कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ४ ले वडामा रहेका गरिब घरधुरीको तथ्यांक सार्वजनिक गरेको छ । वडा नम्बर ४ मा स्थायीरुपमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका (सामान्य, मध्यम र अति गरिब) सूचांकमा रहेका घरधुरीको तथ्यांक सार्वजनिक गरिएको हो ।
वडा नम्बर ४ को कार्यालयद्वारा जारी सूचनामा उक्त वडामा एक सय ८० जना घरधुरी गरिबीको रेखामुनि रहेको जनाइएको छ । वडाध्यक्ष मुबारक अलि गुजरका अनुसार वडामा तीन प्रकारका गरिब घरधुरीको संख्या एकिन गरिएको छ । तीमध्ये सबैभन्दा धेरै अति गरिब घरधुरीको संख्या ८८ जना रहेको उनले बताए । ४४ जना गोहवागाउँ, ३७ जना बेलनपुर र सातजना किरणनालाका छन् ।
यस्तै वडा नम्बर ४ मा मध्यम गरिब घरधुरीको संख्या ५५ जना रहेका छन् । तीमध्ये ३९ जना गोहवागाउँ, १४ जना बेलनपुर र दुईजना किरणनालाका छन् । सामान्य गरिब घरधुरीको संख्या ३६ जना रहेको वडाध्यक्ष गुजरको भनाइ छ । सामान्य गरिबमध्ये २२ जना गोहवागाउँ, ६ जना बेलनपुर र आठजना किरणनालाका हुन् । ‘गरिबीको रेखामुनि रहेको घरधुरीको संख्या सार्वजनिक गरिएको छ । उनीहरुको परिचय नम्बरसहित नामावली सार्वजनिक गरिएको हो । वडामा सम्पर्कमा आउन भनेका छौँ,’ उनले भने ।
वडा कार्यालयद्वारा जारी गरिएको सूचनामा गरिबीको रेखामुनि रहेको तथ्यांकमा समावेश भएकाहरुलाई सात दिनभित्र नागरिकताको फोटोकपीसहित दुईप्रति फोटो ल्याएर कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
कोहलपुर नगरपालिकाको वडा नम्बर ४ साविक रझेना गाउँ विकास समितिका वडा नम्बर ३ र ९ मिलेर बनेको हो । ४.५९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको वडा नम्बर ४ को कूल जनसंख्या तीन हजार एक सय ६० छ । एउटै वडामा यति धेरै गरिबी भेटिएपछि वडा र स्थानीय सरकारले रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने यहाँका नागरिकको भनाइ छ ।
‘वडालाई शून्य गरिबी त बनाउन कठिन होला,’ लोहारी थारुले भनिन्, ‘तर यसलाई घटाउन भने सकिन्छ ।’ रोजगारी नहुँदा आफू गरिबीबाट मुक्त हुन नसकेको भन्दै उनले भनिन्, ‘सरकारले कुनै आयआर्जनमा सहयोग गरे खुसी हुने थिएँ ।’ परिवार पाल्न उनलाई अहिले कठिन भएको छ । परिवार पाल्नकै लागि दैनिक ज्यालादारी गर्नुपर्ने बाध्यता छ ।
तर, साँझबिहानको छाक टार्नबाहेक अरु उपलब्धि हुन नसकेको उनी बताउँछन् । गरिबीबाट मुक्त हुन दैनिक पसिना बनाउँदा पनि नसकिएको रेशमी गुजरले बताइन् । ‘गरिबी हुनु मेरो दोष होइन । मैले त परिश्रम गरेकै छुँ,’ उनले भनिन्, ‘यति मेहनत गर्दा पनि मेरो गरिबी हट्न सकेन ।’ दैनिक ज्यालादारी काम गर्ने उनी भन्छिन्, ‘महिनाको तिसै दिन काम पाइँदैन । महिनामा १२/१४ दिन जति काम पाइन्छ । त्यसले छाक टार्न मात्र सकिन्छ । जम्मा गर्न सकिँदैन ।’ ठूलो रोगले सताएमा उपचार गर्न मुस्किल हुने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्