वीरेन्द्र जैसी,नेपालगन्ज,
२०४७ सालमा देशले बहुदलीय संंसदीय व्यवस्था अवलम्बन ग¥यो । त्यतिबेला प्रतिनिधिसभामा दुई सय पाँच सदस्यको निर्वाचन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०४८ सालमा भएको निर्वाचनमा बाँकेलाई अहिलेजस्तै तीनवटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद्मा आफ्नो नीति तथा कार्यक्रम फेल भएपछि संसद् भंगको घोषणा गरे । त्यसपछि बहुदलीय व्यवस्था आएपछिको दोस्रो निर्वाचनअर्थात् २०५१ साल कात्तिक २९ गते सम्पन्न प्रतिनिधिसभाको मध्यावधी चुनावमा बाँकेका तीनै स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु विजयी भएका थिए । त्यसमध्ये बाँके क्षेत्र नम्बर १ बाट विजयी हुने नेता थिए प्रेमबहादुर भण्डारी ।
भण्डारीको त्यतिबेलाको राजनीतिक प्रभावको अहिले पनि चर्चा हुने गरेको छ । अहिले पनि उनी राप्रपाको केन्द्रीय सदस्यका रुपमा राजनीतिमा सक्रिय छन् । उनी अहिलेको निर्वाचनमा पनि सक्रियतापूर्वक संलग्न भइरहेका छन् । अहिलेका उम्मेदवार र राजनीतिक दलका चुनावी तानाबानालाई आफू उम्मेदवार हुँदाताकाको तानाबानासँग तुलना गरिरहेका छन् ।
चुनाव प्रचारको शैलीमा प्रविधि र समयले ल्याउने परिवर्तनहरु स्वभाविक भएको भण्डारीको बुझाइ छ । ‘हिजो गाडीहरु कम थिए । भारतबाट भाडामा ल्याएर प्रयोग गर्नुपथ्र्याे । त्यो पनि प्रशासनले दुईवटाभन्दा बढी प्रयोग गर्न दिन्नथ्यो । प्रचा पम्पलेट हुन्थ्यो । माइक प्रयोग हुन्थे । अहिले गाडिघोडा बढी छन् । प्रविधि छ । यसले ल्याउने परिवर्तन त स्वभाविकै हो,’ उनले भने । मतदातासँग मत माग्दा प्रचा पम्पलेट र घोषणापत्रको अत्यधिक प्रयोग हुने गरेको उनी सम्झिन्छन् । बाँकेका सन्दर्भमा मतदाताको संख्यामा आएको परिवर्तनबाहेक अरु प्राविधिक पाटोमा पनि कुनै परिवर्तमा नआएको उनको धारणा छ ।
यतिबेला भण्डारीलाई चिन्तित बनाइएको विषय हो जनता र नेताबीचको बढ्दो दुरी । चुनावमा मत माग्न आउने नेतालाई हेर्ने जनताको दृष्टिकोणमा धेरै फरक आएको उनको बुझाइ छ । त्यो फरक नेताहरुकै कारण आएको निष्कर्ष उनको छ । भन्छन्, ‘त्यतिबेला चुनावमा मत माग्न जाँदा मानिसहरु आफैँ नजिक आउँथे र कुरा सुन्न खोज्थे । आफ्ना कुरा पनि राख्थे । एक किसिमको आत्मियताको भाव झल्किन्थ्यो । अहिले त नेताहरुप्रति जनतामा आक्रोश र वितृष्णा बढ्दै गएको पो देख्न प¥यो ।’ भण्डारीलाई अर्काे चिन्ताजनक लागेको विषय हो, चुनावमा पैसाको प्रभाव बढ्दै जानु । भण्डारी आफू चुनाव लड्दा बढीमा तीन चार लाख खर्च भएको बताउँछन् । उनी आश्चर्य प्रकट गर्दै भन्छन्, ‘अस्ति कै स्थानीय निर्वाचनमा वडाध्यक्षका एक विजेता उम्मेदवारले ४० लाख खर्च गरेको बताए । अर्का उपविजेताले ३५ लाख खर्च गरेछन् । वडाध्यक्ष जित्न यत्रो पैसा खर्च हुने भएपछि अब सक्षम तर पैसा नभएको व्यक्तिले चुनाव लड्न सक्छ त ?’ उनी चिन्ता प्रकट गर्छन् । पैसाको चुनावमा प्रभाव बढ्दै गएर अहिले जित्नका लागि पैसामा ठेक्का दिन थालिएको भन्दै भण्डारीले आश्चर्य प्रकट गरे । उनका अनुसार अहिलेको चुनावमा गाउँ तथा टोलमा आफूलाई हर्ताकर्ता र मालिक ठान्नेहरुलाई चुनाव जिताउनका लागि उम्मेदवारहरुले ठेक्का दिन थालेका छन् । ‘यो टोलको हर्ताकर्ता र मालिक मै हुँ भन्नेहरुलाई समात्ने । ल यति भोटका लागि यति दिन्छु भन्ने । अनि पैसाको ठेक्का दिने । यस्तो पो देखियो त यसपटक त,’ उनले भने ।
पहिलेपहिले त झन बुथ कब्जा गर्ने, भोजभतेर गर्ने बढी हुन्थ्यो नि त ? भन्ने प्रश्नमा भण्डारीले त्यस्ता घटनाहरु छिटपुट हुने गरेको बताए । भोजभतेरको प्रचलन कहीकतै भए पनि पश्चिम क्षेत्रमा बुथ कब्जाका घटनाहरु न्यून हुने गरेका उनको भनाइ छ । ‘पूर्वतिर विशेषगरी हालको मधेस प्रदेश र सीमावर्ती क्षेत्रहरुमा त्यस्ता घटना भएका समाचारमा पढ्न पाइथ्यो । तर पश्चिम क्षेत्रमा कमै मात्रामा त्यस्ता घटना हुन्थे,’ उनले भने ।
निर्वाचनमा पैसाको प्रभाव र दुरुपयोग यसैगरी बढ्दै जाने हो भने देश भ्रष्टाचारको दलदलमा उठ्नै नसक्नेगरी फस्ने भण्डारीको चिन्ता छ । देशलाई दुर्घटनाबाट बचाउन निर्वाचन आयोगले ‘ठेक्का सिस्टम’लाई जसरी हुन्छ रोक्नुपर्ने उनले बताए । साथै मतदाताले पनि आफ्नो भविष्यको फैसला गर्ने अवसरलाई दुरुपयोग गर्न नहुने उनको सुझाव छ । भण्डारीले भने, ‘पैसाको प्रभावले लोकतन्त्रको मूल्य र मान्यता नै मासिन सक्ने खतरा छ । राम्रा र सक्षमहरुले पैसाकै चलखेलका कारण चुनावमा भाग लिनै डराउने स्थिति आउनु अत्यन्त चिन्ताजनक हो ।’
प्रतिक्रिया दिनुहोस्