटामा रहेका कारण कार्यक्रम कार्यान्वयनमा अन्योल थपिएको छ ।

निकै मेहनत र योजनाका साथ लागू गरिएको कार्यक्रम जग्गा अभाव भएकै कारण कार्यान्वयन नहुने हो की चिन्ताले सताउन थालेको खत्रीको भनाइ छ । अहिले विद्यालय मातहतमा दुई बिगाह चार कठ्टा मात्रै जग्गा छ ।

त्यसमा कूल १४ कोटासहित चारवटा भवन छन् । जग्गा अभावकै कारण विद्यार्थीलाई पठनपाठन गर्न र खेल समस्या भइरहेको छ । हाल विद्यालयमा कूल चार सय ३३ जना विद्यार्थी अध्ययनरत छन् ।
दुईजना बालविकास र एकजना खाजा बनाउने स्टाफसहित १३ जनाको जनशक्ति छ ।

जुन मावि विद्यालयका लागि अपुग जनशक्ति हो । विद्यालयमा चारजना निमावि शिक्षक कार्यरत छन् । तीमध्ये प्रअ खत्री मात्रै निमावि स्थायी शिक्षक हुन् । दुईजना नगर र एकजना संघीय अनुदानमा कार्यरत छन् । प्राथमिक तहमा एकजना स्थायी, एकजना अस्थायी र राहत शिक्षक छन् ।

प्रकाशित मितिः आइतवार, मंसिर १८, २०७९     12:44:05 PM  |