17 September 2024  |   मङ्लबार, अशोज १, २०८१

सन्दर्भः अन्तर्राष्ट्रिय अपांग दिवस: शिक्षा, स्वास्थ्य र जीवन निर्वाह मुख्य सवाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९  

नेपालगन्ज ।

जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्याको करिब दुई प्रतिशत अपांगता भएका व्यक्ति छन् । अपांगता भएका कूल जनसंख्याको ८९ दशमलव ३२ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन् भने १० दशमलव ६८ प्रतिशत मात्रै सहरमा बसोबास गर्छन् । बाँकेमा करिब १५ हजार व्यक्ति अपांगता भएको यस क्षेत्रमा काम गर्ने डेक नेपाल नामक संस्थासँग अनुमानित तथ्यांक छ ।

अपांगता भएका व्यक्तिलाई स्थानीय सकारमार्फत परिचयपत्र वितरण हुन्छ । उक्त परिचयपत्रका आधारमा गम्भीरखाले अपांगता भएका रातो र निलो परिचयपत्र प्राप्त व्यक्तिले मासिक क्रमशः चार हजार र दुई हजार ६ सय २८ रूपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् ।

अपांगता भएका नागरिकलाई सहायक सामग्री, तालिम, यातायात तथा अस्पतालमा छुट र विशेष शिक्षाको लागि छात्रवृत्तिलगायतको सुविधा दिने सरकारी नीति छ । संविधानअनुसार अपांगता भएका व्यक्तिको व्यवस्थापन र उनीहरु लक्षित सेवा प्रवाह स्थानीय सरकारको जिम्मामा छ । परिचयपत्रले अपांगता भएका व्यक्तिलाई केही सहजता त आएको छ ।

तर पाउनुपर्ने सेवा सुविधामा भने सुधार हुन नसकेको सम्बद्धहरु बताउँछन् । डेक नेपालमा आबद्ध नेपालगन्ज निवासी टेकराज जोशी सरकारले वितरण गर्ने सहायक सामग्रीको गुणस्तर कमजोर हुँदा प्राप्त सामग्री दीर्घकालीन हुन नसकेको बताउँछन् । यसका साथै अपांगता व्यवस्थापन (रोकथाम, उपचार तथा पुनस्र्थापना)नीति, रणनीति तथा १० बर्से कार्ययोजना २०७३–२०८२ मा जिल्ला अस्पतालमा अपांगता भएका व्यक्तिलाई चाहिने थेरापी, सहयोगी सामग्री र थेरापी निःशुल्क हुने व्यवस्था गरिएको छ । यसका साथै विभिन्न ९२ प्रकारका औषधि पनि सरकारी अस्पतालमा निःशुल्क पाउने व्यवस्था छ । ‘तर अस्पतालमा गयो भने प्रायः औषधि नै छैन भन्ने जवाफ आउँछ,’ राष्ट्रिय अपांग महासंघका नवनिर्वाचित अध्यक्ष देवीदत्त आचार्यले भन्छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्य अहिले स्थानीय तहले प्रदान गरिरहेको सेवामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । यसैगरी स्थानीय सरकारले आफ्ना नीति निर्माणका तहमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको सुनिश्चता गराउनुपर्ने उनले बताए । भत्तामा मात्रै केन्द्रित नभएर स्थानीय तहले अपांगता भएका व्यक्तिको आयआर्जनको व्यवस्थाका लागि पनि कार्यक्रम तय गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष आचार्य आर्थिक सशक्तिकरण, रोजगारी र स्वरोजगारी पनि अपांगता भएका व्यक्तिका लागि ठूलो चुनौती बनिरहेको बताउँछन् ।

उनले शिक्षा र सीप भएका अपांगता भएका नागरिकलाई रोजगारीमा राख्न स्थानीय प्रतिष्ठान र सहकारीलाई प्रोत्साहन गर्नेखालका कार्य ल्याउन स्थानीय सरकारलाई सुझाव दिए । आफैँ व्यवसाय गरी स्वरोजगार बन्न चाहने अपांगता भएका व्यक्तिका लागि सहुलीयत दरमा कर्जा प्रवाह गर्न र उनीहरूले उत्पादन गरेका सामग्रीको बजार व्यवस्थापन गर्न पनि स्थानीय सरकारले सहजीकरण गरिदिनु आवश्यक रहेको उनको भनाइ छ ।

महासंघका पूर्व अध्यक्ष मित्रलाल शर्मा पछिल्लो समय राज्यबाट अपांगताको अधिकारका काममा केही उल्लेखनीय काम भए पनि राजनीतिक सहभागितामा राजनीतिक दलले अपांगता भएका व्यक्तिलाई उपेक्षा गरेको बताउँछन् । भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नगन्य उम्मेदवार बनाइएको भन्दै शर्माले असन्तुष्टि जनाए । समानुपातिकमा पनि बाध्यकारी हुँदा नाम समावेश गरिएको तर प्राथमिकतामा पुछारमा राखिएको उनले बताए ।

अपांगता भएका बालबालिकाका लागि अर्काे महŒवपूर्ण सवाल हो शिक्षामा पहुँच । हरेक क्षेत्रका अपांगता भएका बालबालिकाले कम्तीमा आधारभूत शिक्षा आफ्नै गाउँठाउँमा पाउने वातावरण बन्नुपर्ने अपांगता अधिकारकर्मीहरु बताउँछन् । हालको स्थितिमा कान नसुन्ने, दृष्टिविहीन र अन्य गम्भीरखालका शारीरिक र बौद्धिक अपांगता भएका बालबालिका शिक्षा पाउनकै लागि आफ्नो घरगाउँभन्दा टाढाका आवासीय विद्यालयमा जानुपर्ने स्थिति छ । जसले गर्दा उनीहरू सानै उमेरमा अभिभावबाट छुट्टै बस्नुपर्ने बाध्यता छ । शिक्षा पाइरहेकाले पनि सामग्री र दक्ष शिक्षकको अभाव झेलिरहनुपरेको छ ।

अपांगतासम्बन्धी अर्काे महŒवपूर्ण सवाल हो, अपांगतामैत्री भौतिक संरचना । अधिकांश विद्यालय नै अपांगतामैत्री छैनन् । नयाँ बनेका सरकारी कार्यालय अपांगमैत्री बनाउने प्रयास थालिएको छ । तर ती पनि पूर्ण अपांगमैत्री छैनन् । नेपालगन्ज उपमहानगरपालिकामै पनि हिँड्न नसक्ने अपांगता भएका व्यक्ति भूँइतलाबाहेक अरु तलामा पुग्न सक्ने स्थिति छैन । अधिकांश सरकारी कार्यालयको हालत यस्तै छ ।

अपांग दिवसका अवसरमा विविध कार्यक्रम

अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा बाँकेमा पनि विविध कार्यक्रम गरिँदैछन् । दिवसको पूर्वसन्ध्यामा शुक्रबार साँझ काहेलपुर चोकमा दीप प्रज्वलन गरियो । शनिबार जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक र अन्तक्र्रियात्मक कार्यक्रमहरु गरिँदैछन् । नेपालगन्ज र कोहलपुरमा अपांगता सम्बद्ध संघसंस्था र सरकारी निकायको समन्यमा अन्तक्र्रिया कार्यक्रम हुँदैछन् ।

यसैगरी अपांग महासंघको आयोजनामा नेपालगन्ज, कोहलपुर र खजुरामा सडक नाटक प्रदर्शन पनि गरिँदैछ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांगता दिवस मनाउन थालिएको हो । यस वर्षको दिवसको नारा ‘समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू, पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन’ भन्ने रहेको छ ।

अन्तक्र्रियामा रोजगारीमा अपांगता समावेशी विकासका लागि नवप्रवर्तन, असमानता घटाउन अपांगता समावेशी विकासका लागि नवप्रवर्तन र अपांगता समावेशी विकासका लागि नवप्रवर्तनलगायतका विषयमा छलफल हुने लक्ष तोकिएको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९     9:46:54 AM  |