12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख भन्छिन्चु : नावको सम्पूर्ण तयारी पुरा भइसक्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मंसीर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । नेपालमा पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो । यसपालि हुने निर्वाचनमा देशभरि चुनावी रौनक बढ्दो छ । पाँच वर्षमा एकपटक हुने आवधिक निर्वाचन आफूले मन पराएका उम्मेदवार छनोट गर्ने लोकतान्त्रिक प्रक्रियासमेत हो । अहिले निर्वाचन आयोगसँगै मातहतका जिल्लास्थित कार्यालयहरु चुनावको पूर्वतयारीमा व्यस्त छन् । यसै सन्दर्भमा मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वतयारी, कर्मचारी परिचालनको अवस्थालगायत समसायिक विषयमा जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तसँग मिसन टुडे दैनिकका संवाददाता शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचन कार्यालय बाँकेले अहिले के–के काम गरिरहेको छ ?
मंसीर ४ गते नजिकिँदै छ । देशभरि प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । मलगायत कार्यरत सम्पूर्ण साथीको दिनरात नभनेर खटिएका छौं । हामी निर्वाचनको अन्तिम तयारीमा छौं । अहिलेसम्म कार्यालयबाट गर्नुपर्ने सम्पूर्ण कार्य भइरहेका छन् । निर्वाचन मुख्यरुपमा निर्वाचनमै केन्द्रित छौं । अहिले पनि यसमै व्यस्त छौं ।

मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको हो ?
बाँकेमा तीन निर्वाचन क्षेत्र छन् । जिल्ला सदरमुकामबाट टाढा रहेका क्षेत्रमा हामीले मतदानका लागि आवश्यक सामग्री ढुवानी सुरु गरिसकेका छौं । मतपत्रसमेत सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । तीनवटै निर्वाचनमा क्षेत्रमा सामग्री पु¥याइसकेका छौं । अन्य व्यवस्थापनको कामसमेत भइरहेका छन् ।


सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालन भइसकेको सकेको हो ?
तीनवटै निर्वाचनमा जनशक्तिसमेत परिचालन भइसकेको छ । निर्वाचनको व्यवस्थापनका लागि राज्यले खटाएका कर्मचारीहरु आफ्नो कार्यक्षेत्र जान सुरु गरिसकेका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारीहरुलाई मतदान केन्द्र वा तोकिएको क्षेत्रमा जानुभन्दा पहिला गर्नुपर्ने अभिमुखीकरण, दिनुपर्ने तालिम सम्पन्न भइसकेको छ । अहिले केही नयाँ कर्मचारीहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पनि कार्यालयको तर्फबाट तालिम प्रदान गरिएको छ । उहाँहरुलाई पनि हामीले कार्यक्षेत्रमा पठाइसकेको अवस्था छ । तीनवटै क्षेत्रमा कर्मचारी परिचालन भइसकेका छन् । कर्मचारी परिचाल गर्दा नजिकै पायक पर्ने क्षेत्रतिर पठाइएको छ । उहाँहरुले आवश्यक सामग्रीसमेत बुझिसक्नु भएको छ । सबैजना १ गतेसम्म सम्बन्धित क्षेत्रमा पुगिसक्नेछन् । तीनवटै क्षेत्रमा आवश्यकताअनुसार कर्मचारी खटाइएको हो । कुनै पनि क्षेत्रमा जनशक्ति अभाव छैन ।

कुन क्षेत्रमा कति जनशक्ति परिचालन गरिएको छ नी ?
बाँकेका तीनवटा निर्वाचन क्षेत्रमा तीन हजार कर्मचारी परिचालन भएका छन् । भुगोल र जनसंख्याका हिसाबले बाँकेको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र, १ हो । यहाँ सबैभन्दा बढी कर्मचारी खटिएका छन् । यहाँ एक सय ३७ मतदान केन्द्र छन् । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एक सय १३ मतदान केन्द्र छन् । यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर २ मा एक सय ३० मतदान केन्द्र छन् । यसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी छन् ।

मतदान अधिकृतमा पुरुष मात्रै छन् की महिला पनि छन् ?
संख्यात्मकरुपमा भन्नु पर्दा पुरुषको संख्या बढि होला । तर, बाँके जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा मतदात अधिकृत महिलाहरुको संख्या पनि थुप्रै छ । एकिन संख्या मलाई थाहा भएन । तर, मतदान अधिकृत पुरुषको तुलनामा महिलाहरुको संख्या पनि अरु बेलाको भन्दा धेरै छ । स्थानीय चुनावको जस्तो महिला मतदान अधिकृत भएको ठाउँमा महिला कर्मचारी मात्रै छैनन् । महिला मतदान अधिकृत भएको क्षेत्रमा पुरुष कर्मचारी पनि खटिएका छन्् भने पुरुष मतदान अधिकृत भएको ठाउँमा महिला कर्मचारीसमेत खटिएका छन् । महिला र पुरुषभन्दा पनि कर्मचारीहरुको तहअनुसार उनीहरुलाई जिम्मेवारी तोकिएको छ । उहाँहरु एकदमै उत्साहितरुपमा निर्वाचनमा सरिक हुनु भएको छ ।

नमुना मतदानमा मतदाताहरुको उत्साह कत्तिको पाउनु भयो ?
निर्वाचन आयोगको केन्द्रीय कार्यक्रमअनुसार हामीले नमुना मतदान कार्यक्रम सम्पन्न गरेका छौँ । जिल्ला निर्वाचन कार्यालय बाँकेले समेत जिल्लाका आठवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम गरेको थियो । त्यसमा मतदाताहरुको उत्साहपूर्व सहभागिता रहेको थियो । उहाँहरु आफ्नो जनप्रतिनिधि चुन्न आतुर हुनुहुन्छ । नयाँ मतदातासमेत थपिएका छन् । उहाँहरुले निकै उत्साहका साथ यस निर्वाचनलाई लिनु भएको छ । वृद्ध मतदातासमेत छन् । यसमा गत वैशाखमा स्थानीय तहको निर्वाचन भएको हुनाले उहाँहरुमा त्यतिबेलाको छाप परेको पाइएको छ । स्थानीय तहको भन्दा यस पटक मतपत्र फरक छ । अहिले प्रत्यक्ष र समानुपातिकतर्फ फरक मतपत्र छ । हामीले सोहीअनुसार मतदाता शिक्षा कार्यक्रममार्फत सिकाएका पनि छौँ ।

बाँकेमा मतदाता शिक्षा कार्यक्रम पनि लागु भएको हो ?
मतदान भनेको महŒवपूर्ण कुरा हो । यो लोकतन्त्रको एक अभ्यास र विधिसमेत हो । त्यसैले निर्वाचनको समयमा मतदाता शिक्षा अनिवार्य हुन्छ । बाँकेमा लाखौँ मतदाता छन् । नयाँसमेत थुप्रै मतदाता थपिएका छन् । उनीहरु र निरक्षर मतदाताहरुलाई लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम लागु गरिएको हो । जिल्लाभरि यो कार्यक्रम लागु भएको हो । हामीले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मतदाता शिक्षा कार्यक्रममा खटाएका थियौं । मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ गतेदेखि जिल्लामा सुरु भइरहेको छ । आजसम्म कार्यक्रम चल्छ । त्यसपछि भने बन्द हुन्छ । यो कार्यक्रमबाट हामीले सदर मत बढ्ने र बदर मत घटने अपेक्षा गरेका छौं ।

यसपटकको निर्वाचन कत्तिको शान्तिपूर्ण र उत्साहपूर्ण होला ? तपाईंहरुको विश्लेषण के छ ?
बाँके सीमासँग जोडिएको जिल्ला हो । भारतसँग प्रत्यक्ष सीमा जोडिएका धेरै क्षेत्र छन् । सीमापारिबाट हुने कुरामा सुरक्षा निकायले सुक्ष्मरुपमा हेरिरहेको अवस्था छ । बाँके जिल्लाको सन्दर्भमा हेर्ने हो भने गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन भएको थियो । त्यतिबेला मतदाताहरुको उत्साहपूर्ण सहभागिता थियो । यो संसदीय निर्वाचन हो । यसपटक पनि सम्पूर्ण मतदाताहरु सक्रियरुपमा सहभागी हुने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुने हामीले विश्वास लिएका छौं ।

बाँकेका आम मतदातालाई तपाईंको अपील के छ ?
स्वच्छ, निष्पक्ष, भयरहीत वातावरण र कसैको प्रलोभनमा नपर्नुहोला । स्वतन्त्ररुपमा आफ्नो अधिकारको प्रयोग गर्नुहोला भन्न चाहन्छु । तपाईंको एक भोटले भोलि देशको मुहार फेरिनेछ । म सम्पूर्ण मतदाताहरुलाई नआत्तिन आग्रह गर्न चाहन्छु । अन्य सम्पूर्ण सरोकारवालाहरुलाई शान्तिपूर्ण मतदानका लागि अपील गर्न चाहन्छु ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:24:49 AM  |