मिसन संवाददाता, नेपालगन्ज, ४ मंसीर
नेपालगन्जको धम्बोझी चोकको अर्काे परिचित नाम हो, ‘वीरेन्द्र चोक’ । चोकमा रहेको राजा वीरेन्द्रको शालिक २०६२÷०६३ को आन्दोलन ताका फोडिएको थियो । यो चोक बेलाबेला शालिक राजनीतिको सिकार बन्छ । कसैले भन्छन्, ‘यस चोकमा राजाको शालिक पुनस्र्थापना गर्नुपर्छ ।’ कसैले भन्छन्, ‘हटाइसकेको शालिक किन राख्ने ?’ राजनीतिक लाभहानीको जोडघटाउमा अल्झिएको यही चोकमा नेपालगन्ज–१ निवासी चन्द्रकला उप्रेतीको एक नमिठो अतित अल्झिएको छ । उनी रहेक वर्ष एक साँझ यस चोकमा आउँछिन् । आफ्ना अनाहकमा वेपत्ता पारिएका श्रीमान्को सम्झनामा दीप जलाउँछिन् । अश्रु अर्पण गर्छिन् । र, राज्यलाई उसले गरिरहेको अन्याय सम्झाइरहन्छिन् ।
कुरा दुई दशकअघिको हो । जतिबेला चन्द्रकला र उनका श्रीमान्को जीवन एक व्यापारी दम्पत्तिका रुपमा चलिरहेको थियो । २०६० मंसीर २३ गते ५ बजेसम्म श्रीमान्सँगै धम्बोझी चोक नजिकै रहको पसलमा बसेकी चन्द्रकला खाना पकाउन घरतिर निस्किइन् । खाना त पाक्यो । तर, खान श्रीमान् आइपुगेनन् । कुर्दाकुर्दै रात बित्यो । चन्द्रकला घर गएको बेला साँझ ६ बजेतिर पसल नजिकै दारी काट्न निस्किएका बेला राँझा हेडक्वाटर प्रितना मुख्यालयबाट आएको सेनाले भुपेन्द्रलाई नियन्त्रणमा लिएछ । राजा वीरेन्द्रको शालिकमुनि भुपेन्द्रसहित अर्का सुनिल क्षेत्री भन्ने व्यक्तिलाई केही घण्टासम्म राखेछ । त्यही घेरामा बस्दा भुपेन्द्रले जुत्ता पसलमा काम गर्ने भाइलाई सेनाले आफूलाई लगेको कुरा घरमा बताइदिन भनेका रहेछन् । सेनाको डरले उनले त्यो साँझ चन्द्रकलालाई घटना बताउन पाएनन् । भोलिपल्ट बिहानै चन्द्रकला कहाँ उक्त खबर पुग्यो ।
त्यसपछि सुरु भएको श्रीमान्को खोजीका लागि चद्रकलाको दौडधुप अझै चलिरहेको छ । सुरुमा सबैले उनलाई आफन्त र चिनेजानेकाले ‘व्यापारी हो, छोडिदिन्छ,’ भनेर आश्वासन दिए । सेना कहाँ खसी पु¥याउने एक व्यापारीले भुपेन्द्रलाई ब्यारेकमा देखेको बताएपछि उनी सेनाले छोडिदिनेमा थप आशावादी भइन् र चार दिनपछि उनी राँझा ब्यारेकमा गएर कर्णेल राजेन्द्र गिरीलाई भेटिन् । तर, कर्णेलको जवाफले चन्द्रकलालाई छांगाबाट खसेझै बनाइदियो । उनले सेनाले पक्राउ गरेको छैन भने फकाईदिए । यता १७ दिनपछि छुटेर आएका भुपेन्द्रसँगै पक्राउ परेका व्यक्तिले पक्राउ परेपछिको तीन रात सँगै राखेपछि भुपेन्द्रलाई अलग गरेको बताए र ब्यारेकमा यातना पाएको पनि खुलाए । त्यसपछि चन्द्रकलालाई श्रीमान् ‘व्यापारी हुन्, छाडिहाल्छ’ भन्ने विश्वास लाग्न छोडे । उनी न्याय दिने भनेर भनिएका निकाय धाउन थालिन् । राष्ट्रिय मानवअधिकार आयोगदेखि अनेक निकायमा पुग्दा पनि कुनै अत्तोपत्तो लागेन ।
त्यतिबेला ११ र ८ वर्षका रहेका छोरा र ९ वर्षकी रहेकी छोरीको लालनपालन अब चन्द्रकला एक्लैले गर्नु थियो । चन्द्रकलाले एक संस्थाबाट चाउमिन बनाउने तालिम लिइन् । एक किलो मैदाबाट चाउमिन उत्पादन सुरु गरिन् । छोराले साइकलमा सामान बोक्ने र बेच्ने गर्न थाले । आयआर्जनको विकल्पले लय समात्न नपाउँदै २०६४ मा घरमा बाढी पसेर सामानहरु बिगारी दियो । त्यसपछि उनले एक सहकारीमा बचतकर्ताको काम गरिन् । यसरी अनेक संघर्ष गरेर उनले छोरालाई स्नातक पास गराइन् । छोरीलाई नर्स बनाइन् ।
श्रीमान्लाई बेपत्ता पारिएपछि चन्द्रकलाको हविगत देखेर कुरा काट्नेहरुले अवसर पाए । सहयोगको आशामा कसैसँग भेटे पनि सुख पाइनन् । द्वन्द्वपीडितका लागि काम गर्ने भन्दै अनेक गैरसरकारी संस्था खुले । ती संस्थाका कार्यक्रममा गएर चन्द्रकलाले आफू र आफूजस्तैका आवाज बुलन्द पार्न थालिन् । त्यस्ता कार्यक्रममा उनी अनिवार्य वक्ता हुन थालिन् । कुनै निकायमा उनले आँशु बगाएरै भए पनि न्यायको पक्षमा बोलिन् । अझै बोल्दैछिन् । ‘तर कहिलेसम्म न्यायकै लागि बोल्नुपर्ने हो ?,’ उनको प्रश्न छ । आफ्नो काम गरिरहेका श्रीमान्लाई के कारणले पक्राउ गरियो र कहाँ वेपत्ता पारियो ? त्यसको स्पष्ट जवाफ राज्यसँग माग्दै आएको दुई दशक हुन लागिसक्यो । बेपत्ता पार्ने को हो ? त्यसको मखुण्डो खुलोस् भन्ने उनको माग अहिले पनि जस्ताको तस्तै छ । उनी न्याय नमिलेसम्म न्यायको लडाइँ नटुंगिने बताउँछिन् ।
राज्यले १० बर्से द्वन्द्वकालमा भएका व्यक्ति बेपत्ता पार्ने घटनाको छानबिन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य सार्वजनिक गर्ने, पीडित तथा पीडकको यकिन गर्ने, पीडित वा निजको परिवारका सदस्यलाई परिपूरण उपलब्ध गराउन सिफारिस गर्ने र पीडितलाई परिचयपत्र र छानबिन पछिको जानकारी उपलब्ध गराउने, पीडकलाई कारबाहीको लागि सिफारिस गर्ने, कुनै घटना सशस्त्र द्वन्द्वको क्रममा भएको हो वा होइन भन्ने विवाद भएमा त्यस उपरको निणर्य गर्ने जिम्मेवारी दिएर गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगप्रति पनि उनलाई विश्वास लाग्न छोडेको छ । त्यही भएर उनले प्रहरी र न्यायालयको ढोका पनि ढकढक्याउन थालेकी छन् ।
र हरेक वर्ष मंसीर २३ गते धम्बोझी चोक, जहाँ उनका पतिलाई अन्तिमपटक देखिएको थियो, त्यहाँ पुग्छिन् । आफ्ना अनाहकमा बेपत्ता पारिएका श्रीमान्को सम्झनामा दीप जलाउँछिन् । अश्रु अर्पण गर्छिन् । र, राज्यलाई उसले गरिरहेको अन्याय सम्झाइरहन्छिन् । प्रश्न गरिरहन्छिन्, ‘हामीले न्याय कहिले पाउछौँ ?’
उप्रेतीको भोगाइ उनकै शब्दमा
देशमा शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्यो । तर मन पीडाले अशान्त छ । निन्द्राबाट झस्किन्छु । अनि ढोका खोलेर हेर्छु कतै मेरो श्रीमान् त आउनु भएन ? फेरि ढोका बन्द गर्छु । आँखाबाट मौनरुपमा आशुको वर्षात झर्न सुरु हुन्छ । निदाइरहेका आफ्ना छोरोहरुलाई हेर्छु । कति पीडादायी जीवन भोगिरहेको छन् ! बुवाको काखमा च्यापिएर सुत्नको लागि तडपिएका हुन्छन् । बगिरहेका आँशुहरुसँग आफैँ प्रश्न गर्छु आखिर कहिलेसम्म आँशुको धारा बगाउने त ? आफैँसँग प्रश्न गर्छु अनि टेबुल माथि राखिएको कलम उठाउँछु । मनका भावनालाई कलममार्फत पोख्ने गर्छु । सधैझै आज पनि रातिको ११ बजेर ५५ मिनेट गएको छ ।
जब मंसीर महिनाको सुरुवात हुन्छ । यो मनमा छुट्टै किसिमको छटपटी महसुस हुन थाल्छ । २०६० साल मंसीर २३ गते आजकै दिन साँझ ६ बजेको समय थियो । तत्कालीन शाही सेनाले आफ्नै पसल अगाडिबाट मेरो श्रीमान् भुपेन्द्र उप्रेतीलाई सोधपुछका लागि भन्दै लिएर गए । नेपालगन्जको धम्बोझी चोकमा लगेर एक डेढ घण्टा त्यहीँ राख्यो । उहाँसँगै सुर्खेतरोडमा घर भएको सुनील क्षेत्रीलाई पनि सँगै लग्यो । मेरो श्रीमान्को १८२३ नम्बरको मोटरसाइकलसमेत सेनाले आफैँले चलाएर राझाँ ब्यारेकमा लग्यो । सुनिल र मेरो श्रीमान्सँगै राखिएको तीन दिनपछि मेरो श्रीमान्लाई छुटाएर कहाँ लगियो ? सुनील क्षेत्री भने १७ दिनपछि घर फर्किएपछि सबै जानकारी उहाँले दिनुभयो । धम्बोझीबाट आँखामा कालो पट्टी बाँधेर लगेको देख्ने धम्बोझी चोकका मानिसहरुले मैले देखेको भन्ने धेरै थिए । तर अहिले ति व्यक्ति कसैको मृत्यु भयो, कोही कता गए थाहा भएन । केही व्यक्तिले तपार्इंको श्रीमान् अब फर्किनु हुन्नभन्दा मनमा चिसो पसेर आउँथो । त्यसैमाथि आफ्ना छोराछोरीले बुवा कहिले आउनु हुन्छभन्दा मन आत्तिएर आउथ्यो । जसोतसो गरेर छोराछोरीलाई त सम्हाल्थँे । तर आफ्नो मनलाई सम्हाल्न निकै गाह्रो हुन्थ्यो ।
आफ्नो श्रीमान् फर्किनुहुन्छ भन्दै कुरेको आज १९ वर्ष भइसक्यो तर अहिलेसम्म मेरो श्रीमान् फर्किनु भएन । विस्तृत शान्ति सम्झौता भएको नै १६ वर्ष पूरा भइसक्यो तर कहाँ छ हामीलाई शान्ति ? शान्ति सम्झौताअन्तर्गत १२ बुँदेमा उल्लेखित बेपत्ता सार्वजनिक गर्ने ६० दिन कहिले आउँछ त ? म जस्तै बेपत्ता परिवारसँग यस्तै धेरै प्रश्न छन् तर यी प्रश्नको जवाफ कसले दिने ?
छोराछोरीको नागरिकता बनाउन जाँदा होस् या केही कामको लागि सरकारी कार्यालयमा जाँदा बुबाको परिचय खोज्छ, मृत्यु दर्ता खोज्छ, श्रीमान् खै ? के भएको ? किन लगेको जस्ता शब्दले थप पीडा दिएको छ । आज मेरो श्रीमान् भएको भए यस्तोे पीडा दिन सक्थेनन् होला । मेरो छोराछोरीले पनि बुवाको परिचय खुलस्त दिन सक्थे होला । छोराछोरीको यही छट्पटाहाटलाई हटाउन म न्याएको लागि प्रहरी, प्रशासन, सरकारी वकिल, अदालत धाइरहेकी छु । तर कही कतैबाट यसको सम्बोधन भएनन् । न्यायको लागि दौडिरहेका यी मेरा पाइलाहरु थकित भएका छन् । मन उदासिएको छ । कसरी पाउँछु मैले न्याय ? कहिले पाउँछु न्याय ?
प्रतिक्रिया दिनुहोस्