नेपालगन्ज ।
‘कुनैबेला एचआइभीलाई डरलाग्दो रोगका रुपमा लिइने गरिएको थियो । तर अहिले यसलाई अन्य रोगसरह सामान्य रुपमा लिने गरिएको छ । एचआइभी एड्स विरुद्ध लड्ने एआरटी नामक औषधिका कारण यो रोगका बिरामीको आयु बढ्ने र सामान्य जीवनयापन गर्नसक्ने अवस्था बनेपछि यसलाई अन्य रोगसरह नै मान्न थालिएको छ,’ भेरी अस्पतालका एचआइभी एड्स फोकल पर्सन डा. संकेत रिसालको भनाइ हो यो ।
तर अझैपनि ग्रामिण क्षेत्रबाट काम गर्न भारत तथा तेस्रो मूलुक जाने अधिकांश पुरुषहरुमा असुरक्षित यौन सम्पर्कका कारण यसको जोखिम कायमै रहेको डा. रिसाल बताउँछन् । जसका कारण उनीहरुका श्रीमती र सन्तानमा पनि संक्रमण देखिएको छ ।
यसैगरी असुरक्षित रुपमा यौन व्यवसाय गर्दा यसक्षेत्रका तेश्रोलिंगी समेत एचआइभी एड्स संक्रमणको जोखिममा देखिएका छन् । ‘यसलाई निर्मुल गर्न त सामाजिक र आर्थिकरुपमै रुपान्तरणको आवश्यकता छ । जबसम्म परिवारबाट टाढा रहेर काम गर्नुपर्ने परिस्थिति अन्त्य हुँदैन तबसम्म यसको जोखिम कायम नै रहन्छ,’ डा. रिसालले भने ।
बाँकेमा १८ वर्षमा एक हजार पाँच सय बढी एचआइभी संक्रमित व्यक्तिहरुले उपचार सेवा लिएको पाइएको छ । पश्चिम नेपालको प्रमुख उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पताल नेपालगन्जबाट सन् २००४ बाट हालसम्म एक हजार पाँच सय ४० जना एचआइभी एड्स संक्रमित बिरामिले उपचार सेवा लिएका हुन् ।
एक सय ९२ जनाको मृत्यु
सन् २००४ देखि हालसम्म भेरीमा उपचारमा आएका एक सय ९२ जनाको मृत्यु भएको छ । यसरी हेर्दा हरेक वर्ष औसतमा ८५ जना संक्रमितको मृत्यु हुन्छ । भेरी अस्पतालबाट हाल बाँकेका चार सय ११ सहित पाँच सय ४६ जनाले एआरटि सेवा लिइरहेका छन् । जसमध्ये महिला दुई सय ३४ र पुरुष दुई सय ४२ जना रहेका छन् ।
एआरटि सेवन गर्नेमा आठ जना तेश्रोलिंगी समेत रहेका छन् । त्यसैगरि २२ जना बालबालिकाले समेत एआरटि सेवन गरिरहेका छन् । जसमध्ये एआरटि सेवन गर्ने बालिका आठ जना र बालक १४ जना रहेका छन् ।
संक्रमित आमाबाट जन्मिएका कारण उनीहरुमा एचआइभी एड्सको संक्रमण देखिएको हो । पछिल्लो समय नियमित उपचारमा रहेका दर्जन बढी आमाहरुले स्वस्थ एचआइभी एड्स संक्रमणरहित बच्चा जन्माउन सफल समेत भएको भेरी अस्पतालले जनाएको छ । यसका साथै एआरटि उपचार लिइरहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको डा. रिसालको भनाइ छ ।
शून्यमा झार्ने लक्ष्य पूरा गर्न चुनौती
सरकारले सन् २०३० सम्म एड्सलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर मानिसहरुको आनीबानीमा परिवर्तन नदेखिएकाले लक्ष्य पुरा हुनेमा चुनौति देखिएको भेरी अस्पतालका एचआइभी एड्स फोकल पर्सन डा. संकेत रिसालले बताए ।
‘जबसम्म मानिसहरु एड्स सर्ने जोखिमका काममा संवेदनशिल देखिदैनन् तबसम्म यो संख्या घट्ने देखिदैन’ उनले भने, ‘सबैले रुघा, ज्वरो, कोरोना लगायतका रोग लाग्न नदिन सुरक्षा सावधानी अपनाए जस्तै एड्स हुन नदिनका लागि पनि चनाखो नभएसम्म जोखिम घट्दैन ।’ एड्स संक्रमितहरु सामान्य युवायुवती, तेस्रोलिंगी, स्वास्थ्यकर्मीदेखि राजनीतिकर्मी समेत रहेको उनको भनाइ छ ।
हाल सरकारले रक्तदान गर्ने, गम्भीर दुर्घटनामा परेका, अपरेशन गर्नुपर्ने बिरामी, गर्भवती महिलाको अनिवार्य एचआइभी जाँच गरेर स्कृनिङ गर्दै आएको छ । यसका साथै ईच्छुक व्यक्तिले सरकारी स्वास्थ्य संस्थाका निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँछन् ।
दिवसको अवसरमा आज विविध कार्यक्रम
बाँकेमा आज बिहीबार ३५औं विश्व एड्स दिवस मनाइने भएको छ ।
स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, एएचएफ नेपाल लगायत एड्स सम्बन्धी काम गर्ने एक दर्जन संघसंस्थाहरु छन् । ती संस्थाहरुको संयुक्त आयोजनामा प्रभातफेरी निकालिनुका साथै विभिन्न कार्यक्रमहरु गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बिहान ८ बजे भेरी अस्पतालबाट धम्बोझी चोकसम्म चेतनामूलक प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । धम्बोझी चोकमा एक औपचारिक कार्यक्रम गर्ने, सडक नाटक प्रदर्शन गर्ने, एचआइभी चाँज गर्ने, कण्डम प्रदर्शनी र वितरण गर्नेलगायतका कार्यक्रम रहेका छन् ।