वीरेन्द्र जैसी नेपालगन्ज, ४ मंसीर
प्रतिनिधि तथा प्रदेशसभा सदस्यको लागि बाँकेमा ६४ दशमलव ७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जिल्लामा ६४ दशमलव ७ प्रतिशत मत खसेको अनुमानित विवरण आएको जानकारी दिइन् । जुन स्थानीय निर्वाचनभन्दा झन्डै ६ प्रतिशत मत कम मत खसेको छ । स्थानीय निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खसेको थियो । अघिल्लो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो ।
यद्यपि जिल्लाका एक सय ३८ मतदानस्थलमा रहेका तीन सय ८० मतदान केन्द्रमै मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनभन्दा कम उत्साहजनक देखिएको निर्वाचनमा लामो लाइन र भिडभाड देख्न पाइएन । कुनै पनि मतदान केन्द्रमा कुनैखाले अवाञ्छित गतिविधि भएन । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मतदानमा अत्यन्त शान्तिपूर्णरुपमा सम्पन्न भएको र अब बाँकी प्रक्रिया पनि शान्तिपूर्ण बनाउन आफूहरु केन्द्रित रहेको उनले बताए ।
निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले सबै मतदान केन्द्रमा साँझ ५ बजे नैै मतदान सम्पन्न भएको बताइन् । लाइनमा एकदमै कम मतदाता लागिरहेका देखिन्थे । मतदानस्थलमा स्थानीय निर्वाचनको जस्तो चहलपहल पनि थिएन । मौसम पनि सफल र उपयुक्त रहेकोले मतदाता पायक पर्ने समयमा मतदान गर्न पुगेका थिए । मतपत्र पनि चारवटा भएकोले मतदान गर्न सजिलो भएको मतदाताहरुको प्रतिक्रिया थियो ।
बाँकेमा प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ८७ जना उम्मेदवार रहेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा ११ जना, क्षेत्रनम्बर २ मा १६ र क्षेत्र नम्बर ३ मा ९ जना गरी ३६ जना उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) र (ख) मा क्रमशः आठ र ७ जना क्षेत्र नम्बर २ (क) र (ख) मा क्रमशः १०–१० जना एवं क्षेत्र नम्बर ३ (क) र (ख)मा क्रमशः सात र नौ जना उम्मेदवार रहेका छन् ।
मतदाताको उपस्थिति कम
वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले विभिन्न मतदानस्थलका तस्विरहरु फेसबुकमा पोष्ट गर्दै लेखे, ‘संघीयतामा देश.., दोस्रो आमनिर्वाचनमै मतदातामा यति साह्रो नैराश्यता किन छ ? नेता भनाउँदाले जानून् ।’ हुन पनि निर्वाचनमा मतदाताहरुमा उत्साह देखिएन । दिनभर मतदानस्थलमा फाट्टफुट्ट मात्रै मतदाताहरु पुगेका देखिन्थ्यो । अनुगमनमा खटिएका अधिकारकर्मी सुरेश गौतम पनि यस निर्वाचनमा मतदाताहरुमा अत्यन्त कम उत्साह देखिएको बताउँछन् । युवाहरुले परिवर्तनका लागि मतदान गर्छन् भन्ने अपेक्षाविपरीत एकदमै कम युवाहरुको सहभागिता देखिएको उनले बताए । यसैरी महिला र विद्यार्थी उमेरका मतदाताहरु पनि कम देखिएको उनको भनाइ छ । ‘गठबन्धनका कारण आफ्नो दललाई मत हाल्न पाइँदैन । किन जाने मतदान गर्न ? भन्नेखालको मनस्थितिले पनि कतिपय मतदाताहरु मत हाल्न नगएको पाइयो,’ गौतमले भने । यसबाहेक मतदान गर्ने क्रममा अपांगता, अशक्त र ज्येष्ठ नागरिकहरुले अघिल्ला निर्वाचनजस्तो अप्ठ्यारो भोग्नुनपरेको पाइएको पनि उनले बताए । लाइनमा बस्नु नपर्दा पनि अप्ठ्यारो नभएको हुनसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्