वीरेन्द्र जैसी, नेपालगन्ज,
कालीकोट घर भइ सुर्खेत बस्दै आएकी सुशीला विष्ट आफ्नी आमासहित नेपालगन्ज आएकाबेला केही लत्ता कपडा र घरायसी सामान खरिद गर्न सीमावर्ती भारतीय बजार रुपैडिहा पुगिन् । नेपालगन्जभन्दा केही सस्तोमा सामान पाइने लोभमा त्यहाँ पुगेकी उनले करिब आठ हजार रुपैयाँजतिको सामान खरिद गरिन् । आमा छोराछोरीसहित रुपैडिहा पुगेकी उनी फर्किँदा सिमानाकामा रहेको यात्रु शाखामा गएर भन्सार शुल्कबारे बुझ्न खोजिन् । ‘हामीले जान दिने भए जान दिनुस् हैन भने कति शुल्क लाग्छ तिर्छाैं भने पनि त्यहाँ रहेका कर्मचारीले कुनै शुल्क नलाग्ने बताए ।
एकजनाले मेरो फोन नम्बर राख्नुस् । अनि तपाईंको नम्बर पनि दिनुस् । बाटोमा केही परे मलाई फोन गर्नुहोला भने,’ सुशीलाले गहभरि आँशु पादै भनिन्, ‘दुई÷तीन ठाउँमा चेक गरे । जानुस् भने । यदि शुल्क तिर्नुपर्छ भनेको भए हामी तिरिहाल्थ्यौँ । तर चौलिक्का चोक पुगेपछि एक्कासी एउटा गाडीमा मानिसहरु आएर हाम्रो सामान लुछालुछ गरेर लगेर गए ।’
सुशीलाले आफ्नो सामान कसले लगेको हो ? कुन ठाउँमा लगिँदै छ ? भन्ने पनि बुझ्न पाएनन् । तर राति अबेर भइसकेपछि अघि फोन नम्बर दिएका व्यक्तिले ‘भेट्न आउ, म सामान छुटाइदिन्छु’ भन्न थाले । उनले आफू होटेलमा बसेको र अहिले आउन नसक्ने बताइन् । तर ती व्यक्तिले आफू होटेलमै पनि आउनसक्ने भन्न थाले । त्यसपछि सुशीलाले उनलाई फोन गर्न छोडिन् ।
श्रीमान्ले दुःखजिलो गरेर छोराछोरीलाई सुर्खेतमा राखेर पढाउन भनि पठाएको पैसाले सस्तोमा धेरै सामान किन्ने लोभले रुपैडिहा पुगेकी उनको सामान लुटिएजस्तै भएपछि उनलाई रातभरि निद्रा लागेन । बिहानैदेखि उनी आफ्नो सामानका खोजीमा लागिन् । तर, कसले कहाँ लग्यो पत्तो पाइनन् । भौतारिँदै उनी छोराछोरी र आमासहित असिनपसिन गर्दै भन्सार कार्यालय अघि पुगिन् । त्यहाँ खटिएका भन्सारका एक कर्मचारीले उनलाई भन्सारको मुद्दा फाँटमा पु¥याइदिए । मुद्दा फाँटमा उनले आफ्नो सामानबारे चासो राख्दा त्यहाँका कर्मचारीले उक्त सामान आइनपुगेको जवाफ दिए ।
उनी फेरि भन्सार चोकमा खटिएका प्रहरीसँग सामान कहाँ गयो होला भनेर सोध्न पुगिन् । कसैले पनि यकिन गर्न सकेनन् । उनीहरुले जवाफ दिए, ‘त्यही मुद्दा शाखामै होला ।’ उनी फेरि मुद्दा शाखामा पुगिन् । बल्ल त्यहाँका कर्मचारीले उनले किनेकोमध्ये केही सामानहरु आइपुगेको बताए । सुशीलाका अनुसार छोराको तातोमा लगाउने कपडा गर्मी भयो भनेर अरु सामानमै राखिएको थियो । उक्त कपडा पनि सामान बरामद गर्नेहरुले लगेर गए । अब उक्त सामान लिलामी प्रक्रियामा गएको छ । त्योभन्दा बढी सुशीलालाई श्रीमान् र सासुलाई के जवाफ दिने भन्ने चिन्ता छ ।
पहिलोपटक रुपैडिहा पुगेको बताउने सुशीलाले आफूलाई गुमराहमा राखेर भन्सारका कर्मचारी र सुरक्षाकर्मीले अनाहकमा दुःख दिएको र दुव्र्यवहार गरेको बताइन् । उनले भनिन्, ‘घरायसी सामान, केही लत्ताकपडा र मरमसला लिएर आएकी मलाई अपराधीजस्तो व्यवहार गरियो । भन्सार तिर्नुस् भनेको भए म तिरिहाल्थेँ । त्यो पनि गन नदिएर उल्टै राती फोन गरेर एक महिलामाथि दुव्र्यवहारसमेत गरियो ।’
दुव्र्यवहार गर्नेविरुद्ध जाहेरी
सुशीलाले अन्तमा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नरबहादुर थापालाई भेटेर आफ्नो पीडा पोखिन् । प्रमुख थापाले त्यस्तो दुव्र्यवहार गर्नेविरुद्ध जाहेरी दिन सुझाव दिँदै त्यसरी फोन गरेर दुव्र्यवहार गर्न खोज्ने व्यक्तिलाई पत्ता लगाएर कारबाहीका लागि पहल गर्ने बताए ।
त्यसपछि सुशीलाले भन्सार कार्यालय प्रमुखलाई आफूमाथि भएको दुव्र्यवहारबारे जाहेरी दिएकी छन् । उनले जाहेरीमा भनेकी छन्, ‘हामीलाई राति फोन गरेर बोलाउने, जालमा पार्ने सञ्जीव नाम भएको मान्छेलाई छोपेर कानुनी हिसाबले कारबाही गर्न पाउनुपर्छ ।’
उनले फोन गरेर आफूलाई दुव्र्यवहार गर्न खोजेको भनेर उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्न खोज्दा फोन स्वीच अफ भइसकेको थियो । भन्सार प्रमुख थापाले सञ्जीव नाम गरेका कोही कर्मचारी कार्यालयमा नरहेको बताए । सुशीला भने ती व्यक्तिले आफूलाई छद्म नाम दिएको र अरु महिलालाई पनि यसैगरी फसाउने गरेको हुनसक्ने आशंका व्यक्त गर्छिन् । भन्सार प्रमुख विष्टले दुव्र्यवहार गर्नेविरुद्ध जाहेरी परेको र उक्त जाहेरीमाथि अनुसन्धान गर्न प्रशासन शाखालाई निर्देशन दिएको बताए ।
यात्रु शाखा नाम मात्रको
नेपालगन्ज भन्सारका अनेक किस्सा छन् । करोडौंको अफिम बियाँसहितको ट्रक बरामद हुँदा प्रहरीले ट्रकका ड्राइभर समात्न सक्दैन । कहिले लाखौँको सामान बजारकै एक गोदाममा जम्मा गरेको अवस्थामा फेला पर्छ । त्योभन्दा पनि एकाबिहानै तस्करी गरेका सामान बोकेका साइकलहरुको लाइन मुख्य सडकमै खुलमखुल्ला भेटिन्छ । तर, अपराधीजस्तो व्यवहार भोग्छन् सर्वसाधारण । एक सय रूपैयाँ मूल्यभन्दा बढी समानको भन्सार शुल्क लाग्ने भए पनि यात्रु शाखामा कर्मचारीहरु नै भन्सार शुल्क तिर्नुपर्दैन भन्दै पठाइदिन्छन् । बाटोमा तीन÷चार ठाउँमा चेकिङ गर्ने नाममा सुरक्षाकर्मीहरुले पैसा असुल्छन् । त्यसबाट पनि छुटकारा पाएर छड्केमा परियो भने अपराधीजस्तो व्यवहार गरिन्छ ।
भन्सार प्रमुख नरबहादुर थापाको टेबलनजिकै रहेको सिसिटिभी स्क्रीनमा यात्रु शाखाबाट सामानहरु निर्वाध आउन दिइरहेको देखिन्छ । यात्रु शाखालाई व्यवस्थित गरेर सबैलाई एउटै नियमको पालना किन नगराइएको भन्ने प्रश्नको जवाफमा नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापाले भने, ‘टाइट गरियो भने त नेपालगन्ज पूरै उल्टेर आइहाल्छ नि ।’ भन्सार प्रशासनको यस्तै गैरजिम्मेवारपूर्ण मानसिकता, आफैँ नियम पालना नगर्ने र सर्वसाधारणले पालना गरेनन् भनेर अपराधीजस्तो व्यवहार गर्ने प्रवृत्तिको चेपुवमा अन्ततः सोझासाझा नागरिकहरु परिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्