खगेन्द्र दाहाल । नेपालगन्ज ।
राष्ट्रिय अपांग महासंघ नेपालको ९औँ महाधिवेसन तथा २१औँ वार्षिक साधारणसभा मंगलबारबाट नेपालगन्जमा सुरु भएको छ । महाधिवेशन तथा वार्षिक साधारणसभाको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले उद्घाटन गरे ।
महाधिवेशनको उद्घाटन गर्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले कसैसँग कुनै भेदभाव नगरि सबै नागरिकलाई समानरुपमा हेरेको जनाउँदै सोहीअनुरूप कार्यान्वयन हुनुपर्ने बताए ।
उनले अपांगता भएका नागरिकलाई सरकारले विशेष महŒव दिएर उनीहरुलाई पनि अवसर र अधिकार दिनुपर्नेमा जोड दिए । महासंघले अपांगता भएका व्यक्तिको हक अधिकारको लागि, बहस, पैरवी तथा अन्य विषमा आवाज बुलन्द गर्दै आएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने कुरामा होस् वा अन्य हरेक पक्षमा महासंघले आगामी दिनमा समेत अझै सशक्त भएर लाग्नुपर्नेमा मुख्य न्यायाधीश बागचन्दको जोड थियो ।
महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनको उद्घाटन कार्यक्रममा शर्माले परिवारबाट नै अपांगता भएक व्यक्ति विभेदको शिकार भएको बताएका छन् । आगामी दिनमा यी सबैलाई चिर्दै सवल, सक्षम र सुशासन योग्य नेतृत्व चयन गर्नु सबै लाग्न पर्नेमा जोड दिए ।
राष्ट्रिय अपांग महासंघ नेपालका पूर्व अध्यक्ष वीरेन्द्रराज पोखरेलले अपांगताको परिभाषालाई अझै स्पष्ट पार्न नसकिएको बताए । मानव अधिकारको आयाममा नेपाल सरकारले महासंघले गरेजस्तो विषय, सीआरपीडीको विषय, दिगो विकासको मध्यावधि लक्ष्य अपांगताको विषय नै समावेश नभएको भन्दै दुखेसो पोखे । महासंघका अर्का पूर्वअध्यक्ष सुदर्शन सुवेदीले अबको युग परिवर्तनको युग भएको बताए । अपांग महासंघ अब भोट बैंक होइन, अब परिवर्तनको बाटोतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
‘अपांगताको अभियानको नाममा हामी मुखिया बनेका छौं, हामी गाउँमुखी हुन सकेका छैनौं, नयाँ नेतृत्वलाई कसरी सघाउने, पहिलाको नेतृत्वले गरेर राम्रा कामको अनुसरण गरौं,’ उनले भने । उक्त अवसरमा बोल्दै महासंघका पूर्वअध्यक्ष दिपक कोइरालाले अपांगता भएका नागरिकका लागि सरकारले विशेष प्रकारको योजना र कार्यक्रम नबनाएसम्म अपांगता भएकाहरुको समस्या समाधान नहुने बताए । राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठले अंपागता भएका न्यूनतम जीवन निर्वाहका सवालमा हामी सफल भयौं कि भएनौं ? राज्यका हरेक निकायमा नेतृत्व गर्न सक्ने हामी भइसक्यौ ।
हामीले योजना बनाउँदा अरुका लागि हेरेर बनाउ जोड दिए । दूरदराजमा रहेका अपांगता भएका व्यक्तिहरुको बारेमा पनि योजना बनाउँदा समेटिनुपर्ने उनले उल्लेख गरे । हाल १० प्रकारका अपांगता भएको व्यक्तिको पहिचान भइसकेको छ । समाजवादी अपांगता संगठन नेपालका रामप्रसाद ढुंगानाले स्थानीय तहहरुले यथोचित मात्रामा बजेट नछुट्याउँदा स्थनीय तहमा कार्यक्रम सहजरुपमा गर्न नसकिएको बताए । अभियानाई स्थानीय पालिकाहरुमा अझै परिस्कृत गर्दै लैजानुपर्ने देखिएको ढुंगानाले उल्लेख गरे ।
नेपाल राष्ट्रिय प्रजातान्त्रिक अपांग संघका देवकुमारी पराजुलीले महासंघ अझै संगठित भएर लागि पर्न आवश्यक रहेको बताए । ‘महासंघ यस्तो साझा संस्था बन्न सकोस् की सबैको साझा महासंघ बनोस्,’ उनले भने । राजनीतिकरुपमा महासंघले कुनै नेतृत्व स्वीकार नगरोस् भन्ने चाहना रहेको उनी बताउँछन् । महासंघ अनुशासन समिति संयोजक टेकनाथ न्यौपानेले अपांग महासंघ अपांगता क्षेत्रको राष्ट्रिय धरोहर भएको बताए । राष्ट्रिय अपांगता संगठन नेपालका केन्द्रीय सचिव जगदिशप्रसाद अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतले अपांगता भएका नागरिकलाई पनि अन्य नागरिक सरह अवसर र अधिकार दिनुपर्नेमा जोड दिए ।