4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

जसले हातमा रङ लगाए, भोट अर्कैले हालिदिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

मिसन संवाददाता, नेपालगन्ज (बाँके), ४ मंसीर
नेपालगन्ज–१६ जयसपुरका ७० वर्षीय अब्बास कबडिया छोराको सहारामा मतदान केन्द्रसम्म पुगे । उक्त मतदान केन्द्रका मतदान अधिकृत पूर्णबहादुर खत्रीले अपांग, वृद्धवृद्धा र अशक्तहरुका लागि सहज वातावरण निर्माण गरेकाले उनलाई लाइन लाग्नुपर्ने झन्झट भने भएन । जब, उनी सीधै मतपत्र लिएर मतदान चिन्हमा छाप लगाउन पुगे तब उनले राम्रोसँग मतदान चिन्ह पहिचान गर्न सकेनन् । आँखा कमजोर देख्ने समस्याले गर्दा उनले मतदान गर्न छोरा राजीतको सहारा लिए । अर्थात आफैँले मतपत्रमा छाप लगाउन सकेनन् । उनीजस्तै ८५ वर्षीया मन्नी गडरियाले पनि मतपत्रमा छाप लगाइनिन् । उनको सट्टा छोरी सुरसताले मतदान गरिदिइन् । ‘मैले आँखा देख्दैन,’ उनले भनिन्, ‘मत नहाल्नुभन्दा छोरीको सहारामा मतदानमा सहभागी भएँ ।’


यति मात्र होइन, दृष्टिविहीनहरुले आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफैँले मतदान गर्न पाएनन् । निर्वाचन आयोगले दृष्टिविहीनहरुका लागि प्रविधिमैत्री मतपत्र निर्माण नगर्दा उनीहरुले आफैँ सक्षम र योग्य उम्मेदवारलाई मत खसाल्न पाएनन् । ‘मैले उम्मेदवारको नाम र उसको चुनाव चिन्हमा मतदान गर्न भनेको थिएँ,’ जानकी गाउँपालिका–४, गुरुवागाउँकी ६५ वर्षीया कृष्णावती कुर्मीले भनिन्, ‘हाल्ने मान्छेले कहाँ लगाइदियो थाहा छैन ।’ कृष्णावतीले छोरा अरविन्दकुमारलाई मतपत्रमा छाप लगाउन सहयोग मागेकी थिइन् । ‘आमाले जहाँ छाप लगाउने भन्नु भएको थियो त्यही छाप लगाएँ,’ अरविन्दकुमारले भने, ‘कहाँ मत खसाल्ने भन्ने पारिवारिक सल्लाह पनि भएको थियो । मैले मतपत्रमा आमाले भने जसरी छाप लगाइदिएको हुँ ।’ ‘आमा आँखा देख्नुहुन्न,’ उनी भन्छन्, ‘दृष्टिविहीनका लागि निर्वाचन आयोगले छुट्टै मतपत्र पनि बनाएको छैन । एकैखाले मतपत्रमा छामेर चुनाव चिन्ह पत्ता लगाउन सकिँदैन ।’ निर्वाचन आयोगले दृष्टिविहीनहरुका लागि फरकखालको मतपत्र निर्माण गरेको भए दृष्टिविहीनहरुले आफैँ मतदान गर्न सक्ने उनी बताउँछन् ।


६७ वर्षीया रुपाकुमारी कुर्मी छोरी सीताकुमारीले सहयोगमा मतदानस्थल पुगिन् । मतपत्रमा छाप लगाउँदा हात काम्ने समस्याले मतदान गर्न सकिनन् । उनलाई छोरी सीताकुमारीले सहयोग गरिन् । यति मात्र होइन उनले स्थानीय तहको चुनावमा पनि छोरीको सहयोगमा मतदान गरेकी थिइन् । ‘म आँखा अलि कमै देख्छुँ । शारीरिकरुपमा पनि कमजोर हुँदा मतपत्रमा छाप लगाउन सकेनँ,’ रुपाकुमारीले भनिन्, ‘त्यसैले मत नहाल्नुभन्दा छोराको सहयोगमा भए पनि मतदान प्रक्रियामा सहभागी भएँ ।’ आफैँले नसक्दा अरुले हालिदिएको मतमा मन बुझाउनु पर्ने उनी बताउँछिन् ।
अब आउने चुनावमा निर्वाचन आयोगले दृष्टिविहीनहरुका लागि लक्षित मतपत्र व्यवस्था गर्नु पर्ने दृष्टिविहीनहरु बताउँछन् । एकैखाले मतपत्रमा मतदान गर्न समस्या हुने भन्दै उनीहरुले प्रविधिमैत्री मतपत्र भए छामेर पनि आफैँ मतदान गर्न सकिने उनीहरु बताउँछन् । निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु हरेक मतदाताको नैसर्गिक अधिकार हो । तर पूर्णरुपमा दृष्टि गुमाएका, न्यून दृष्टि भएका, सांकेतिक भाषाको प्रयोग गर्नेलगायतका अपांगता भएका मतदाता यस्तो अधिकारबाट वञ्चित छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका–२०७९ अनुसार दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताले सहयोगका लागि एकाघरका परिवारको सदस्यको मद्दत लिन सक्छन् । यस्तै मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको तथा कुनै कारणबस आफैँले नसक्ने भएमा मत संकेत गर्ने काममा मतदान अधिकृतले सुविधा उपलब्ध गराउने व्यवस्था छ । मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने हुन्छ । हरेकपटकको निर्वाचनमा सबै खालका अपांगता भएका मतदाताले मतदान त गर्छन् ।


‘पूर्णरूपमा दृष्टिविहीन हामीजस्ता मतदातालाई आफूले कसलाई भोट हालेको छु भन्ने पनि थाहा पाएका छैनौँ,’ अब्बासले भने, ‘आफ्नो मताधिकार आफैँले प्रयोग गर्न नपाउँदा दुःख लाग्दो रहेछ ।’ एकातिर गोपनीयता भंग हुने र अर्कोतिर मतको दुरुपयोग हुने जोखिम रहेको उनको भनाइ छ । भोट अरुले हालिदिएको र रङ आफ्नो हातमा लागेको उनी बताउँछन् ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     9:22:20 AM  |