20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

आश्रममा बसेका नागरिक मतदानबाट वञ्चित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मिसन संवाददाता,सुर्खेत, १ मंसीर
सल्यानकी ३५ वर्षीया विमला थापा मानसिक रोगी छिन् । उनलाई गाउँमा अपशब्द प्रयोग गरेर अपमान गरिन्थ्यो । गाउँमा अपमानित हुन थालेपछि उनका परिवारले विमलालाई वीरेन्द्रनगर नगरपालिका–११ स्थित मानवसेवा आश्रममा ल्याएर राखे । लामो समयदेखि आश्रममा बस्दै आएकी उनको नियमित उपचार तथा परामर्शपछि अहिले स्वास्थ्यमा धेरै सुधार भइसकेको छ ।
निको भएर चाँडै घर जाने भन्दै उनी दिन गन्दै बसेकी छिन् । रामेछाप स्थायी घर भएकी विष्णु तिवारी पनि लामो समयदेखि मानवसेवा आश्रममै बसिरहेकी छिन् । यहीबेला सबैतिर मंसीर ४ गते हुने निर्वाचनको सरगर्मीले छोइसकेको छ । चुनाव हुने गाइँगुइँ सुनेपछि विमला र विष्णुलाई पनि मतदानको रहर जागेको छ । दुवैजनाको नाम मतदाता नामावलीमा छैन । न त उनीहरूसँग मतदाता परिचयपत्र नै छ । दुवैलाई मतदान गर्ने भने ठूलो सपना छ । ‘आफूले चाहेको नेतालाई मतदान गर्न पाइन्छ भन्ने त थाहा छ तर अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदान गर्न पाएकी छैन,’ दश वर्षदेखि मानसिक रोगले छोएपछि हाल मानवसेवा आश्रममा बसिरहेकी विमलाले भनिन्, ‘मतदान गर्ने ठूलो धोको छ, मतदाता परिचयपत्र बनाउन कसैले सहयोग गर्दैनन्, बिरामी मान्छे आफूलाई केही थाहा नै छैन ।’


केही वर्षअघि मतदान गरेको सम्झिँदै फेरि मतदान गर्ने इच्छा भने पूरा नभएको विष्णु बताउँछिन् । ‘२०६४ को संविधानसभाको चुनावमा भोट हालेकी थिएँ, भूकम्पपछि सबै कागजपत्र नष्ट भए, सहारा दिने कोही पनि नभएपछि अहिले यहाँ बसिरहेकी छु,’ विष्णुले भनिन्, ‘मसँग नागरिकता पनि छैन, यी सबै कागजात कसले बनाइदिन्छ र भोट हाल्नु ?’ भूकम्पपछि सबै कागजपत्र नष्ट हुँदा विष्णुसँग परिचय खुल्ने कुनै कागजात छैनन् । विमला र विष्णु प्रतिनिधि पात्र मात्र हुन् । सुर्खेतका विभिन्न आश्रममा आश्रय लिइरहेका अधिकांश व्यक्तिसँग नागरिकता र मतदाता परिचयपत्र नहुँदा मतदानबाट वञ्चित हुनुपरेको बताइन्छ । मानवसेवा आश्रम सुर्खेतमा ७४ जनाले आश्रय लिइरहेका छन् ।

उनीहरूमध्ये कसैको पनि अहिले मतदाता परिचयपत्र छैन । अधिकांशसँग नागरिकता पनि छैन । उनीहरूलाई मतदान गर्ने धोको भए पनि पाउने अवस्था भने छैन । वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रममा बस्दै आएका दैलेखका ६३ वर्षीय खड्कप्रसाद आचार्यसँग पनि कुनै कागजात छैन । सानो उमेरमै भारत गएका आचार्य लामो समय उतै बसे । अहिले आश्रममा आश्रय लिइरहेका आचार्यलाई मतदान गर्ने ठूलो धोको छ तर कुनै कागजात नभएकाले उनले भोट हाल्न पाउँदैनन् । ‘पहिले भोट हाल्ने कागजपत्र त बनाएको थिएँ । आफू यहाँ छु, कागजपत्र साथमा छैन । भोट हाल्ने मन त थियो । तर, के गर्नु न नेताले चासो दिन्छन्, न कोही आफन्तलाई चासो छ,’ आचार्यले गुनासो गर्दै भने । दैलेखकै डम्मरबहादुर बुढासँग नागरिकता र मतदाता परिचयपत्र दुवै छ । ८० वर्षीय बुढाले यसअघिका निर्वाचनमा दैलेख पुगेरै पनि मतदान गरेका थिए । अहिले उमेरले थलिएपछि गाउँ जान÷आउन समस्या हुने भएकाले अब मतदान गर्न नसक्ने उनी बताउँछन् । सरकारले यहीँबाट मतदान गर्ने व्यवस्था मिलाइदिए भोट हाल्ने उनको पनि धोको छ ।

प्रशान्ति वृद्धाश्रममा अहिले ११ महिला र १५ पुरुष गरी २६ वृद्धवृद्धा छन् । उनीहरूमध्ये सुर्खेतकै स्थायी बासिन्दा रहेका केहीले यसअघि नै मतदाता परिचयपत्र बनाएर स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए । २६ जनामध्ये ६ जनासँग नागरिकता र मतदाता नामावलीमा नाम छ भने अन्यसँग नागरिकतासमेत छैन । कर्णाली प्रदेश निर्वाचन आयोग कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले अन्य जिल्लामा मतदाता नामावलीमा नाम भएकालाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको बताए । प्रशान्ति वृद्धाश्रम सञ्चालक समितिकी उपाध्यक्ष शितलसिंह राठौरले आश्रममा बसेका २० जनासँग मतदाता परिचयपत्र नभएको बताइन् । ‘आश्रममा रहनुभएका बुबा–आमासँग मतदाता परिचयपत्र नै छैन, केहीसँग मात्र छ, भएकालाई पनि मतदानमा सहभागी गराउन समस्या छ,’ उनले भनिन् ।

आश्रममा रहेका सबैको मताधिकार सुरक्षित गर्न निर्वाचन आयोगले विशेष व्यवस्था गर्न जरुरी रहेको राठौरको भनाइ छ । उनले यस विषयमा प्रदेश निर्वाचन आयोगसँग छलफल गर्दा आश्रममै अस्थायी केन्द्रको व्यवस्था गरी मतदान गराउने प्रबन्ध मिलाउने आश्वासन दिए पनि आफ्नो आश्रममा छ जना मात्रै मतदाता हुँदा समस्या भएको बताइन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:19:15 AM  |