वीरेन्द्र जैसी । नेपालगन्ज ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो ।
खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरकफरक हुने गरी निर्णय गरेको छ ।
खर्चको हद निर्धारण गर्दा २०७९ भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ ।
बाँकेका उम्मेदवारहरुले अधिकतम ३१ लाख रूपैयाँ मात्रै खर्च गर्ने पाउने छन् । निर्वाचन आयोगले तोकेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा)का आधारमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवारले अधिकतम ३१ लाख रूपैयाँ खर्च गर्न पाउने छन् । जसअनुसार प्रतिनिधिसभातर्फ बाँके क्षेत्र नम्बर १ का उम्मेदवारहरुले अधिकतम ३१ लाख, क्षेत्र नम्बर २ र ३ उम्मेदवारले अधिकतम २९ लाख रूपैयाँ खर्च गर्न पाउने छन् ।
बाँके क्षेत्र नम्बर १ को क्षेत्रफल एक हजार तीन सय ९८ वर्ग किलोमिटर छ भने एक लाख २१ हजार एक सय मतदाता र एक सय ३७ मतदान केन्द्र छन् । यसैगरी क्षेत्र नम्बर २ मा एक सय ६७ दशमलव ६८ वर्ग किलोमटर क्षेत्र रहेकोमा ९७ हजार आठ सय नौ मतदाता तथा एक सय १३ मतदान केन्द्र छन् । क्षेत्र नम्बर ३ मा तीन सय १६ वर्ग किलोमिटर क्षेत्रफल, एक लाख १३ हजार तीन सय २२ मतदाता र एक सय ३० मतदान केन्द्र छन् ।
प्रदेशसभातर्फ सबैैभन्दा बढी बाँके क्षेत्र नम्बर १ (क) का उम्मेदवारहरुले २३ लाख रूपैयाँ खर्च गर्न पाउने भएका छन् । बाँके क्षेत्र नम्बर १ (ख) का उम्मेदवारहरुले १९ लाख, क्षेत्र नम्बर २ (क), क्षेत्र नम्बर ३ (क) एवम् क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवारहरुले १७ लाख तथा क्षेत्र नम्बर २ (ख) का उम्मेदवारहरुले १५ लाख रूपैयाँ अधिकतम खर्च गर्न पाउने छन् ।
निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा मात्रै खर्च गर्न पाउने छन् । मतदातालाई प्रलोभनमा पार्ने, भोजभतेर गर्ने, आर्थिक सहयोग गर्नेलगायतका काममा भने रकम खर्च गर्न पाइँदैन ।
प्रतिक्रिया दिनुहोस्